नीतिगत रूपमा कठोर बन्दै बीमा ऐन
असोज २५, काठमाडौं । बीमा कसुरसम्बन्धी स्पष्ट नीति नभएकै कारण
हालसम्म खुकुलो नियममा रहेका बीमा कम्पनी, अभिकर्ता, सर्वेयर र बीमितले
आगामी दिनमा भने कठोर नीतिको सामना गर्नुपर्ने भएको छ । बीमा समितिले
प्रस्तावित बीमा ऐनमा बीमा कसुरसम्बन्धी स्पष्टरूपमा सजायको व्यवस्था
गरेकाले आगामी दिनमा समिति कडा रूपमा प्रस्तुत हुने देखिएको हो ।
प्रस्तावित ऐनमा गरिएको व्यवस्थाले बीमासम्बन्धी कसुर गर्नेहरूलाई
निरुत्साहित गर्ने वा दण्डित गर्ने कानूनी आधार प्राप्त भएको बीमाविज्ञ
रवीन्द्र घिमिरेले बताए ।
समितिले अर्थ मन्त्रालयमा पठाएको प्रस्तावित बीमा ऐनमा बीमासम्बन्धी
कसुर गर्नेलाई कम्तीमा रू. २ लाख र बढीमा रू. ५० लाखसम्म जरीवाना गर्नसक्ने
व्यवस्था गरेको छ । त्यस्तै, बिगो जफत गरी दुई गुणासम्म जरीवाना र २
वर्षसम्म कैद गर्नसक्ने प्रावधान पनि राखेको छ । तर, हालको बीमा ऐन २०४९ मा
भने बीमासम्बन्धी कसुर गर्नेलाई रू. ३ देखि १० हजारसम्म जरीवाना गर्नसक्ने
व्यवस्था मात्रै छ ।
हालको व्यवस्थाअनुसार बीमासम्बन्धी कसुर समितिले नै हेर्दै आएको छ ।
यस्ता खालका कसुर हेर्नका लागि समितिले दाबी समिति नै बनाएको थियो ।
बीमासम्बन्धी कसुर सबैभन्दा पहिला दाबी समितिमा पुग्थ्यो ।
त्यसपछि सञ्चालक समितिले उजुरीको फैसला गर्थ्यो । तर, विगत १ वर्षदेखि
भने समितिले खुला इजलाशको शुरूआत गरेको बीमा समितिका निर्देशक राजुरमण
पौडेलले बताए । इजलाशले गरेको फैसला चित्त नबुझे पुनरावेदन जान सकिने
व्यवस्था रहेको छ । हालको इजलाश नै बीमा न्यायाधिकरणमा रूपान्तरण गर्न
समितिले नयाँ ऐन प्रस्ताव गरेको छ । ऐनको दफा १ सय ६ मा न्यायाधिकरण गठन
गर्नुपर्ने व्यवस्था गरिएको छ । यसमा पुनरावेदन अदालतको न्यायाधीश हुन
योग्यता पुगेको वा भइरहेको वा भइसकेको व्यक्ति अध्यक्ष, कम्तीमा १५ वर्ष
कानून व्यवसाय गरेको वा नेपाल न्याय सेवाको कम्तीमा राजपत्राङ्कित प्रथम
श्रेणीको पदमा कम्तीमा ५ वर्ष काम गरेको व्यक्ति सदस्य हुने व्यवस्था गरेको
छ ।
जोखीमको भार कम गर्न बीमा मानिसका लागि जति उपयोगी छ, त्यति चुनौतीपूर्ण
पनि छ । यस व्यवसायमा बीमा दाबी गर्दा भूmटो विवरण पेश गर्ने, सर्वेयरले
क्षतिको मूल्याङ्कन बढाइचढाई गर्ने, काल्पनिक सम्पत्तिको बीमा गर्ने, दाबी
भुक्तानीमा बीमकले आलटाल गर्नेलगायत विभिन्न खालका ठगीका घटना हुने गरेका
छन् । यस विषयमा समितिले अहिलेसम्म खासै चासो नदेखाए पनि प्रस्तावित ऐनमा
भने निक्कै अग्रसरता देखाएको छ ।
विश्वमा सबैभन्दा बढीे स्वास्थ्य बीमामा ठगी हुने गरेको अध्ययनले
देखाएको छ । सन् २००३ मा अमेरिकामा ८० अर्ब डलरको बीमा जालसाजी भएकोमा ५४
अर्ब डलरको ठगी स्वास्थ्य बीमामा भएको थियो । सन् २००९ मा चीनको सरकारी
बीमा कम्पनीमा कार्यरत ३ सय ५२ कर्मचारीद्वारा ४५.५ करोड डलरको ठगीको घटना
सार्वजनिक भएको थियो । भारतमा वार्षिक १५ हजार करोडभन्दा बढीको ठगी तेस्रो
पक्ष बीमा र स्वास्थ्य बीमाक्षेत्रमा हुने गरेको छ ।
Nice blog and information
ReplyDelete