Sunday, January 10, 2016

कसरी गर्ने शेयरमा लगानी

२०७२-०९-२६ मा प्रकाशित      २३२७ पटक पढिएको  
काठमाडौं । ‘दाइ, आज बीमा कम्पनीको शेयर उठाउँदा कस्तो होला ?’ काठमाडौंमा एउटा ब्रोकर कम्पनीको डिस्प्ले रूममा बसेकी महिलाले आफ्नो अघिल्तिरका पुरुषलाई सोधिन् । डिस्प्ले बोर्डतिर हेर्दै ती पुरुषले जवाफ फर्काए, ‘अलिक दिन पख्नुहोस् ।  बरु हिजो उठाएको भए हुन्थ्यो, अब उठाएर त फाइदै छैन ।’
डिस्प्ले बोर्डमा सबैजसो बीमा कम्पनीको शेयर मूल्य घटिरहेको देखिन्थ्यो । डिस्प्लेमा रातो रङ पोतिएको बेला शेयर किन्दा फाइदा हुन्छ भन्ने ती महिलाको बुझाइ रहेछ । उनले ती पुरुषको अझ नजिक पुगेर फेरि सोधिन्, ‘किन र दाइ ? बीमा कम्पनीको शेयरमूल्य त घटेकोघट्यै छ नि ?’ अनि पुरुषले पुनः जवाफ फर्काए, ‘बीमाबाट नाफा उठाइसके, अब २÷४ दिन यसबाट केही हुँदैन ।’ बरु अरू कुनै कम्पनीको शेयर किन्न उनले ती महिलालाई सुझाव दिए ।
ती पुराना पुरुष लगानीकर्ताको कुरामा अरू मानिसका पनि ध्यान तानियो । एकजनाले सोधे, ‘अहिले
कुन कम्पनीको शेयर किन्दा फाइदा छ त दाइ ?’ शेयर किन्दा कुन कम्पनीमा फाइदा हुन्छ भने कसरी थाहा पाउने भन्ने उनको प्रश्न थियो ।
ब्रोकर कम्पनीमा जम्मा भएका पुराना र नयाँ लगानीकर्ताबीच यस्ता संवाद बाक्लै सुनिन्छन् । नयाँ लगानीकर्ताहरू प्रायः यसरी नै पुराना लगानीकर्ताहरूसँग सल्लाह माग्छन् । पुराना लगानीकर्ताले दिएका सल्लाहअनुसार नै नयाँ लगानीकर्ताले शेयर उठाउने वा फाल्ने (किन्ने वा बेच्ने) निर्णय गर्छन् । तर, त्यस्तो लगानीसम्बन्धी निर्णय गर्दा अरूको कुरामा मात्र विश्वास गर्ने होइन, आफ्नै अध्ययन र बुझाइलाई आधार मान्नुपर्छ भन्ने मान्यता विश्वभर नै प्रचलित छ ।
सबैलाई थाहा भएकै कुरा हो, कुनै कम्पनीले पहिलोपटक जारी गरेको शेयर प्राथमिक बजारमा किनबेच हुन्छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका शेयरचाहिँ दोस्रो बजारमा खरीदविक्री हुन्छन् । शेयर बजार माग र आपूर्तिको सन्तुलनका आधारमा परिचालित हुन्छ । शेयरको माग बढ्दा आपूर्ति कम हुन्छ र मूल्य बढ्छ । त्यसैगरी, माग घट्दा आपूर्ति बढ्न पुग्छ । फलस्वरूप मूल्य घट्छ । तर, माग बढ्ने वा घट्ने कारण भने विभिन्न हुन सक्छन् । जस्तै– कम्पनीको व्यवस्थापन, वित्तीय अवस्था, संस्थागत सुशासन आदि मुख्य हुन् । शेयर बजारमा पनि यसका अतिरिक्त लगानीकर्ताको मनोबलले कम्पनीको शेयरमूल्य मात्रै होइन, समग्र नेप्से परिसूचक घट्ने वा बढ्ने गरेको वित्त विश्लेषक रवीन्द्र भट्टराईको भनाइ छ । उनले भने, ‘बजारमा फैलिने अनावश्यक हल्ला, देशको राजनीतिक अवस्था, लगानीकर्ताको आर्थिक अवस्थाजस्ता कुराले पनि लगानीकर्ताको मनोबललाई फरक पार्छ ।’
पछिल्लो समयमा नेप्से परिसूचक बढेसँगै ठूलो सङ्ख्यामा नयाँ लगानीकर्ता बजारमा प्रवेश भएका छन् । सरकारी जागीरबाट अवकाश प्राप्त गरेका व्यक्ति, स्वरोजगारीका अवसर खोज्दै गरेका महिला, व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थी तथा शिक्षक अहिले शेयर बजारका ‘खेलाडी’ बन्ने दौडमा छन् । व्यापारव्यवसाय गर्ने, कर्पोरेट क्षेत्रका कर्मचारीहरूसम्म शेयर बजारमा लगानी बढाइरहेका छन् । बजारमा कोही ‘फुल टाइमर’ पनि छन् । उनीहरू दिनभर ब्रोकर अफिशमा धाउँछन् र अल्पकालीन नाफा सुरक्षित गर्ने गरी शेयरको व्यापार गर्छन् । अरू कोही ‘पार्ट टाइम’ शेयरमा लगानी गर्नेहरू छन् । उनीहरू अरू नै पेशा अँगाल्छन् र दीर्घकालीन लगानीमा रुचि राख्छन् । जो जुन क्षेत्रबाट बजार प्रवेश गरे पनि उनीहरूको मुख्य उद्देश्य नाफा कमाउने नै हो । त्यसमा पनि छोटो समयमा धेरै नाफा कमाउने हो ।
