मुना कुँवर
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले माघ ३ गतेदेखि डिम्याट (विद्युतीय अभिलेख/अभौतिकीकरण) भएका शेयरको कारोबार शुरू गरेको छ । यसअघि धेरैपटक अनिवार्य रूपमा डिम्याट कारोबार शुरू गर्ने भनिए पनि माघ महीनादेखि मात्रै यो लक्ष्य सफल भएको छ । तर, बजारमा डिम्याट गरिएका शेयरको मात्रै कारोबार हुन थाले पनि धेरै लगानीकर्ताले भने शेयर डिम्याट गराइसकेका छैनन् । सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)ले दिएको अनौपचारिक तथ्याङ्कअनुसार कुल सूचीकृत शेयरमध्ये करीब ३० प्रतिशत शेयर मात्र डिम्याट भएका छन् । यसले पनि धेरै लगानीकर्ताले शेयर डिम्याट गर्न बाँकी रहेको देखाउँछ ।
भौतिक शेयरको तुलनामा डिम्याट शेयर बढी सुरक्षित रहेको छ । यद्यपि, कतिपय लगानीकर्ता नयाँ प्रविधि अपनाउन खासै इच्छुक देखिएका छैनन् । तर, भौतिक शेयरको तुलनामा डिम्याट शेयर बढी सुरक्षित हुन्छ । भौतिक (कागजी प्रमाणपत्र)को रूपमा रहेको शेयरजस्तोे डिम्याट भएका शेयर बोकेर हिँड्नुपर्दैन भने च्यातिने, चोरी हुने, हराउने, आगलागी हुनेलगायत डर पनि हुँदैन । डिम्याट प्रक्रिया बैङ्कमा पैसा राख्न प्रयोग गरिने प्रणालीजस्तै हो । तर, यसमा रकमको सट्टा शेयर राखिएका हुन्छन् । कतिपय लगानीकर्ताले भने शेयर डिम्याट गराउने प्रक्रियाबारे थाहा नहुनाले पनि यसलाई अँगाल्न सकेका छैनन् ।
लगानीकर्ताले सबैभन्दा पहिले शेयरको डिम्याट गराउन एउटा फोटो, नागरिकताको प्रतिलिपि लिएर तोकिएका डीपी (निक्षेप सङ्ग्रहकर्ता/डिपोजिटरी पार्टिसिपेण्ट्स)को मा जानुपर्छ । अधिकांश ब्रोकर कम्पनी, क्यापिटल लिमिटेड र बैङ्कहरूले डीपी सदस्यता लिएका छन् । डीपीकहाँ शेयर डिम्याट गर्न आग्रह गरिने फारम पाइन्छ । यो फारमको शुल्क पर्दैन । तर, तपाईंले हितग्राही खाता खोल्न भने रू. ५० तिर्नुपर्छ । खाता खोलेपछि वार्षिक शुल्क रू. १ सय बुझाउनुपर्छ । यद्यपि, अहिले पहिलो वर्षका लागि कतिपय डीपीहरूले वार्षिक शुल्कमा छूट दिने गरेका छन् ।
तपाईंसँग हाल शेयर नै नभए पनि यसरी खाता खोल्न भने कुनै समस्या हुँदैन । तर, शेयर भएमा भने डिम्याट रिक्वेष्ट फारममा भएको तालिकाको आईएसआईएन खण्डमा कुन कम्पनीको शेयर राख्ने हो, त्यसको आईएसआईएन सङ्केत उल्लेख गर्नुपर्छ । आईएसआईएन सङ्केत कम्पनीअनुसार फरकफरक हुन्छ । एकै कम्पनीको सर्वसाधारण, संस्थापक, अग्राधिकारलयागत शेयरको वर्गअनुसार पनि यस्तो सङ्केत फरक हुन्छ । आफूलाई थाहा नभए डीपीसँग यस्तो सङ्केत सोध्न सकिन्छ । आफ्नो खातामा फरकफरक कम्पनीको शेयर राख्नुपर्ने भएमा फरकफरक डिम्याट रिक्वेष्ट फारम भर्नुपर्छ । यसरी यो फारम भरेपछि उल्लेख गरिएका कम्पनीको प्रमाणपत्रसमेत डीपीलाई बुझाउनुपर्छ ।
