Sunday, December 27, 2015

चाडपर्व लक्षित लाभांश घोषणा अर्थहीन

३ महीनासम्म लगानीकर्ताले पाएनन् प्रतिफल , समयावधिभित्र दर्तासमेत गराइएन, डिम्याट वा भौतिक प्रमाणपत्र भन्ने अन्योल

काठमाडौं । चाडपर्वअघि नै लाभांश घोषणा गरेका र यही अवधिमा साधारणसभा सकेका भए पनि अधिकांश कम्पनीले लाभांश वितरण भने गरेका छैनन् । लाभांश वितरणमा भएको यो ढिलाइले चाडपर्व लक्षित यस्ता योजना निरर्थक देखिएका छन् । ‘हामीले नै यस्तो चलन चलाएका थियौं, यसको उद्देश्य दशैंअघि नै साधारणसभा सक्ने र लगानीकर्तालाई चाडपर्व खर्च जोहो गरिदिने थियो,’ एक पुराना शेयर लगानीकर्ताले भने । चाडपर्वका लागि लगानीकर्ताले लाभांश नै नपाई शेयर बेच्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले नै दशैंतिहारअघि साधारणसभा सक्ने चलन रहको उनले जानकारी दिए ।

तर, पछिल्लो समय कम्पनीहरूको साधारणसभाको समयमात्र पर सरेको छैन, कतिपयले चाडपर्वमै लाभांश दिएको भन्ने देखाउन मात्र यस्तो रणनीति अपनाएको पाइन्छ । यही कारण दशैंतिहारजस्ता चार्डपर्वमै साधारणसभा गर्ने तर लाभांश वितरणमा भने महीनौं लगाउने कम्पनी धेरै छन् । असोज र कात्तिकमा साधारणसभा सकेर पनि ९ कम्पनीले अहिलेसम्म लाभांश वितरण गरेका छैनन् । नेको इन्स्योरेन्स, सनराइज बैङ्क, सानिमा बैङ्क, ग्लोबल आईएमई बैङक, नेपाल इन्भेष्टमेण्ट बैङ्क, तिनाउ डेभलपमेण्ट बैङ्क, नेपाल कम्युनिटी डेभलपमेण्ट बैङ्क र जानकी फाइनान्सले पारित बोनस शेयरसमेत वितरण नगरेका हुन् । त्यस्तै, ज्योति विकास बैङ्क, एभरेष्ट फाइनान्स र युनिलिभर नेपालले पनि लाभांश वितरण नगरेको बुझिएको छ ।
अहिले लाभांश वितरणमा ढिलाइ हुनुमा धेरैले डिम्याट (अभौतिक) वा भौतिक रूपमा शेयर दिने भन्ने समस्या देखाएका छन् । पहिले बोनस शेयर दिँदा भौतिक प्रकृति (कागजी रूपका प्रमाणपत्र)मा मात्र दिए हुनेमा अहिले डिम्याट एकाउण्ट (हितग्राही खाता) खोलेकाहरूलाई डिम्याट रूपमा खातामा शेयर पठाउनुपर्ने भएकाले पनि यस्तो समस्या देखिएको बताइएको छ । ‘कति लगानीकर्ताले डिम्याट एकाउण्ट खोलेका छन् भन्ने जानकारी आइनसकेकाले कतिका लागि प्रमाणपत्र छाप्ने र कतिका लागि डिम्याट एकाउण्टमा पठाउने टुङ्गो नलाएकोले ढिलाइ भएको हो,’ सनराइज बैङ्कका कम्पनी सचिव ईश्वरकुमार पाठकले भने । धेरैले यही समस्या कारण ढिला भएको बताए पनि कतिपयले यसको तयारी लगभग अन्तिम चरणमा पुगेकाले केही साताभित्रै शेयर वितरण शुरू हुने बताएका छन् ।
सनराइज बैङ्क र जानकी फाइनान्सले अबको केही दिनमै बोनस शेयर वितरण शुरू हुने बताएका छन् । डिम्याट खातामा शेयर हाल्नुपर्ने थप कामले यो प्रक्रिया केही लम्बिएको कम्पनीहरूले बताए पनि लाभांश वितरणमा यी कम्पनी गम्भीर नरहेको देखिन्छ । बोनस शेयर निष्कासन निर्देशिका २०६७ को परिच्छेद ४ मा साधारणसभाले बोनस शेयर दिने निर्णय गरेको ३० दिनभित्र धितोपत्र बोर्डमा दर्ता गराउनुपर्ने व्यवस्था छ । यो व्यवस्थाअन्तर्गत ३० दिनभित्र बोर्डमा दर्ता भइसक्नुपर्ने र त्यसको केही दिनमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)मा कम्पनीहरूले बोनस शेयर सूचीकरणका लागि आवेदन दिइसक्नुपर्ने हुन्छ । तर, तिनाउ विकास बैङ्कबाहेक लाभांश दिन बाँकी उल्लिखित अन्य कुनै पनि संस्था बोर्डमा दर्ता हुनसमेत गएका छैनन् । यी सबै संस्थाको साधारणसभा सकिएको १ महीनाभन्दा बढी अवधि बितिसकेको छ ।  
बोनस शेयरको कागजी प्रमाणपत्र जारी गर्नुभन्दा सबै लगानीकर्तालाई डिम्याट खाता अनिवार्य गर्नुपर्ने बेला भइसके पनि कुनै पनि निकायबाट यस्तो निर्देशन नदिइएकाले कम्पनीहरूले दुवै प्रक्रिया सँगसँगै लगिरहेका छन् । यसले कम्पनीहरूको लागतमा मात्र वृद्धि भएको छैन, लगानीकर्ताले बोनस शेयर पाउने अवधि पनि लम्बिएको छ । त्यस्तै, अहिले बोनस शेयरको कागजी प्रमाणपत्र पाउने लगानीकर्ताले डिम्याट गराउन थप समय खर्चिनुपर्ने हुन्छ । अहिले भौतिक रूपमा रहेको शेयर डिम्याट गराउन १५ दिन लाग्ने बताइँदै आए भए पनि २/३ महीनासम्म लाग्ने गरेको छ । त्यसैले, यस्तो समय घटाउन पनि बोनस शेयर प्राप्तिका लागि अनिवार्य डिम्याट खाता गर्नुपर्ने देखिएको छ ।

No comments:

Post a Comment