रवीन्द्र घिमिरे
नेपालका नौओटा जीवन बीमा कम्पनीले आआफ्ना नाममा झण्डै १ सय १० योजना बजारमा ल्याएका छन्, जसलाई दुई वर्गमा वर्गीकरण गर्न सकिन्छ– सावधिक र म्यादी बीमा योजना । सावधिक योजनामा पोलिसी होल्डरको मृत्यु नभए पनि लाभ रकम प्राप्त हुन्छ भने म्यादी योजनामा पोलिसी होल्डरको मृत्यु भएको अवस्थामा मात्र लाभ रकम प्राप्त हुन्छ । नेपालका जीवन बीमा कम्पनीहरूले सावधिक बीमाअन्तर्गत विभिन्न खालका पोलिसीहरू जस्तै : बीचबीचमा आंशिक रूपमा धन फिर्ता हुने बीमा, बालबच्चा शिक्षा तथा विवाह बीमा, दम्पतीको बीमा, आजीवन बीमा, महिलाको लागि विशेष बीमा, पेन्सन र एन्युटी बीमा आदि बजारमा ल्याएका छन् भने म्यादी बीमाअन्तर्गत वैदेशिक रोजगार बीमा, सामान्य बीमा, सामूहिक बीमा, विशेष बीमा, क्रेडिट बीमा आदि प्रचलनमा छन् । यस लेखमा यी दुई बीमा योजनाको बजार संरचना, कुल बजार र प्रतिबीमालेखका बारेमा छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।
पोलिसी विक्रीको अवस्था
विगत ७ वर्षमा सावधिक र म्यादी बीमा पोलिसी सङ्ख्याको आधारमा हेर्ने हो भने बीमा बजार संरचनामा १८० डिग्रीको परिवर्तन आएको पाइन्छ । कुल बीमा पोलिसीको तुलनामा आव २०६४।६५ मा जम्मा ५ प्रतिशत म्यादी बीमा पोलिसी विक्री भएकोमा २०६९ असार मसान्तमा यो ४४ प्रतिशत पुग्यो र आव २०७०।७१ मा आइपुग्दा यसको विक्री बढेर ७८ प्रतिशत पुग्यो । सावधिक बीमालेखको विक्री ६ वर्षको अवधिमा ९५ प्रतिशतबाट घटेर २२ प्रतिशतमा आइपुग्योे । विसं २०७१ मा नौओटा कम्पनीले कुल १२ लाख २९ हजार बीमालेख जारी गरेकोमा २ लाख ६६ हजार बीमालेख सावधिक थिए भने ९ लाख ६३ हजार बीमालेख म्यादी थिए । यसरी ६ वर्षमा सङ्ख्यागत रूपमा हेर्दा म्यादी जीवन बीमा किन्नेहरूको सङ्ख्या सावधिक बीमा किन्नेहरूको सङ्ख्याभन्दा झण्डै चार दोब्बर बढी हुन पुग्यो । नेपाल सरकारले सन् २०१२ बाट वैदेशिक रोजगारीमा जानेहरूका लागि म्यादी जीवन बीमा अनिवार्य रूपमा गर्नुपर्ने निर्णयले यस्तो हुन सहयोग गरेको हो । दशौं लाख मानिस वैदेशिक रोजगारीमा गएका कारण म्यादी बीमालेखको सङ्ख्या एकाएक बढ्न पुग्यो । अर्कोतिर सावधिक बीमालेखको सङ्ख्या हेर्ने हो भने प्रतिमहीनाको औसत विक्री २२ हजार र प्रतिकम्पनीको औसत वार्षिक विक्री २९ हजार ५ सय हुन आउँछ । ७५ हजार अभिकर्तामध्ये ६० हजार मात्रै सक्रिय छन् भन्ने अनुमान गर्दा प्रतिअभिकर्ताले जम्मा चारओटा मात्र बीमालेख विक्री गरेको देखिन्छ । यस तथ्याङ्कले के देखाउँछ भने बीमा बजारको वृद्धिमा कम्पनीहरूको प्रयासभन्दा बढी सरकारी नीतिको प्रभाव बढी उल्लेखनीय रहेछ ।
म्यादी बीमा खरीद गर्ने मानिसले किन सावधिक बीमा किनेन ? किन बीमा कम्पनीले सावधिक बीमा विक्री गर्ने प्रयास गरेनन् ? नेपाल जस्तो विकासशील देशका जनताले केवल जोखीम हस्तान्तरण गर्ने उद्देश्यले मात्र बीमालेख खरीद गर्नु उपयुक्त होइन । उनीहरूलाई भविष्यको बचतका लागि पनि बीमा आवश्यक छ । सावधिक बीमालेखको न्यून विक्रीले के पुष्टि गर्छ भने बीमा कम्पनीहरू आमजनता र सम्भावित ग्राहकसमक्ष अझै पुग्न सकेका छैनन् । बीमा कम्पनीहरूले आफ्नो बजार रणनीतिलाई पुनरवलोकन गर्नु आवश्यक छ । नियमनकारी निकायले अभिकर्ताको न्यूनतम शैक्षिक योग्यता, तालीम अवधि, तालीमको विषयवस्तु र अनवरत तालीमका विषयहरूमा पुनर्विचार गर्नु आवश्यक देखिन्छ ।
