मुना कुँवर
मङ्सिर २८, काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरूले गर्न पाउने
व्यवस्थापन खर्च घटाउन निर्देशन दिएको छ । समितिले चालू आर्थिक वर्ष
२०७२/७३ देखि नै लागू हुने गरी व्यवस्थापन खर्च घटाउन कम्पनीहरूलाई
निर्देशन दिएको हो । समितिले कम्पनीको जीवनकोषअनुसार कम्तीमा ७ प्रतिशतदेखि
बढीमा १६ प्रतिशतसम्म व्यवस्थापन खर्चमा कटौती गरेको समितिका वित्तीय
विश्लेषण विभागका उपनिर्देशक दिनेशलालकुमार कर्णले बताए । यसअघि
कम्पनीहरूले व्यवस्थापन खर्च २८ प्रतिशतसम्म गर्न पाउने व्यवस्था थियो ।
बीमा समितिको निर्देशनअनुसार सूर्या लाइफ र गुराँस लाइफ इन्स्योरेन्स
कम्पनीले सबैभन्दा धेरै खर्च गर्न पाउने भएका छन् । तर, नेपाल लाइफ
इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन, राष्ट्रिय बीमा संस्थानले भने
व्यवस्थापनका लागि थोरै रकम खर्च गर्नुपर्नेछ । कम्पनीको ट्र्याक रेकर्ड,
स्थापना अवधि, जीवनकोष, कारोबार, वित्तीय अवस्थालगायत आधारमा व्यवस्थापन
खर्चको सीमा तोकिएको उपनिर्देशक कर्णले बताए ।
समितिले कम्पनीहरूलाई विज्ञापन, प्रचार प्रसार, व्यापार प्रवर्द्धन तथा
अभिकर्तालाई दिइने प्रोत्साहनलगायत शीर्षकमा सीमित रकम मात्रै खर्च गर्न
निर्देशन दिएको छ । कम्पनीहरूले खर्च घटाउँदा बचत बढ्न गई बीमितहरूले
अधिकतम लाभ उठाउन सक्छन् भन्ने उद्देश्यले यस्तो नीति अवलम्बन गरेको
समितिले बताएको छ । यस्तो प्रावधानले कम्पनीहरूको व्यवसाय वृद्धिमा खासै
प्रभाव नपर्ने भए पनि बीमित र बीमक दुवैका लागि हितकर भने हुने भएकाले
यस्तो निर्णय लिएको समितिको दाबी छ । समितिको यो निर्णयले कुनै कम्पनीलाई
मर्का पर्न गएमा अध्ययन गरी परिमार्जनसमेत गर्न सकिने समितिको भनाइ छ ।
समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन र
राष्ट्रिय बीमा संस्थानको व्यवस्थापन खर्च ७ प्रतिशतमा सीमित राख्न
निर्देशन दिएको छ । यसअघि ती कम्पनीहरूको व्यवस्थापन खर्च ८ प्रतिशतसम्म
रहेको थियो । त्यस्तै यसअघि व्यवस्थापन खर्चका लागि ८ प्रतिशतसम्मको छूट
पाएको नेशनल लाइफ इन्स्योरेन्स र अमेरिकन लाइफ इन्स्योरेन्सलाई समितिले
व्यवस्थापन खर्च ७ दशमलव ५ प्रतिशतमा सीमित राख्न निर्देशन दिएको छ । एशियन
लाइफ इन्स्योरेन्स कम्पनीको व्यवस्थापन खर्च भने ४ प्रतिशतले घटेको छ ।
यसअघि १६ प्रतिशतसम्म खर्च गर्ने सुविधा पाएको उक्त कम्पनीलाई समितिले १२
प्रतिशतमा व्यवस्थापन खर्च सीमित गर्न निर्देशन दिएको छ । त्यस्तै, प्राइम
लाइफ इन्स्योरेन्स १४, सूर्या र गुराँस इन्स्योरेन्सले १६/१६ प्रतिशतसम्म
खर्च गर्न पाउने भएका छन् ।
यसअघि पनि समितिले व्यवस्थापन खर्च कटौती गर्दा रुष्ट भएका कम्पनीहरू
यसपटक पनि सन्तुष्ट भने छैनन् । यद्यपि समितिले दूरदृष्टि अपनाएर नै निर्णय
लिएको हुनसक्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत
विवेक झाले बताए । उनले भने, ‘समितिले गरेको निर्णय हामीले मान्नैपर्छ ।
हेरौं, समितिको यस्तो निर्णयले भोलिको दिनमा कस्तो परिणाम आउँछ ।’ त्यसैले
यस विषयमा बहस गर्नुभन्दा परिणामलाई पर्खनु उचित हुने उनले बताए ।
No comments:
Post a Comment