Tuesday, October 6, 2015

निर्जीवन बीमा दाबी भुक्तानी ४ गुणा वृद्धि

२०७२-०६-१९ मा प्रकाशित     ११४ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

मुना कुँवर

असोज १८, काठमाडौं । आर्थिक वर्ष २०७१/७२ मा निर्जीवन बीमा कम्पनीहरूको दाबी भुक्तानी करीब ४ गुणा बढेको छ । आव २०७०/७१ मा रू. १ अर्ब ३३ करोड बीमा दाबी भुक्तानी भएकोमा गत आव २०७१/७२ मा भने ३ दशमलव ८२ गुणाले बढेर रू. ५ अर्ब १० करोड भुक्तानी भएको छ । गत वैशाखको भूकम्पका कारण गत आवदेखि दाबी भुक्तानी उल्लेखनीय रूपमा बढेको नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । उनले भने, ‘चालू आवमा यस्तो भुक्तानी अझ बढ्नेछ ।’


वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनहरूले धेरै जनधनको क्षति भएको छ । यसको प्रत्यक्ष असर बीमाक्षेत्रमा समेत परेको छ । भूकम्पपछि निर्जीवन बीमा कम्पनीहरूमा कुल रू. १८ अर्बबराबरको बीमा दाबी परेको तथ्याङ्कले देखाएको छ । भूकम्पले भौतिक सम्पत्तिमध्ये भवनहरूमा बढी क्षति पुर्‍याएको छ ।
सोही कारण गत आवमा बीमा कम्पनीहरूले सबैभन्दा बढी अग्नि बीमाको दाबी भुक्तानी गरेका छन् । आव २०७१/७२ मा रू. १ अर्बबराबरको अग्नि बीमा दाबी भुक्तानी भएको छ । यो रकम कुल दाबी भुक्तानीको करीब २३ प्रतिशत हो भने आव २०७०/७१ को तुलनामा करीब ४ गुणा बढी हो ।
निर्जीवन बीमा व्यवसायमा ७० प्रतिशतभन्दा बढी अंश मोटर बीमाको छ । सरकारले तेस्रो पक्ष बीमालाई अनिवार्य गरेकै कारण मोटर बीमालेख सबैभन्दा बढी जारी हुने गरेको छ । वैशाखमा गएको भूकम्पले सवारीसाधनहरूलाई पनि क्षति पु¥याएको बीमकहरूले बताएका छन् । गत आवमा यस क्षेत्रको दाबी भुक्तानी भने साढे दुई गुणाले बढेर रू. २ अर्ब
७ करोड पुगेको छ ।
भूकम्पले हवाई क्षेत्रलाई खासै असर नगरे पनि गत आवमा अन्य क्षेत्रको तुलनामा हवाई बीमा दाबी भुक्तानी अधिक देखिएको छ । यस क्षेत्रमा आव २०७१/७२ मा रू. ६० करोडबराबर दाबी भुक्तानी भएको छ । अघिल्लो आवको तुलनामा यो रकम करीब २७ गुणा बढी हो । अघिल्ला आवमा परेको दाबी रकम गत आवमा मात्र भुक्तानी भएकाले पनि हवाई दाबी भुक्तानीमा वृद्धि भएको हुनसक्ने बीमा समितिले बताएको छ । अन्यथा भूकम्पले भने हवाई क्षेत्रमा खासै असर नपारेको समितिको दाबी छ ।
भूकम्पले गरेको क्षतिको पूर्ण विवरण भने अझै आउन सकेको छैन । त्यसैले कम्पनीहरूमा परेको ससाना दाबीको भुक्तानी भए पनि ठूला रकमको दाबी भुक्तानी भने हुन सकेको छैन । ठूला आयोजनाहरूको विवरण आउन समय लाग्ने भएकाले चालू आवमा दाबी भुक्तानी अझै बढ्ने बीमकहरूले बताएका छन् ।
निर्जीवन बीमा दाबी भुक्तानी ४ गुणा वृद्धि

No comments:

Post a Comment