कम्पनीपिच्छे शेयर रजिष्ट्रार फरक हुने भएकाले अलगअलग डिम्याट रिक्वेष्ट फारम भर्नुपरेको हो । तपाईंबाट लिएको डिम्याट रिक्वेष्ट फारम डीपीले शेयर रजिष्ट्रारमा पठाउँछ र त्यहाँबाट प्रमाणित गरिएपछि तपाईंको खातामा शेयर जम्मा हुन्छ । खाता खोलेको र वार्षिक शुल्कबाहेक अन्य खर्च भने यो प्रक्रियासम्म लाग्दैन ।
लगानीकर्ताहरूले एकभन्दा बढी डीपीमार्फत पनि खाता खोल्न सक्छन् । तर, अलगअलग डीपीमार्फत खोलिएका खाता एकअर्कासँग सम्बन्धित हुँदैनन् । तपाईंको विवरण सबै एउटै रहने भए पनि खाता नम्बर भने अलगअलग नै हुन्छ । यस्तो गर्दा दुवैमा खाता खोलेको शुल्क र वार्षिक शुल्क भने बुझाउनुपर्छ ।
कसरी हुन्छ डिम्याट शेयरको कारोबार ?
खाता खोल्नेबित्तिकै डीपीले तपाईंलाई डेलिभरी इन्ष्ट्रक्शन स्लिप दिन्छ । यो स्लिप लगभग बैङ्कले दिने चेकजस्तै हो । शेयर विक्री गर्नुपर्ने बेलामा यस्तो स्लिपमा तपाईंले कुन कम्पनीको कति कित्ता शेयर बेच्ने हो भरेर दिनुपर्छ । यो बेयरर चेकजस्तै हो । त्यसैले, यस्तो स्लिप भरिसकेपछि हराउनु हुँदैन । यस्तो भरेको स्लिप हराएमा यो पाउने जोसुकैले पनि कारोबार गर्न भने सक्छ । यसरी भरेको स्लिप हराएमा सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा तुरन्त जानकारी गराइहाल्नुपर्छ ।
अहिले कारोबारको क्रममा यस्तो डेलिभरी इन्ष्ट्रक्शन स्लिपको आवश्यकता परे पनि पछि भने आवश्यक हुँदैन । सीडीएससीले ब्रोकरहरूलाई इण्टरफेससमेत दिने कुरा भए तापनि गोपनीयताका लागि भन्दै हाललाई यो सुविधा दिइएको छैन ।
स्लिपबाट अर्डर दिँदा विक्रीकर्ताको खाताबाट शेयर विक्री गर्ने ब्रोकर (क्लियरिङ मेम्बर)को खातामा शेयर जान्छ र त्यहाँबाट सीडीएससीको खातामा जान्छ । यही शेयर किन्ने ब्रोकर हँुदै किन्ने लगानीकर्ताको खातामा पठाइन्छ । यो प्रक्रियामा शेयर किन्न र बेच्न एउटै ब्रोकरबाट गर्न सकिन्छ । यसरी शेयर बेच्दा पनि लगानीकर्ताले २५ रुपैयाँ र किन्दा पनि २५ रुपैयाँ तिर्नुपर्छ । तर, एकै दिन एउटै कम्पनीको शेयर कारोबार गर्दा भने हरेक कारोबारको अलगअलग शुल्क तिर्नुपर्दैन । यद्यपि, एउटै कम्पनीको भए पनि शेयर किन्ने र बेच्ने गरिएको छ भने किनेबापत २५ रुपैयाँ र बेचेबापत २५ रुपैयाँ तिर्नुपर्छ । अन्य शुल्क, जस्तै– ब्रोकर कमिशन, पूँजीगत लाभकरलगायत भने अहिलेजस्तै कारोबारको क्रममै काटिन्छ ।
No comments:
Post a Comment