Friday, January 15, 2016

अति गरीबलाई निःशुल्क स्वास्थ्यबीमा

२०७२-१०-१ मा प्रकाशित   
पुस ३०, काठमाडौं । अति गरीब वर्गमा पर्ने नागरिकको स्वास्थ्य बीमा नेपाल सरकारले निःशुल्क रूपमा गरिदिने भएको छ । गरीबी निवारण मन्त्रालयले पहिचान गरेका सो वर्गका नागरिकलाई यस्तो सुविधा दिन लागिएको हो । प्रत्येक नागरिकमा स्वास्थ्योपचारको पहुँच पु¥याउने उद्देश्यबाट सरकारले यस्तो निःशुल्क स्वास्थ्य बीमा योजना सञ्चालनमा ल्याएको स्वास्थ्य मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बताए । उनका अनुसार सरकारले योजनाअन्तर्गत मध्यम गरीबीको वर्गमा परेकालाई बीमाशुल्कमा ७५ प्रतिशतसम्म र गरीबीको वर्गमा परेकालाई बीमाशुल्कमा ५० प्रतिशतसम्म छूट दिनेछ ।

नागरिकको स्वास्थ्य सुरक्षाअन्तर्गत सरकारले विगत ३ वर्षदेखि स्वास्थ्यबीमा योजनालाई प्राथमिकतामा राख्दै आएको छ । सो अनुसार सकारले चालू आर्थिक वर्ष २०७२/७३ को बजेटमा योजना सञ्चालनका लागि १० ओटा जिल्ला छनोटसमेत गरिसकेको छ । छनोट गरिएका जिल्लामध्ये पहिलो चरणमा इलाम, बाग्लुङ र कैलालीबाट योजना शुरू गरिने भएको छ ।
बीमा योजनाअनुसार प्रत्येक परिवारमा ५ जनासम्मले स्वास्थ्यबीमा गराउन सक्नेछन् । ५ जना सदस्य बराबर रू. २ हजार ५ सय बीमाशुल्क भुक्तानी गरेपछि उक्त परिवारले रू. ५० हजारसम्मको स्वास्थ्य बीमा प्राप्त गर्नेछन् । तर अति गरीब वर्गमा परेकालाई भने बीमाशुल्क शतप्रतिशत छूट हुनेछ । त्यस्तै, मध्यम गरीब र गरीब वर्गका नागरिकले क्रमश ७५ र ५० प्रतिशतसम्मको छूट पाउनेछन् । गरीबी निवारण मन्त्रालयले जारी गरेको परिचयपत्रका आधारमा गरीबीको पहिचान गरी छूट दिइने स्वास्थ्य मन्त्रालयले बताएको छ ।
सो स्वास्थ्य बीमा योजनाअनुसार बीमितले रोगको उपचार गराएबापत हुने खर्चमध्ये अधिकतम रू. ५० हजारसम्म सरकारले बेहोर्ने छ । उपचारका लागि सरकारी अस्पतालसँग समन्वय गरिने बताइएको छ । बीमितले नजीकको जिल्लास्तरीय स्वास्थ्य सेवा केन्द्रमा उपचार गराउनु पर्नेछ । जिल्लास्तरीय स्वास्थ्य सेवा केन्द्रले उपचार गर्न नसकेको अवस्थामा केन्द्रको सिफारिशमा क्षेत्रीयस्तरको सरकारी अस्पतालमा उपचार गर्न सकिनेछ । तर, उक्त योजनाले आँखा र कस्मेटिक सर्जरीको उपचारलाई भने ‘कभर’ गर्ने छैन । स्वास्थ्य बीमा पूर्णरूपमा नगदरहित हुनेछ । बीमितले उपचार गराएबापतको खर्च अस्पतालले सीधै मन्त्रालयमार्पmत पाउनेछ । उपचारबापत बीमितले रकम भुक्तानी गर्नुपर्दैन ।
स्वास्थ्य बीमाका लागि सरकारले स्थानीय स्तरमा नै कर्मचारी खटाउनेछ । मन्त्रालयका अनुसार कर्मचारीहरू प्रत्येक घरमा गई मोबाइलबाट फोटो खिची तुरुन्त बीमालेख जारी गर्नेछन् । योजना आएपछि उपचार अभावकै कारण कसैको पनि अकाल मृत्यु नहुने मन्त्रालयको दाबी छ ।

No comments:

Post a Comment