Thursday, January 21, 2016

प्रमाणपत्रविना नै ‘नो क्लेम डिष्काउण्ट’

२०७२-१०-७ मा प्रकाशित

मुना कुँवर
माघ ६, काठमाडौं । दाबी नगरेबापत छूट (नो क्लेम डिष्काउण्ट)को प्रमाणपत्रविना नै बीमा कम्पनीहरूले बीमितहरूलाई हदैसम्मको छूट दिने गरेको देखिएको छ । मोटर बीमादर निर्देशिका २०६६ विपरीत कम्पनीहरूले मोटर बीमामा नो क्लेम डिष्काउण्ट दिने गरेको बीमा समितिका निर्देशक श्रीमान कार्कीले बताए । उनले भने, ‘बीमा कम्पनीहरूले प्रमाणपत्रविना नै छूट दिनु गलत परिपाटी हो ।’
मोटर बीमादर निर्देशिकाअनुसार बीमितले यसअघि बीमा योजनामा सहभागी भएको तर ती कम्पनीमा आफूले कुनै दाबी नगरेको प्रमाणपत्र ल्याएमा नयाँ बीमा कम्पनीबाट नो क्लेम छूट पाउने प्रावधान छ । निर्देशिकाअनुसार प्रत्येक वर्ष मोटर बीमा नवीकरण गर्नुपर्ने प्रावधान छ । बीमा गर्दाको पहिलो वर्ष बीमितले कम्पनीमा कुनै पनि दाबी नगरेमा दोस्रो वर्ष जुनसुकै कम्पनीबाट नवीकरण गर्दा बीमादरमा १५ प्रतिशत छूट प्राप्त गर्छ । त्यस्तै, दोस्रो वर्ष २० छूट दिनुपर्ने प्रावधान रहेको छ भने तेस्रो वर्ष बीमितले ३० प्रतिशतसम्मको छूट पाउँछ । बीमितले एउटै बीमा कम्पनीमा निरन्तर बीमा गरेको अवस्थामा नो क्लेम डिष्काउण्ट उपभोग गर्न कुनै प्रमाणको आवश्यकता पर्दैन । तर, दोस्रो वर्ष अन्य कम्पनीमा बीमा गर्न चाहेको अवस्थामा उक्त छूट उपभोग गर्न भने प्रमाणपत्र पेश गर्नुपर्नेछ । बीमितले प्रमाण जुटाउन नसकेको खण्डमा छूटसहितको बीमा जारी गर्न बीमा कम्पनी बाध्य हुने छैन ।

यस्तो व्यवस्था भए पनि बीमा कम्पनीहरूले निर्देशिकाविपरीत प्रमाणपत्रविना नै बीमितलाई अधिकतम छूट दिने गरेको पाइएको बीमा समितिले उल्लेख गरेको छ । यसरी बीमकहरूले छूट दिनु नियमसङ्गत नरहेको भन्दै यस्तो गर्न तथा नगराउन बीमा समितिले हालै कम्पनीहरूलाई निर्देशनसमेत दिइसकेको छ । बीमितले प्रमाण जुटाउन नसकेको अवस्थामा छूटसहित बीमालेख जारी नगर्नसमेत समितिले निर्देशन दिएको छ ।   
 
बीमा कम्पनीहरूले व्यवसाय वृद्धिका लागि यस्तो खालको गतिविधि गर्ने गरेको हुनसक्ने नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए ।
उनले भने, ‘व्यावसायिक कम्पनीहरूले सार्वजनिक मोटरमा भन्दा पनि निजी सवारीसाधनहरूको बीमा गर्दा यदाकदा प्रमाणपत्रविना नै छूट दिने गरेका छन् ।’

त्यस्तै, निर्देशिकामा दिइएको छूटलाई केही बीमितले पनि  दुरुपयोग गर्ने गरेको नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत साउदले बताए । उनले भने, ‘पहिलो वर्ष एउटा बीमा कम्पनीमा बीमा गरेर दाबी रकम प्राप्त गरेपछि दोस्रो वर्ष अर्को कम्पनीमा गएर नो क्लेम डिष्काउण्टको सुविधा उपभोग गर्ने बीमितहरू पनि भेटिन्छन् ।’ कतिपयले बीमा कम्पनीहरूले नो क्लेम डिष्काउण्ट प्रमाणपत्र नहेरी छूट दिने गरेको भए पनि कतिपयले नियतवश प्रमाणपत्र नखोज्ने गरेको उनको अनुभव छ । तर, यसले बीमा कम्पनीलाई फाइदा पुगे पनि समग्र बीमा व्यवसायमा गलत अभ्यास बढ्न जाने उनको निष्कर्ष छ ।

No comments:

Post a Comment