Thursday, October 15, 2015

१ वर्षमा १ सय ६१ एटीएम थपिए

२०७१-०१-५ मा प्रकाशित     २२३ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

वैशाख ४, काठमाडौं । सरल र सहज वित्तीय पहुँचका लागि बैङ्क तथा वित्तीय संस्थाले ई–बैङ्किङ सेवामा थप जोड दिन थालेका छन् । गएको १ वर्षमा बैङ्क तथा वित्तीय संस्थाका १ सय ६१ ओटा एटीएम मेशिन थपिएका छन् । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार २०६९ फागुनसम्म १ हजार ४ सय ४ एटीएम मेशिन रहेकोमा २०७० माघमा १ हजार ५ सय ६५ पुगेका हुन् ।

प्रविधिको विकाससँगै सेवाग्राहीलाई छिटो सेवा प्रदान गर्न केन्द्रीय बैङ्कले ई–बैङ्किङ सेवाको अवधारणा ल्याएको हो । नेपाल राष्ट्र बैङ्कको ऐन, २०५८ को दफा ७९ का अनुसार केन्द्रीय बैङ्कको स्वीकृतिमा सञ्चालित बैङ्क तथा वित्तीय संस्थाले ई–बैङ्किङ सेवा सञ्चालनमा ल्याउन सक्ने व्यवस्था छ । केन्द्रीय बैङ्कले ई–बैङ्किङ सेवाभित्र शाखारहित बैङ्किङ, मोबाइल बैङ्किङ, इण्टरनेट बैङ्किङ र ई–कार्ड कारोबार सेवालाई पनि समावेश गरेको छ । ई–बैङ्किङको माध्यमबाट मानिसले कुनै पनि स्थानबाट बैङ्किङ कारोबार गर्न सक्ने भएकाले पनि यसको उपयोगिता बढ्दै गएको बैङ्कहरू बताउँछन् । उनीहरूका अनुसार यस्तो सेवाले मानिसको समय र इन्धन बचत गरेको छ ।

सञ्चालनमा रहेका वित्तीय संस्थाहरूमध्ये वाणिज्य बैङ्कहरूको सबैभन्दा बढी एटीएम मेशिन छन् । २०६९ फागुनसम्म १ हजार १ सय ७५ रहेको वाणिज्य बैङ्कहरूको एटीएम सङ्ख्या २०७० माघ महीनामा आइपुग्दा १ सय ४ ले बढेर १ हजार २ सय ७९ पुगेको तथ्याङ्कले देखाएको छ । त्यस्तै, १ वर्षको अवधिमा विकास बैङ्कहरूको एटीएम ९८ ओटा थपिएर २ सय ५० पुगेको छ । वित्त कम्पनीहरूको एटीएम सङ्ख्या भने सो अवधिमा ४१ ओटाले घटेर ३६ मा सीमित भएको छ । वित्त कम्पनीहरू विकास बैङ्कसँग मर्जर हुँदै गएपछि एटीएमको सङ्ख्या घटेको नेपाल वित्त कम्पनी सङ्घका अध्यक्ष राजेन्द्रमान्य शाक्यले बताए ।

नेपालमा सिङ्गापुर, भारत, चीनलगायत मुलुकबाट एटीएम मेशिनको आयात गरिन्छ । यसरी आयात हुने मेशिनहरू अधिकांश डायबोल्ड, एनसीआर, विनकर र भर्टेक्स ब्राण्डका हुने गरेकोे बैङ्क अफ काठमाण्डूका प्रमुख, कार्ड सेण्टर विक्रम श्रेष्ठले बताए । डायबोल्ड र एनसीआर अमेरिकी हुन् भने विनकर जर्मन र भर्टेक्स भारतीय ब्राण्ड हुन् । श्रेष्ठका अनुसार मेशिनको क्यास लोड गर्ने प्रक्रियाका आधारमा मूल्य निर्धारित हुन्छ । फ्रण्ट लोडर (मेशिनको अघिल्लो भागबाट क्यास लोड गर्ने) मेशिनलाई न्यूनतम रू. ५ लाखदेखि ७ लाखसम्म पर्छ । त्यसैगरी रियर लोड (मेशिनको पछिल्लो भागबाट क्यास लोड गर्ने) मेशिनलाई न्यूनतम रू. ६ लाखदेखि रू. ९ लाखसम्म पर्छ ।

No comments:

Post a Comment