Friday, December 25, 2015

केही महीनामै स्वास्थ्य बीमा शुरू

पहिलो चरणमा इलाम, कैलाली र बागलुङमा

मुना कुँवर

पुस ९, काठमाडौं । स्वास्थ्य मन्त्रालयले केही महीनाभित्रै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । पहिलो चरणमा कार्यक्रम सञ्चालनका लागि इलाम, कैलाली र बागलुङ जिल्लालाई नमूनाका लागि छनोट गर्न मन्त्रालयले आवश्यक अनुसन्धानको कार्यसमेत पूरा गरिसकेको बताइएको छ । कार्यक्रमको साझेदारका रूपमा रहेका स्थानीय सेवाप्रदायक संस्थाले आवश्यक भौतिक संरचना निर्माणको कार्य सम्पन्न गर्नेबित्तिकै कार्यक्रम सञ्चालन गरिने मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बताए ।

सबै नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले सरकारले चालू आर्थिक वर्ष २०७२/७३ को बजेटमार्फत स्वास्थ्य बीमा कार्यक्रम सार्वजनिक गरेको हो । सरकारले २०७१ सालमा अवलम्बन गरेको स्वास्थ्य बीमा नीतिअन्तर्गत सामाजिक सुरक्षाका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई अघि बढाइएको हो । कुनै पनि नागरिक स्वास्थ्योपचार सेवाबाट वञ्चित नहोऊन् भनेर कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले बताएको छ । सरकारले बजेटमार्फत नै परीक्षणका लागि ती तीन जिल्ला छनोट गरेको थियो । ती जिल्लामा चालू आवको कात्तिकदेखि घरदैलो कार्यक्रममार्फत नाम दर्ता शुरू गरिनेसमेत बताएको थियो । तर, नाकाबन्दीलगायत समस्याले समयमा नै कार्यक्रम सञ्चालन गर्न नसकिएको सहसचिव नेपालले बताए ।
बीमा कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले ती तीन जिल्लामा कार्यालय व्यवस्थापनको कार्य गर्नुका अतिरिक्त दर्ता सहयोगीको छनोट गरी तालीमसमेत प्रदान गरिसकेको छ । तर, स्वास्थ्योपचारका लागि स्थानीय स्वास्थ्य सेवा केन्द्रको भौतिक संरचना, प्राविधिक पूर्वाधार तथा चिकित्सकहरूको अभाव देखिएकाले मन्त्रालयले तत्कालै कार्यक्रम सञ्चालन गर्न नसकेको हो । त्यसैले कार्यक्रम सञ्चालन गर्नु पूर्व उक्त अभावलाई परिपूर्ति गर्न मन्त्रालय अग्रसर रहेको बताइएको छ ।
मन्त्रालयको अनुसन्धानले तुलनात्मक रूपमा तीन जिल्लामध्ये बागलुङ जिल्लामा स्वास्थ्योपचारका लागि आवश्यक पूर्वाधारको उपलब्धता बढी देखिएको छ । त्यसैले सोही जिल्लाबाट नै कार्यक्रमको शुरुआत गर्ने तयारी भइरहेको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार बागलुङ जिल्लाको अञ्चल अस्पतालमा उपचारका लागि आवश्यक मेशिनरी सामग्रीको अभाव देखिएकाले त्यसको व्यवस्थापन भइरहेको छ । व्यवस्थापनको कार्य पूरा हुनासाथ सो जिल्लाबाट कार्यक्रम थालिनेसमेत मन्त्रालयले बताएको छ ।
सरकारले अघि सारेको स्वास्थ्य बीमा कार्यक्रम गरीब जनताका लागि लाभदायी हुने देखिए पनि नेपालका लागि नयाँ अवधारणा भएकाले विभिन्न समस्या देखिएका छन् । त्यसैले मन्त्रालयले नमूना जिल्लाहरूबाट आएको परिणामलाई हेरी आवश्यक थप परिमार्जन गर्दै लैजाने स्पष्ट पारेको छ । त्यस्तै, नमूना जिल्लाहरूमा कार्यक्रम सफल भएपछि अन्य जिल्लामा समेत स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने मन्त्रालयको योजना छ । नमूना जिल्लाबाहेक झापा, रौतहट, चितवन, भक्तपुर, म्याग्दी, कास्की, पाल्पा, जाजरकोट, जुम्ला र बैतडी गरी थप १० मा समेत स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ ।

 

 

No comments:

Post a Comment