काठमाडौंः सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा महिलाको सहभागिता उत्साहजनक देखिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको पछिल्लो तथ्यांकअनुसार स्वास्थ्य बिमा कार्यक्रममा सहभागी सदस्यमध्ये ५३ प्रतिशत महिला छन् । त्यस्तै, स्वास्थ्य उपचार सेवा लिनेमा पनि महिला नै अग्रपंक्तिमा देखिएका छन् ।
समितिको तथ्यांकअनुसार हालसम्म स्वास्थ्य उपचार सेवा लिएकामध्ये ५७ प्रतिशत महिला नै रहेका छन् । हालसम्म नेपालमा विभिन्न ८ जिल्लाका ८८ हजार ३ सय ८५ जना व्यक्ति स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भइसकेका छन् ।
प्रत्येक जिल्लामा पुरुषको तुलनामा महिला सहभागीता बढी देखिएको छ । कार्यक्रम उपचार सेवा सुरु भएका आठ जिल्लामध्ये बैतडीबाहेकका सबै स्थानमा सहभागी भएकामध्ये महिलाको संख्या अधिक छ ।
तथ्यांकअनुसार अछाममा १ हजार ६ सय ७४ व्यक्ति स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका छन् । जसमध्ये ८ सय ७३ महिला छन् भने ८ सय १ पुरुष छन् । बाग्लुङमा ११ हजार ६ सय ९१ जना बिमा कार्यक्रममा सहभागी भएको मध्ये ६ हजार ३ सय ९२ महिला छन् भने ५ हजार २ सय ९९ पुरुष छन् । बैतडीमा सहभागी भएका २ हजार ४ सय ९४ मध्ये १ हजार २ सय ४५ महिला छन् भने १ हजार २ सय ४९ पुरुष छन् ।
इलाममा सहभागी भएका १२ हजार ९ सय २४ सहभागीमध्ये ६ हजार ७ सय ८ महिला छन् भने ६ हजार २ सय १६ पुरुष छन् । कैलालीमा सहभागी भएका ११ हजार ३ सय ४८ मध्ये ५ हजार ८ सय ८१ महिला छन् भने ५ हजार ४ सय ६७ पुरुष छन् ।
त्यस्तै, कास्कीमा सहभागी भएका २२ हजार ९ सय ६६ मध्ये १२ हजार २१ महिला छन् भने १० हजार ९ सय ४५ पुरुष छन् । म्याग्दीमा सहभागी भएका ३ हजार ६ सय ७१ मध्ये १ हजार ९ सय ६१ महिला छन् भने १ हजार ७ सय १० पुरुष छन् । साथै पाल्पामा सहभागी भएका २१ हजार ६ सय ४ मध्ये ११ हजार ६ सय ६६ महिला छन् भने ९ हजार ९ सय ३८ पुरुष छन् ।
तुलनात्मक रूपमा स्वास्थ्य बिमा कार्यक्रममा महिलाको उपस्थिति बाक्लो देखिएको छ । नेपालमा पुरुषको तुलनामा महिलाको जनसंख्या अधिक हुनु तथा वैदेशिक रोजगारीका लागि पुरुषहरु घरभन्दा बाहिर रहनुले पनि महिलाको संख्या धेरै देखिएको हुन सक्ने समितिका सिअहेव अधिकृत जनक अधिकारीले बताए । अर्थात् अधिकांश महिला घरमा नै हुने भएकाले धेरै महिलाले सहभागीता जनाएको हुन सक्ने उनले बताए ।
नागरिकको उपचार गर्न पाउने अधिकारलाई संरक्षण गर्दै सरकारले नै स्वास्थ्य बिमा कार्यक्रमको परिकल्पना गरेको हो । कार्यक्रम सञ्चालनको योजना विगत लामो समयदेखि भए पनि अघिल्लो वर्षदेखि मात्रै यो कार्यक्रम सञ्चालनमा आएको हो ।
सरकारले पूर्वाधार निर्माण र योजना बनाउने काम धेरै अगाडिदेखि गर्दै आए पनि सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति गठन आदेश २०७१ पारित भएपछि यस कार्यक्रमले गति लिएको हो । कार्यक्रम सञ्चालनकै लागि अर्थ मन्त्रालयले छुट्टै सुरक्षा विकास समितिसमेत गठन गरेको छ ।
सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य सुरक्षा (बिमा) कार्यक्रम हाल नेपालका १५ जिल्लामा सञ्चालन भइरहेको छ । गत चैत २५ गते कैलालीबाट सुरुवात भएको यो कार्यक्रम हाल बाग्लुङ, इलाम, अछाम, बैतडी, कास्की, पाल्पा, म्याग्दी, भक्तपुर, गोरखा, तनहुँ, चितवन, जुम्ला, जाजरकोट र मकवानपुरमा विस्तार भएको छ ।
No comments:
Post a Comment