Tuesday, January 26, 2016

व्यवस्थित भएन बीमा शिक्षा

२०७२-१०-१३ मा प्रकाशित

मुना कुँवर

माघ १२, काठमाडौं । बीमा व्यवसाय सञ्चालन भएको ७ दशक बितिसक्दा पनि व्यवस्थित रूपमा बीमा शिक्षाको शुरुआत हुन सकेको छैन । दिन प्रतिदिन बीमाको क्षेत्र विस्तार भइरहेको अवस्थामा समेत बीमा शिक्षाका लागि सरकार भने उदासीन देखिएको छ । नेपालमा बीमासम्बन्धी शिक्षा नहुँदा कम्पनीहरूमा दक्ष जनशक्तिको अभाव बढ्दै गएको लुम्बिनी जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत विनोदकाजी श्रेष्ठले बताए ।
नेपालमा जीवन तथा निर्जीवन गरी कुल २५ ओटा बीमा कम्पनी सञ्चालित छन् । गत वर्षदेखि एउटा पुनर्बीमा कम्पनी पनि सञ्चालनमा आएको छ । यी कम्पनीहरूले नेपालका विभिन्न जिल्लामा आफ्नो सेवा विस्तार गरेका छन् । तापनि, नेपालको कुल जनसङ्ख्यामध्ये करीब १० प्रतिशत जनसङ्ख्या पनि बीमाको दायरामा आउन सकेका छैनन् । यसले बीमा व्यवसायका लागि नेपाल अत्यन्त सम्भावित क्षेत्र भएको देखाउँछ । यस्तो अवस्थामा समेत व्यवसाय वृद्धिका लागि आवश्यक जनशक्तिको उत्पादनमा सरकारले ध्यान पुर्‍याउन सकेको छैन ।

बीमा कम्पनीहरूमा दक्ष कर्मचारीको अभावकै कारण बीमा व्यवसाय विकास हुन नसकेकोे बीमाविज्ञ रवीन्द्र घिमिरेले बताए । नेपालमा बीमासम्बन्धी अध्यापन गराउने पर्याप्त मात्रामा शैक्षिक संस्था तथा तालीम दिने संस्थासमेत नभएको उनको  भनाइ छ । उनले भने, ‘सञ्चालनमा रहेका सीमित शैक्षिक संस्थाले समेत बीमासम्बन्धी आवश्यक शिक्षा प्रदान गर्न सकेका छैनन् ।’ तसर्थ बीमा समितिले तत्कालै जनशक्ति विकास विभाग स्थापना गरी बजारको मागअनुसार जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने उनले बताए ।
नेपालमा त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन सङ्कायअन्तर्गत स्नातक तहमा १ सय अङ्कको बैङ्किङ तथा इन्स्योरेन्स विषय ऐच्छिक विषयका रूपमा अध्यापन गराउँदै आएको छ । त्यस्तै, पोखरा विश्वविद्यालयले स्नातक तहमा बैङ्किङ तथा इन्स्योरेन्स (बीबीए बीआई) को अध्यापन गराउँदै आएको छ । तर, स्नातकोत्तर तहमा भने नेपालमा कुनै पनि विश्वविद्यालयले यस विषयको अध्यापन थालेका छैनन् । तसर्थ, बीबीए बीआई गरेका विद्यार्थी डिग्रीका लागि अन्य विषय रोज्न बाध्य हुने गरेको पोखरा विश्वविद्यालय (पीयू)की छात्रा नम्रता तिवारीले बताइन् । उनले भनिन्, ‘मैले पीयूबाट बीबीएबीआई गरे । मलाई यही विषयमा दक्षता हासिल गर्ने इच्छा छ, तर नेपालमा यससम्बन्धी अध्यापन नहुँदा अन्य विषयतिर जानुपरेको छ ।’
त्यसो त बीमा समितिले पनि यसको आवश्यकता महसूस नगरेको होइन । समितिले प्रस्तावित नयाँ बीमा ऐनमा बीमा एकेडेमीको योजनासमेत समावेश गरेको छ । तर, बीमा ऐन नै अहिलेसम्म पारित भएको छैन ।
विश्वमा इन्स्यमेरेन्स इन्ष्टिच्युट अफ म्याञ्चेष्टरलाई बीमा शिक्षाको पहिलो खुड्किलो मानिन्छ । यसको स्थापना सन् १८७३ मा भएको हो । अमेरिकामा सन् १८७४ देखि इन्स्योरेन्स लको अध्यापन शुरू भएको हो । जर्मनीमा सन् १८९८ बाट बीमा शिक्षाको शुरुआत गरिएको हो भने चीनमा सन् १९०२, कोरियामा सन् १९१० देखि बीमा शिक्षा अध्यापन गराउनु शुरू गरिएको हो ।

No comments:

Post a Comment