जीवन बीमा प्रिमियम सङ्कलनको अवस्था
आव २०७०।७१ मा नौओटा जीवन बीमा कम्पनीले रू. १८ अर्ब ५७ करोड प्रिमियम रकम सङ्कलन गरेकोे देखिन्छ । यो रकम सावधिक जीवन बीमाबाट ९० प्रतिशत (रू. १६ अर्ब ७४ करोड) र म्यादी जीवनबाट १० प्रतिशत (रू. १ अर्ब ८३ करोड) प्राप्त भएको थियो । कुल प्रिमियम र कुल गार्हस्थ्य आम्दानीको अनुपात (जसलाई इन्स्योरेन्स पेनिट्रेशन भनिन्छ) विसं २०६५ मा शून्य दशमलव ६५ प्रतिशत रहेकोमा २०७२ असार मसान्त शू्न्य दशमलव ९६ प्रतिशत पुगेको छ । यस अर्थमा नेपालको कुल बीमा प्रिमियम सङ्कलनको अवस्था सन्तोषजनक नै मान्नुपर्छ । तर, अन्य देशको तुलनामा भने नेपालको बीमा बजारलाई सन्तोषजनक मान्न सकिँदैन किनकि चीनको र भारतको इन्स्योरेन्स पेनिट्रेशन दर क्रमशः २ र ३ दशमलव १ प्रतिशत रहको छ ।
प्रतिबीमालेख प्रिमियमको अवस्था
प्रतिबीमालेख प्रिमियमलाई देशको प्रतिव्यक्ति आय, कम्पनीहरूको बीमा पोलिसी, बजार रणनीति, सरकारको सामाजिक सुरक्षा नीति, अभिकर्ताको दक्षतालगायत विभिन्न तत्वले असर गर्छ । आव २०७०।७१ मा औसत प्रिमियम रू. १८ हजार रहेको देखिन्छ जुन कम्पनीअनुसार न्यूनतम रू. १२ हजारदेखि अधिकतम रू. ३० हजारसम्म भएको पाइयो । नेपालको बीमा व्यवसाय व्यवस्थित ढङ्गबाट चलेको पाइँदैन किनभने मानिसहरूले आफ्नो जीवनको आर्थिक मूल्यनिर्धारण गर्ने र सोहीबमोजिम बीमा गर्ने प्रचलन छैन । आफ्नो आर्थिक हैसियतभन्दा निकै कम रकमको बीमा गरेको देखिन्छ भने अभिकर्ताहरूले पनि अधिकतम कति रकमसम्मको बीमा गर्नु उपयुक्त हुन्छ भन्ने योजना बनाएर प्रिमियम निर्धारण गरेको पाइँदैन । यस सन्दर्भमा बीमा कम्पनीका सामु मुख्यतः दुई ठूला चुनौती छन् : पहिलो, प्रतिबीमालेखको प्रिमियम रकममा समयानुकूल वृद्धि गर्ने र सावधिक बीमा योजनाको लोकप्रियतामा वृद्धि गर्ने । यसका लागि सरकारी नीतिगत सहयोगको आवश्यकता पर्छ । कम्तीमा पनि हालको रू. २० हजारसम्मको प्रिमियम रकममा हुँदै आएको कर छूट रकमलाई वृद्धि गरी वार्षिक आयको बढीमा ३३ प्रतिशत वा रू.१ लाखमध्ये जुुन रकम कम हुन्छ सोबराबरको प्रिमियम रकममा कर छूट दिने व्यवस्था भएमा स्वतः बीमाप्रति मानिसहरूको आकर्षण बढ्नेछ । स्रोत परिचालनमा वृद्धि भई बचत तथा लगानी बीचको खाडल पनि कम हुनेछ ।
दाबी भुक्तानी अवस्था
बीमा व्यवसायमा दाबी भुक्तानी एक अनिवार्य शर्त हो । तर, यसलाई कम्पनीले सकेसम्म घटाउनु नै बुद्धिमानी हुन्छ । आव २०७१।७२ मा जम्मा रू. ३ अर्ब ६९ करोडको दाबी भुक्तानी गरेकोमा ८५ प्रतिशत सावधिक बीमा र १५ प्रतिशत म्यादी बीमाअन्तर्गत भुक्तानी भएको देखिन्छ । दाबी भुक्तानी रकमको आधारमा हेर्दा म्यादी बीमा कम जोखीमयुक्त देखिएको छ । बीमकहरूलाई यो क्षेत्रबाट बढी फाइदा भएको देखिन्छ । सरकारले वैदेशिक रोजगार म्यादी बीमालाई पुनः नवीकरण गरी सावधिक बीमामा रूपान्तरण गर्नसक्ने प्रावधान राख्नु उपयुक्त हुनेछ । यसबाट बीमा बजारले ठूलो सङ्ख्यामा रहेका म्यादी बीमालेखको निरन्तरता पाउनेछ । यसबाट फजुल खर्च भइजाने रकमलाई बचत गराउन सकिन्छ भने अर्कोतर्फ बीमालेखको संरचनामा देखा परेको असन्तुलनलाई कम गर्न मद्दत गर्छ ।
लेखक बीमा तथा जोखीम व्यवस्थापन विषयका विद्यावारिधि शोधछात्र हुन् ।
No comments:
Post a Comment