Sunday, December 13, 2015

सामुद्रिक बीमादर निर्देशिका संशोधनले व्यवसायीलाई राहत

मुना कुँवर

मङ्सिर २७, काठमाडौं । नाकाबन्दीका कारण सामान आयात गर्न नपाएका व्यवसायीलाई बीमा समितिले राहत प्रदान गरेको छ । समितिले सामुद्रिक बीमादर निर्देशिका २०६५ संशोधन गरी व्यवसायीको समस्यालाई केही हदसम्म सम्बोधन गर्ने प्रयास गरेको छ । मुलुकको वर्तमान कठिन परिस्थितिलाई दृष्टिगत गरी निर्देशिका संशोधन गरिएको समितिका निर्देशक श्रीमान् कार्कीले बताए । ‘नाकाबन्दीले ठूलो नोक्सानी बेहोर्दै आएका व्यवसायीलाई निर्देशिका संशोधनले बीमा अवधि लम्ब्याउन बाटो खुल्नेछ,’ उनले भने ।  

गत साता बीमा समितिले सामुद्रिक बीमादर निर्देशिका २०६५ संशोधन गरी सोहीअनुरूप कार्यान्वयन गर्न निर्जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । संशोधनपछि ६० दिनका लागि सामुद्रिक बीमा गर्दै आएका व्यापारीले १० प्रतिशत बीमाशुल्क थप गरी आवश्यकताअनुसार बीमा अवधि ३० दिनसम्म लम्ब्याउन सक्नेछन् । व्यापारीले आयात गरेका सामान विभिन्न स्थानमा रोकिएपछि सृजना भएको समस्या समाधान गर्न बीमकहरूले नै समितिलाई यस्तो सुझाव दिएको बीमक सङ्घका अध्यक्ष विजयबहादुर शाहले बताए ।
सामान्यतया सामुद्रिक बीमाअन्तर्गत तेस्रो मुलुकबाट आयात गरिएको सामान बन्दरगाहमा अनलोड गरेको ६० दिनभित्र नेपालको गन्तव्य स्थानमा पुग्नुपर्ने प्रावधान छ । ६० दिनपछि बीमालेख स्वतः समाप्त हुन्छ । तर, ६० दिनसम्म पनि नाका नखुलेपछि व्यवसायीलाई समस्या परेको हो । एकातिर बीमा अवधि समाप्त भएको छ भने अर्कोतर्फ सामान गन्तव्यमा पुगिसकेको छैन । तसर्थ बीमा अवधि लम्ब्याउन निर्देशिका संशोधन गरिएको हो । अब भने बीमितहरूले आफ्नो आवश्यकताअनुसार बीमा अवधि लम्ब्याउन सक्नेछन् । ३० दिनसम्मको बीमा अवधि थप गर्दा १० प्रतिशत मात्रै बीमाशुल्क बुझाउनुपर्ने व्यवस्था गरेपछि बीमितहरूको आर्थिक भार कम हुने समितिले बताएको छ ।
गत आर्थिक वर्ष २०७१/७२ मा जारी भएको कुल बीमा लेखमध्ये सामुद्रिक बीमा लेखको हिस्सा करीब ५ प्रतिशत रहेको समितिले जानकारी दिएको छ ।

 

No comments:

Post a Comment