Monday, August 6, 2018

तीनवटा स्मार्ट सिटीको सूचकांक अध्ययन गरिँदै


मुना कुँवर
भौगोलिक र सांस्कृतिक अवस्थाअनुसार सूचकांक फरक–फरक हुन सक्ने
सहरी विकास तथा भवन निर्माण विभागले तीनवटा स्मार्ट सिटीको सूचकांक अध्ययन सुरु गरेको छ । विभागले निर्माण गर्न लागेको तीनवटा स्मार्ट सिटीको प्रारम्भिक अध्ययन सकिएपछि सूचकांकको अध्ययन सुरु गरेको हो । विभागका अनुसार आगामी कात्तिक महिनासम्ममा सूचाकांक निर्धारण गरिने भएको छ ।
सरकारले आर्थिक वर्ष ०७२/७३ को बजेटमार्फत पालुङटार, निजगढ र लुम्बिनीलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने घोषणा गरेको थियो । सोहीबमोजिम सहरको प्रारम्भिक अध्ययन कार्य सकिएको आयोजना निर्देशक पराग कायस्थले बताए । ‘अहिले सूचकांक अध्ययनको काम भइरहेको छ । यसका लागि परामर्शदाताले आर्थिक, सामाजिक अध्ययन गर्दै छन्,’ उनले भने ।
सूचकांक अध्ययन गर्न प्रत्येक सहरमा आयोजना परामशर्तदाता नियुक्त भइसकेका छन् । त्यस्तै, दुई–दुईजना विदेशीविज्ञ पनि छनोट भएका छन् । निजगढको अध्ययन गर्न करिब ३ करोड रुपैयाँ, लुम्बिनीमा ३ करोड ५० लाख र पालुङटारका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

के हो स्मार्ट सिटी सूचकांक ?
स्मार्ट सिटी बन्नका लागि आवश्यक न्यूनतम मापदण्डको सूचक नै स्मार्ट सिटी सूचकांक हो । सांस्कृतिक सहरका रूपमा लुम्बिनी, व्यापारिक र तराई क्षेत्रका रूपमा निजगढ र प्राकृतिक सहरका रूपमा पालुङटारलाई छनोट गरिएको हो । सोहीअनुसार आयोजनाले सिटीको अध्ययन गरिरहेको छ ।
त्यसैगरी राष्ट्रिय योजना आयोगले निर्धारण गरेको सूचकांकलाई पनि आधार मानिने आयोजना निर्देशक कायस्थले बताए । योजना आयोगले आव ०७३/७४ मा स्वःफूर्त सहरको मस्यौदामा चारवटा सूचकांक विकास गरेको छ । जसमा स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट पूर्वाधार र स्मार्ट अर्थव्यवस्था हुनुपर्ने बताएको छ  । अध्ययनपछि सहर विकासको लागत तयार पारिनेछ । सहर विकास अवधिको २५ वर्ष तोकिएको छ ।
विदेशी स्मार्ट सिटीको अध्ययन
आयोजनाले नेपालमा स्मार्ट सिटीको अध्ययनसँगै विदेशी सफल स्मार्ट सिटीहरूको पनि अध्ययन गरिसकेको छ । भारत, चीन, अमेरिका, कोरियालगायतका स्मार्ट सिटीको अध्ययन भइसकेको आयोजना निर्देशक कायस्थले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय स्मार्ट सिटीहरूका लागि ६ वटा सूचकांक निर्धारण गरिएको छ । जसमा स्मार्ट इकोनोमी, स्मार्ट जनता, स्मार्ट गभर्नेन्स, स्मार्ट मुभिलिटी, स्मार्ट इन्भाइरोमेन्ट र स्मार्ट लिभिङ पर्छन् ।
फरक–फरक हुन सक्छ सूचकांक
तीनवटा स्मार्ट सिटीका सूचकांकहरू पनि फरक–फरक हुन सक्ने आयोजना निर्देशक कायस्थले बताए । तीनवटा सहरको भौगोलिक र सांस्कृतिक अवस्थाअनुसार सूचकांक फरक–फरक हुन सक्ने आयोजनाले बताएको छ । तर, उक्त तीन सहर नेपालका अन्य सहरहरूको पनि प्रतिनिधित्व भने गर्नेछ । त्यसैले आगामी दिनमा अन्य स्मार्ट सिटी विकास गर्दा तिनै सहरहरूको सूचकांकलाई
आधार मानिनेछ ।
थप १० वटा स्मार्ट सिटीको अध्ययन
सरकारले गत आर्थिक वर्षको बजेट भाषणमार्फत नयाँ थप १० वटा स्मार्ट सिटी विकास गर्ने घोषणा गरेको छ । दुर्लु, वालिङ, अमगरगढी, धनकुटा, मिर्चया, चन्द्रपुर, काभे्र, भरतपुर, तुल्सीपुर, टीकापुरमा स्मार्ट सिटी विकासका लागि प्रारम्भिक अध्ययनको कार्य भइरहेको  उनले बताए ।
http://www.nayapatrikadaily.com/2018/08/06/79784/

No comments:

Post a Comment