Sunday, January 17, 2016

नेप्सेले तोड्यो रेकर्ड

२०७२-१०-३ मा प्रकाशित      ९६५ पटक पढिएको 

हालसम्मकै नयाँ उचाइ, १ हजार २ सय १२


मुना कुँवर

माघ ३, काठमाडौं । साताको पहिलो दिन आइतवार शेयरबजार परिसूचक नेप्से उच्च अङ्कले बढेको छ । सो दिन नेप्से परिसूचक करीब २१ अङ्कले बढेर हालसम्मकै उच्च विन्दुलाई तोड्दै १ हजार २ सय १२ को नयाँ रेकर्ड कायम गरेको छ । आइतवारदेखि शेयरबजारमा अभौतिक शेयरको मात्रै कारोबार हुन थालेपछि परिसूचक उच्च अङ्कले बढेको कोहिनूर सेक्युरिटिजका सञ्चालक भरत रानाभाटले बताए ।  
आइतवार व्यापार शुरू भएलगत्तै परिसूचक उच्च अङ्कले बढेको थियो । फलस्वरूप नेप्सेले कारोबारको पहिलो डेढ घण्टाको अवधिमा नै हालसम्मकै उच्च विन्दु १ हजार २ सय ५ को विन्दुलाई तोड्न सफल भएको हो । त्यस्तै, मध्याह्न २ बजेर १३ मिनेट जाँदा नेप्से १ हजार २ सय १० दशमलव ७१ विन्दुमा पुगेको थियो । त्यसपछि लगभग स्थिर देखिएको परिसूचक अन्तिममा बढेर १ हजार २ सय १२ विन्दुमा पुगेर बजार बन्द भएको छ । शेयरबजारको आधुनिकीकरणका लागि नेप्सेले आइतवारदेखि अभौतिक शेयरको मात्रै कारोबार शुरू गरेको छ । यसले बजारमा शेयरको आपूर्ति ह्वात्तै घटेको कोहिनूर सेक्युरिटिजका सञ्चालनक रानाभाटले बताए । ‘बजारमा शेयरको उपलब्धता सीमित छ,’ उनले भने, ‘त्यसैले मागअनुसार आपूर्ति हुन नसक्दा परिसूचक बढ्न पुगेको हो ।’ त्यस्तै, नेप्सेले अभौतिक शेयरको कारोबार गर्न थालेपछि लगानीकर्ताहरू पनि हौसिएको उनले बताए । खरीद गरिएको शेयर विक्री गर्न पहिलाजस्तो झन्झट नहुने भएपछि लगानीकर्ताले शेयरको माग बढाएका छन् । उनले भने, ‘एक दुई दिनमा नै खरीद गरिएको शेयर विक्री गर्न पाउने भएपछि ‘सर्टटर्म’ नाफा लिन लगानीकर्ताले शेयर किनेका हुन् ।’

गत भदौ २९ गते १ हजार २ सय ५ विन्दुमा नेप्सेले नयाँ उचाइ कायम गरेको थियो । तर, यो वृद्धि धेरै दिन टिक्न सकेन । त्यसपछि ओरालो लाग्न थालेको परिसूचक गत मङ्सिर १३ गते १ हजार २२ विन्दुको टेवा पाएर पुनः माथि उक्लिएको थियो ।
नयाँ संविधानको विरोधमा मधेशी मोर्चाले आन्दोलन शुरू गरेपछि मुलुकमा मानवीय सङ्कटको स्थिति सृजना भएको थियो । मोर्चाको आन्दोलनलाई भारतले समर्थन गर्दै अघोषित नाकाबन्दी शुरू गरेपछि मुलुकको अवस्था अझै भयावह बन्दै गएको हो । यस्तो अवस्थामा लगानीकर्ता पनि अन्योलमा परेको ब्रोकरहरूले बताए । तर, पछिल्लो केही सातादेखि मुलुकमा इन्धनलगायत अन्य सामग्रीको सहज आपूर्ति हुन थालेपछि र राजनीतिक दलहरूबीच सहमतिको वातावरण बन्दै गएपछि लगानीकर्तामा समेत आत्मबल थपिएको उनीहरूले बताए ।  
आइतवार अधिकांश समूहको परिसूचक बढेको छ । व्यापारमा आएका सात कम्पनीमध्ये जलविद्युत्बाहेक अन्य सबै समूहको परिसूचक बढेको छ । सो दिन जम्मा ८९ कम्पनीको २ हजार ५ सय ६९ व्यापारबाट ८ लाख २५ हजार ९ सय ५४ कित्ता शेयर किनबेच भएको छ । यसबाट रू. ५४ करोड ८१ लाखबराबरको रकम परिचालन भएको छ । यो दिन फष्र्ट माइक्रोफाइनान्स डेभलपमेण्ट बैङ्कको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९४ प्रतिशतले बढेको छ । त्यस्तै, गण्डकी विकास बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै ३ दशमलव ३१ प्रतिशतले घटेको छ । कारोबार भएको रकमको आधारमा भने नबिल बैङ्क सबैभन्दा अग्रपङ्क्तिमा रहेको छ । उक्त बैङ्कको आइतवार रू. ५ करोड ६३ लाखबराबरको रकम कारोबार भएको छ ।

No comments:

Post a Comment