२०७२-०६-२७ मा प्रकाशित ८४ पटक पढिएको ० बिचार / प्रतिक्रिया
मुना कुँवर
असोज २६, काठमाडौं । विदेशी पुनर्बीमा कम्पनीहरूले बीमा दाबी रकमको
करीब १८ प्रतिशत भुक्तानी गरेका छन् । भूकम्पपछि भएको क्षतिबापत निर्जीवन
बीमा कम्पनीहरूले पुनर्बीमा कम्पनीहरूमा रू. १५ अर्बबराबरको दाबी गरेकोमा
हालसम्म रू. २ अर्ब ७७ करोड भुक्तानी गरेको बीमा समितिको तथ्याङ्कमा उल्लेख
छ । बीमकहरूले क्षतिको पूर्ण विवरण पठाएपछि मात्रै पुनर्बीमा कम्पनीले
बाँकी रकम भुक्तानी गर्ने बीमा समितिका निर्देशक राजुरमण पौडेलले बताए ।
उनले भने, ‘ठूला दाबीका लागि पुनर्बीमा कम्पनीहरूले नै सर्वेयर पठाएका छन्
।’ बीमकले खटाएका नेपाली सर्भेयर र पुनर्बीमा कम्पनीबाट आएका सर्वेयरको
सहकार्यमा क्षतिको सर्वे भइरहेको उनले बताए ।
गत वैशाखमा गएको भूकम्पपछि विगत ६ महीनाको अवधिमा बीमा कम्पनीहरूमा करीब
रू. १८ अर्बबराबरको बीमा दाबी परेको थियो । त्यसमध्ये कम्पनीहरूले हालसम्म
रू. ५ अर्ब २ करोड बीमा दाबी रकम भुक्तानी गरिसकेका छन् । पुनर्बीमा
कम्पनीहरूले अहिलेसम्म पेश्कीस्वरूप मात्रै रकम पठाएका छन् । बाँकी रकम भने
आउन बाँकी रहेको बीमा समितिले बताएको छ ।
विशेष गरी कम्पनीहरूमा परेका दुर्गम क्षेत्र तथा जलविद्युत्जस्ता
परियोजनाहरूको सर्वे अझै सर्वे हुन सकेको छैन । तसर्थ पुनर्बीमा कम्पनीबाट
आउनुपर्ने रकम पनि आउन नसकेको बीमकहरूले बताएका छन् । तर, पुनर्बीमा
कम्पनीले भने राहतका लागि पेश्कीस्वरूप रकमहरू पठाउने कम्पनीहरूले बताए ।
त्यस्तै, बीमकहरूले पुनर्बीमा कम्पनीमा गरेको दाबी रकम विभिन्न तरिकाबाट
राफसाफ गर्दै आएको बीमा समितिका निर्देशक पौडेलले बताए । उनले भने, ‘सबै
भुक्तानी नगदबाट नै हुन्छ भन्ने छैन, कम्पनीहरूले आन्तरिक वित्तीय
लेनदेनबाट पनि राफसाफ गर्ने गरेका छन् ।’
पुनर्बीमा कम्पनीहरूले अग्नि बीमाबापत भने रू. १ अर्ब ९७ करोड भुक्तानी
गरेका छन् । भूकम्पपछि कम्पनीमा १४ हजार ६ सय ६३ ओटा दाबी बराबर अनुमानित
रू. १० अर्ब ९८ लाख रकमको दाबी परेको थियो । दाबी परेको बीमा सङ्ख्यामध्ये
बीमा कम्पनीहरूले ६ हजार २ सय ८३ ओटा दाबी बराबर रू. २ अर्ब ६६ लाख अन्तिम
दाबी भुक्तानी गरिसकेका छन् । त्यस्तै, पेश्कीस्वरूप परेका २ सय ६३ ओटा
बीमा सङ्ख्याबराबर रू. १ अर्ब १० करोड भुक्तानी गरेका छन् ।
विविध बीमाका लागि पुनर्बीमा कम्पनीले भने रू. ७९ करोड ७३ लाख भुक्तानी
गरेका छन् । बीमा कम्पनीहरूमा विविध बीमाअन्तर्गत १ हजार ३ सय ८६ ओटा दाबी
बराबर रू. ३ अर्ब ५३ करोड रकम दाबी परेको थियो । सो रकमध्ये कम्पनीहरूले ९
सय ८६ ओटाबापत रू. ३० करोड १७ लाख अन्तिम भुक्तानी गरेका छन् । त्यस्तै,
पेश्कीस्वरूप परेका १७ ओटा दाबीको रू. ८२ करोड ५४ लाख भुक्तानी गरेका छन् ।
No comments:
Post a Comment