काठमाडौंः स्वास्थ्य बिमामा परेको दाबीबापत सरकारले हालसम्म १ करोड ५८ लाख ८७ हजार रुपैयाँ भुक्तानी गरेको छ । करिब एक वर्षको अवधिमा स्वास्थ्य उपचार सेवा सुरु भइसकेका विभिन्न आठ जिल्लाबाट परेको दाबीबापत सरकारले उक्त रकम भुक्तानी गरेको हो ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको पछिल्लो तथ्यांकअनुसार ३३ हजार २ सय ८३ बिमितले स्वास्थ्य उपचार सेवा लिइसकेका छन्, जसबापत परेको दाबीको सरकारले भुक्तानी गरेको समितिका सिअहेब अधिकृत जनक अधिकारीले बताए ।
बिमा कार्यक्रम सुरु भएका जिल्लामध्ये कैलाली, कास्की, म्याग्दी, पाल्पा, बाग्लुङ, बाँके, इलाम, झापा र डडेलधुराबाट दाबी परेको छ । समितिका अनुसार सबैभन्दा बढी पाल्पाबाट दाबी परेको छ । पाल्पामा स्वास्थ्य बिमा कार्यक्रम सहभागी भएका सदस्यमध्ये ६ हजार ९ सय ७५ जनाले स्वास्थ्य उपचार सेवा लिइसकेका छन् ।
त्यस्तै, धेरै दाबी पर्ने जिल्लामध्ये कास्की दोस्रोमा परेको छ । उक्त जिल्लामा ६ हजार ८ सय ९२ बिमितले उपचार सेवा लिइसकेका छन् । साथै इलाममा ६ हजार ७ सय ७७ जनाले स्वास्थ्य उपचार सेवा लिइसकेका छन् । धेरै दाबी पर्ने जिल्लामध्ये इलाम तेस्रोमा परेको छ ।
त्यस्तै समितिको तथ्यांकअनुसार डडेल्धुरामा सबैभन्दा कम दाबी परेको छ । उक्त जिल्लामा जम्मा ९४ बिमितले उपचार सेवा लिएको तथ्यांकले देखाएको छ । त्यस्तै, बाँकेमा १ सय ६४, म्याग्दीमा ४ सय ८६ ले मात्रै उपचार सेवा लिएका छन् ।
बाँकी रहेका जिल्लामध्ये बागलुङमा ३ हजार ८ सय ५४, कैलालीमा ६ हजार ४ सय ८८ र झापामा १ हजार ५ सय ५३ जनाले स्वाथ्य उपचार सेवा लिएको तथ्यांकले देखाएको छ ।
बिमा योजनामा सहभागी बिमितले अधिकतम ५० हजार रुपैयाँसम्मको कुनै पनि रोगको उपचार गर्न पाउनेछन् । उपचारका लागि सरकारले स्थानीय स्वास्थ्यचौकीदेखि लिएर काठमाडौंका अस्पतालहरूसँग समन्वय गरेको छ ।
तर, बिमितले उपचारका लागि सबैभन्दा पहिला नजिकको जिल्लास्तरीय स्वास्थ्य सेवा केन्द्रमा उपचार गराउनुपर्नेछ । यदि जिल्लास्तरीय स्वास्थ्य सेवा केन्द्रले उपचार गर्न नसकेको अवस्थामा केन्द्रको सिफारिसमा क्षेत्रीय स्तरको सरकारी अस्पतालमा उपचार गर्न सकिनेछ । त्यस्तै, यो योजना पूर्ण रूपमा नगदरहित हो ।
त्यसैले बिमितले उपचार गराएबापत अस्पताललाई सीधै भुक्तानी गर्नु पर्दैन । समितिले उपलब्ध गराएको परिचयपत्र देखाएपछि बिमितले सम्झौता भएका कुनै पनि अस्पतालमा निःशुल्क उपचार सेवा पाउँछन् । बिमितले उपचार गराएबापतको खर्च मन्त्रालय मार्फत अस्पतालले पाउँछन् ।
सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमामा हालसम्म ८८ हजार ३ सय ८५ जना सहभागी भइसकेका छन्, जसमध्ये महिलाको संख्या अधिक देखिएको छ । बिमा कार्यक्रममा सहभागी कुल बिमितमध्ये महिलाको हिस्सा ५३ प्रतिशत छ । त्यस्तै, स्वास्थ्य उपचार सेवा लिने कुल बिमितमध्ये महिलाको हिस्सा ५७ प्रतिशत रहेको छ ।
२०७२ साल चैत २५ गतेदेखि कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो । चैतबाटैै दर्ता प्रक्रिया सुरु गरिए पनि जेठदेखि मात्र बिमित स्वास्थ्य उपचार सेवा पाएका हुन् । हाल यो कार्यक्रम १५ जिल्लामा विस्तार गरिएको छ ।
http://www.karobardaily.com/news/80673
No comments:
Post a Comment