Tuesday, December 8, 2015

जारी बीमालेखमध्ये ७८ प्रतिशत म्यादी बीमा

म्यादी बीमा योजनाको अंश बढ्दो

मुना कुँवर

मङ्सिर २२, काठमाडौं । जीवन बीमा कम्पनीहरूले जारी गर्दै आएका विभिन्न बीमा योजनामध्ये म्यादी बीमा योजना जारी हुने क्रम ह्वातै बढेको छ । बीमा समितिको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७०/७१ सम्ममा ९ लाख ६३ हजार १ सय ५७ म्यादी बीमा योजना जारी भइसकेका छन् । यो सङ्ख्या कुल जारी योजनाको ७८ प्रतिशत हो । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई अनिवार्य रूपमा बीमा गर्नुपर्ने प्रावधान राखेपछि म्यादी जीवन बीमालेख जारी हुने क्रम बढेकोे बीमा समितिले बताएको छ ।

समितिको तथ्याङ्कअनुसार आव २०६४/६५ मा जारी भएका कुल बीमा योजनामा म्यादी जीवन बीमा योजनाको अंश ५ प्रतिशत मात्रै थियो । आव २०६८/६९ सम्ममा आइपुग्दा यसको अंश बढेर ४४ प्रतिशत पुगेको थियो । त्यस्तै, आव २०७१/७२ मा आइपुग्दा यसको अंश ७८ प्रतिशत पुगेको छ । दिन प्रतिदिन वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएकाले यसको सङ्ख्यामा वृद्धि भएको नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले स्वीकारे ।
बीमितको लागि तुलनात्मक रूपमा म्यादी जीवन बीमाभन्दा सावधिक जीवन बीमा लाभदायी हुन्छ । म्यादी जीवन बीमा योजनाले बीमितको मृत्यु भएको अवस्थामा मात्रै जोखीम वहन गर्छ । सावधिक जीवन बीमा योजनाले भने बीमित जीवित भएको अवस्था र मृत्युपछिको अवस्थामा समेत जोखीम बेहोर्छ । यद्यपि जीवन बीमा कम्पनीहरूले सावधिकभन्दा पनि म्यादी जीवन बीमा अधिक जारी गरेको तथ्याङ्कले देखाएको छ । यसले वास्तविक रूपमा जीवन बीमा व्यवसायको वृद्धि नभएको स्पष्ट हुने बीमाविज्ञ रवीन्द्र घिमिरेले बताए । उनका अनुसार ‘सरकारले अनिवार्य गरेकै कारण म्यादी योजनाको विक्री बढेको हो, यदि कम्पनी आपैmले नै व्यवसाय वृद्धि गरेको भए सावधिक योजनाको माग पनि बढ्ने थियो ।’ सरकारी नीतिले कम्पनीहरूलाई फाइदा भएको उनले बताए । उनका अनुसार केही गरी वैदेशिक रोजगारीमा जाने क्रम बन्द भयो भने जीवन बीमा कम्पनीहरूको व्यवसायमा अङ्कुश लाग्नेछ ।
आव २०७०/७१ मा कुल १२ लाख २९ हजार बीमालेख जारी भएको बीमा समितिको तथ्याङ्क छ । त्यसमध्ये सावधिक जीवन बीमाको सङ्ख्या २ लाख ६६ हजार रहेको छ भने म्यादी जीवन बीमाको सङ्ख्या ९ लाख ६३ हजार रहेको देखिएको छ । अर्थात् सावधिक जीवन बीमा योजनाको तुलनामा म्यादी जीवन बीमा योजना जारी हुने क्रम दोब्बर पुगेको छ ।
सतही रूपमा सरकारी निर्णयले नै जीवन बीमा कम्पनीको व्यवसाय वृद्धि भएको देखिए तापनि कम्पनीहरूले आन्तरिक रूपमा धेरै मेहनत गरेको नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत झाले बताए । उनले भने, ‘सरकारले त अनिवार्य मात्रै गरिदिएको हो, बाँकी सेवा उपलब्ध गराउने काम भने कम्पनीहरूले नै गरिरहेका छन् ।’ त्यस्तै, अझै पनि मानिसहरूमा जोखीम हस्तान्तरण गर्नुपर्छ भन्ने मानसिकता विकास नभएकाले अन्य बीमालेख जारी हुने क्रम बढ्न नसकेको उनले बताए । कम्पनीहरूले आफ्नो ठाउँबाट सक्ने जति प्रयास गरेका छन् । तर, आर्थिक अभाव, हेलचक्र्याइँजस्ता कारणले मानिसहरू बीमाको दायरामा आउन नसकेको बीमा समितिका निर्देशक श्रीमान् कार्कीले बताए ।

 

 

No comments:

Post a Comment