Sunday, August 19, 2018

१६ प्रतिशत बिमितले गरे बिमालेख रद्द


मुना कुँवर
काठमाडौं
बिमालेख व्यतीत अनुपात १० प्रतिशतसम्म सामान्य, ३० प्रतिशतभन्दा बढी भए जोखिम
आर्थिक वर्ष ०७२/७३ को तथ्यांकअनुसार तीनवटा जीवन बिमा कम्पनीको बिमालेख व्यतीत अनुपात २० प्रतिशतभन्दा बढी देखिएको छ । त्यस्तै, दुई कम्पनीको व्यतीत अनुपात १० देखि २० प्रतिशत हेको छ भने बाँकी तीन कम्पनीको व्यतीत अनुपात १० प्रतिशतभन्दा कम छ । कम्पनीहरूको औसत व्यतीत अनुपात भने १६ प्रतिशत रहेको छ ।

कम्पनीहरूको बिमालेख व्यतीत अनुपात १० प्रतिशतसम्म रहेमा सामान्य मानिन्छ । १० प्रतिशतदेखि २० प्रतिशतसम्मको अवस्थालाई मध्यम मानिन्छ भने २० प्रतिशतदेखि ३० प्रतिशतसम्मलाई जोखिमयुक्त मानिन्छ । त्यस्तै, ३० प्रतिशतभन्दामाथि भएमा उच्च जोखिम मानिने जोखिम तथा बिमाविज्ञ उदयराज अधिकारीले बताए ।
समितिको तथ्यांकअनुसार सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको व्यतीतदर एकदमै उच्च देखिएको छ । उक्त कम्पनीको बिमालेख व्यतीतदर ३० प्रतिशत छ । त्यस्तै, सबैभन्दा कम नेसनल लाइफको छ । जसको बिमालेख व्यतीत अनुपात १ दशमलव ४९ प्रतिशत छ ।