शेयर बजारमा मानिसहरूले सोचेजसरी नाफा कमाउन भने सहज छैन । अरूले जे गरेर पैसा कमाएको छ, त्यही काम गर्ने आमनेपालीको प्रवृत्ति छ । छिमेकीले जे गरेर राम्रो आम्दानी गरेको छ, त्यही गर्न खोज्ने परम्परा हाम्रो समाजमा छ । यद्यपि, राम्रो कुराको नक्कल गर्नु नराम्रो भने होइन । तर, शेयर बजारबाट आम्दानी हुन्छ भन्दैमा आँखा चिम्लेर लगानी गर्नु वा अरूको भरमा लगानी गर्नु मूर्खता भएको ब्रोकरहरू बताउँछन् ।
शेयर बजारमा लगानी गर्नुपूर्व यसबारे सामान्य जानकारी हुनैपर्छ । जानकारीका लागि पुराना लगानीकर्तासँग छलफल गर्ने र पत्रपत्रिका, टेलिभिजन, कम्पनीहरूको वेबसाइट आदि हेर्नुपर्ने शेयर विश्लेषक भट्टराईले बताए । त्यस्तै, सबै लगानीकर्ताले बुझ्नुपर्ने मुख्य कुरा शेयर बजारको परिसूचक सधैं बढ्दैन । घट्नु पनि बजारको प्रकृति हो । त्यसैले, लगानीकर्तामा हुनुपर्ने मुख्य विशेषता भनेको धैर्य नै हो । होशियार लगानीकर्ताले बजार घटेको समयमा पनि फाइदा उठाउन सक्छन् । जसरी हरेक प्राणी परिपक्व हुन निश्चित समय लाग्छ, त्यस्तै कुनै पनि कम्पनीको शेयरमा लगानी गरेपछि लगानीकर्ताले केही समय पर्खने धैर्य राख्न सक्नुपर्छ । मौका छोपेर कारोबार गर्न जान्नेले राम्रो नाफा आर्जन गर्न शेयर बजार एउटा मुख्य थलो बन्न सक्छ ।  
अधिकांश लगानीकर्तामा थोरै मूल्यमा शेयर खरीद गर्ने र उच्च मूल्यमा विक्री गर्ने गरेर मात्रै पूँजीगत लाभ पाउन सकिन्छ भन्ने भ्रम छ । शेयर बजारमा लगानी गरेर नाफा कमाउने तरीकामध्ये यो पनि एउटा हो । तर, यसबाट मात्रै नाफा हुन्छ भन्ने सोच भ्रम हो । किनभने, लामो अवधिका लागि शेयरमा लगानी गर्दा पूँजीगत लाभ तथा बोनस पनि प्राप्त गर्न सकिन्छ ।
शेयर बजारमा लगानी गर्दा नयाँ लगानीकर्ताले केही त्यस्ता विषयमा ध्यान पु¥याउनु आवश्यक छ । धितोपत्र बोर्डबाट प्रमाणपत्र प्राप्त गरेका र धितोपत्र विनियम बजारको सदस्यता लिएका धितोपत्र दलालमार्फत मात्र धितोपत्र खरीदविक्री गर्नुपर्ने बोर्डको सुझाव छ । लगानीकर्ताले कम्पनीको आवधिक तथा वार्षिक प्रतिवेदनको अध्ययन गर्नुपर्छ । कुनै पनि कम्पनीको कार्यसम्पादन स्थिति, आर्थिक स्थिति, व्यवस्थापन पक्ष तथा लगानीकर्तालाई प्रदान गरिएको प्रतिफलजस्ता महत्त्वपूर्ण पक्ष हेरेर मात्र लगानीसम्बन्धी निर्णय गर्नुपर्छ । पत्रपत्रिका तथा अन्य सञ्चारमाध्यमबाट प्रवाहित गरिने धितोपत्रको दैनिक बजार मूल्य तथा कारोबारका बारेमा जानकारी राख्नु राम्रो हुन्छ ।
कम्पनीसँग सम्बन्धित धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचनाहरू धितोपत्र विनिमय बजारको सूचना पाटीमा तत्कालै राखिने व्यवस्था छ । त्यस्ता सूचना पाउन लाइसेन्स प्राप्त ब्रोकरसँग पनि सम्पर्कमा रहनुपर्छ । धितोपत्रमा गरिने लगानीको जोखीम लगानीकर्ता स्वयमले बेहोर्नुपर्ने हुँदा हल्ला, अनावश्यक प्रचार वा कसैको बहकाउबाट मात्र प्रेरित नभई आफ्नो विवेकले नै लगानीसम्बन्धी निर्णय गर्नुपर्ने धितोपत्र बोर्डका अधिकारीहरू बताउँछन् ।

No comments:

Post a Comment