Thursday, January 28, 2016

खाडी मुलुकमा खर्च कटौती अभियान, घट्न सक्छ विप्रेषण आप्रवाह

मुना कुँवर


माघ १३, काठमाडौं । अन्तरराष्ट्रिय बजारमा तेलको मूल्यमा आएको कमीले नेपालमा भित्रँदै आएको विप्रेषणमा ह्रास आउन सक्ने देखिएको छ । तेलको मूल्य घट्दै जाँदा खाडीलगायत मुलुकमा आर्थिक सङ्कटको सम्भावना बढ्दै गएको छ । सोही अवस्थालाई दृष्टिगत गरी खर्च कटौतीका लागि खाडी मुलुकका कम्पनीहरूले कर्मचारी घटाउन थालेका छन् । यसले नेपाललगायत मुलुकहरूकोे विप्रेषण आप्रवाहमा कमी आउन सक्ने अर्थविद् डा चन्द्रमणि अधिकारीले बताए ।
अन्तरराष्ट्रियमा बजारमा तेलको मूल्य प्रतिब्यारेल ३२ अमेरिकी डलरमा झरेको छ । यो मूल्य १२ वर्षयताकै सबैभन्दा कम हो । गत जुनदेखि अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर घटिरहेको छ । विश्वमा सबैभन्दा बढी तेल खपत गर्ने अमेरिका आफैले प्राकृतिक तेलको उत्पादन बढाउन थालेपछि अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य घट्न थालेको छ । तेलको मूल्य घटेसँगै तेल आयातकर्ता मुलुकहरूको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने भए पनि निर्यातकर्ता मुलुकहरूमा भने आर्थिक अभाव सृजना हुन सक्ने देखिएको छ । विश्वका मुख्य तेल निर्यातकतार्का रूपमा रहेका रूस, कोलम्बिया, भेनेजुयला, नाइजेरियालगायत मुलुकहरूको आर्थिक अवस्थामा समस्या पर्न सक्ने देखिएको छ ।   

नेपालमा यसको अप्रत्यक्ष असर पर्ने भएको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार १० वर्षको अवधिमा ४२ लाख २३ हजार ७ सय १५ व्यक्ति वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । त्यसमध्ये ६० प्रतिशतभन्दा बढी खाडी मुलुकमा गएको तथ्याङ्कले देखाउँछ । त्यसैले, खाडी मुलुकमा पर्न सक्ने आर्थिक सङ्कटले नेपाललगायत मुलुकमा भित्रँदै आएको विप्रेषणमा कमी आउने देखिएको हो । नेपालमा वार्षिक करीब रू. ६ खर्ब हाराहारीमा विप्रेषण आप्रवाह हुँदै आएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७१/७२ मा रू. ६ खर्ब १७ अर्ब २७ करोड विप्रेषण आप्रवाह भएको थियो । उक्त रकम गत आवको वार्षिक बजेटको करीब ७५ प्रतिशत हो ।
चालू आवको २०७२/७३ को पहिलो ५ महीनामा भने रू. २ खर्ब ७१ अर्ब ३७ करोड विप्रेषण आप्रवाह भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १९ दशमलव ४ प्रतिशत बढी हो । आव २०७१/७२ को मङ्सिरसम्ममा रू. २  खर्ब २७ अर्ब २० करोड विप्रेषण आप्रवाह भएको थियो भने आव २०७०/७१ को मङ्सिरसम्ममा रू. २ खर्ब २१ अर्ब १७ करोड आप्रवाह भएको थियो ।  
विप्रेषण आप्रवाह बढे पनि वैदेशिक रोजगारीका लागि विदेशिनेको सङ्ख्यामा भने कमी आएको छ । आव २०७२/७३ मङ्सिरसम्ममा १ लाख ७४ हजार ९ सय २६ ले वैदेशिक रोजगारीका लागि स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । यो सङ्ख्या गत आवको सोही अवधिको तुलनामा करीब २२ प्रतिशत घटेको तथ्याङ्कले देखाएको छ । गत आवको पहिलो ५ महीनाको अवधिमा २ लाख २५ हजार ९ सय ७७ ले स्वीकृति लिएका थिए भने आव २०७०/७१ को मङ्सिरसम्ममा १ लाख ७५ हजार ६ सय ९३ जनाले स्वीकृति लिएको तथ्याङ्कले देखाएको छ  । नेपालमा जारी अघोषित नाकाबन्दीलगायत समस्याले ‘मुभमेण्ट’ हुन नसक्दा विदेशिनेको सङ्ख्या घटेको अर्थविद् अधिकारीले बताए । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्दै गएको अहिलेको अवस्थामा खाडी मुलुकको अर्थतन्त्रमा समेत समस्या पर्न थालेमा रेमिट्यान्समा आधारित नेपालको अर्थतन्त्रमा समेत प्रभाव पर्न सक्ने देखिन्छ ।

No comments:

Post a Comment