व्यतीत बिमालेख भनेको के हो ?
बिमितले बिमाशुल्क भुक्तान गरेपछि बिमालेख नवीकरण हुन्छ । तोकिएको समयमा नवीकरण नगरेमा बिमालेख व्यतीत हुन्छ । मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा पनि बिमितले आफ्नो बिमालेख नवीकरण गर्न सक्छन् । बिमालेख नवीकरणको अथवा बिमाशुल्कको किस्ता भुक्तानी गर्न ३० दिनको ग्रेस पिरियड हुन्छ । सो अवधिभित्र पनि नवीकरण नगरेमा बिमालेख निष्क्रिय हुन्छ । अर्थात्, उक्त बिमालेखले बिमितको कुनै पनि जोखिम सुरक्षण गर्दैन । जसलाई बिमालेख व्यतीत भनिन्छ । म्यादी बिमाको हकमा भने यो प्रावधान लागू हुँदैन ।
बिमालेख व्यतीत भए के हुन्छ ?
बिमालेख व्यतीत भएपछि बिमितको दुर्घटना भएको अवस्थामा दाबी भुक्तानी गर्न कम्पनी जवाफदेही हुनेछैन । तर, बिमालेख व्यतीत भएको (बिमालेख सक्रिय भएपछि) एक वर्षभित्रमा बिमितको मृत्यु भएमा कम्पनीले बिमा रकम इच्छाएको व्यक्तिलाई भुक्तानी गर्छ । त्यस्तै, बिमालेख व्यतीत भएको १ वर्षपछि बिमितको मृत्यु भएमा कम्पनीले बिमितले इच्छाएको व्यक्तिलाई चुक्ता रकम भुक्तानी गर्छ, तर दुर्घटनाबाट मृत्यु भएको अवस्थामा भने दाबी भुक्तानी गर्दैन । यस्तो अवस्थामा कम्पनीले आफूले लिनुपर्ने रकम र विलम्ब शुल्क कटाएर मात्रै भुक्तानी गर्छ ।
बिमाशुल्क निर्धारणको आधार
बिमालेख नवीकरण गर्न बिमितले बिमाशुल्क भुक्तानी गर्नुपर्छ । कम्पनीहरूले चारवटा सूचकांकको पूर्वानुमान गरी बिमाशुल्क निर्धारण गरेका हुन्छन् । उक्त सूचकांकमध्ये पहिलो भनेको बिमितको मृत्युदर हो । नेपाली बिमा कम्पनीहरूले नेपाली मृत्युदर तालिका २०६६ अनुसार बिमितको मृत्युदरको अनुमान गर्छन् । दोस्रो भनेको वित्तीय संस्थाको ब्याजदर हो । तेस्रो, कम्पनीको व्यवस्थापन खर्च हो भने चौथो, बिमालेखको निरन्तरता अथवा नवीकरण हुँदै जाने पूर्वानुमान हो ।
बिमालेख व्यतीत हुँदा पर्ने प्रभाव
कम्पनीले तयार पारेको बिमालेखअनुसार अवधि निर्धारण गरिएको हुन्छ । त्यसैगरी बिमितले आफ्नो इच्छाअनुसार पनि बिमा अवधि तय गर्न सक्छन् । नेपालमा प्रायः गरी १०, १५ र २० वर्षे बिमालेख प्रचलनमा छ । कम्पनीले पनि सोही अवधिको गणना गरी बिमाशुल्क निर्धारण गर्छ । तर, उक्त अवधिअगावै बिमालेख व्यतीत हुँदा कम्पनीलाई आर्थिक नोक्सानी हुन्छ । कम्पनीलाई मात्रै होइन, बिमितलाई पनि उत्तिकै नोक्सानी हुन्छ ।
व्यतीत हुने कारण
बिमितलाई बिमाप्रतिको वितृष्णा नै बिमालेख व्यतीतको मूल कारण भएको बिमाविज्ञ डा. दामोदर बसौलाले बताए । उनका अनुसार वितृष्णा हुनुको कारण भनेको अभिकर्ताले बिमालेखबारे बिमितलाई राम्रोसँग बुझाउन नसक्नु हो । नेपालको परिप्रेक्ष्यमा जबर्जस्ती बिमा गराउने प्रचलन छ । यसरी बिक्री गरिएका अधिकांश बिमालेख नवीकरण हुँदैनन् । त्यस्तै, नयाँ कम्पनी सञ्चालनमा आउँदा पनि बिमालेख व्यतीत हुने सम्भावना उत्तिकै बढ्छ । कतिपय अभिकर्ताले आफूले कम्पनी परिवर्तन गर्दा आफ्ना बिमितलाई पनि कम्पनी परिवर्तन गर्न लगाउँछन् । एउटा कम्पनीमा रहेको पोलिसी छोडेर अर्को कम्पनीमा बिमा गराउँदा पनि बिमालेख व्यतीत हुने सम्भावना हुन्छ ।
केही हदसम्म भने बिमितको आम्दानीस्तर खस्केमा वा मुलुकमा आर्थिक मन्दी लागेको अवस्थामा पनि बिमालेख व्यतीत हुने बिमाविज्ञ भोजराज शर्माले बताए ।

शिवनाथ पाण्डे, प्रमुख कार्यकारी अधिकृत, सूर्या लाइफ इन्स्योरेन्स


बिमित आफैँ सचेत नहुँदा समस्या
बिमालेख व्यतीत हुनुका विभिन्न कारण हुन्छन् । कहिलेकाहीँ कम्पनीले बिक्री गर्ने बिमालेख नराम्रो भएर पनि व्यतीत अनुपात बढ्न सक्छ । तर, नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने अभिकर्ताले दिने सूचनामा कमी भएकै कारण बिमालेख व्यतीत हुने गर्छ । कतिपय अभिकर्ताले जबर्जस्ती बिमा गराउँछन् भने कतिपयले आफ्नो नाफाका लागि अभिकर्तालाई बिमालेख सरेन्डर गर्न लगाउँछन् । त्यसका साथै बिमित आफैँ सचेत नभएर पनि बिमालेख व्यतीत हुन्छ ।

सम्पूर्ण जानकारी नदिँदा बिमालेख व्यतीत हुन्छ

उदयराज अधिकारी, जोखिम तथा बिमाविज्ञ


अभिकर्ताले बिमितलाई बिमालेखसम्बन्धी सम्पूर्ण जानकारी दिएन भने पनि बिमालेख व्यतीत हुन्छ । नयाँ कम्पनी आउँदा यो सम्भवना बढी छ । बजार सानो, बिमा योजना त्यही छ । जसका कारण बिमित सजिलै डाइभर्ट हुन सक्छन् । बिमालेख व्यतीत हुँदा कम्पनीको नगद प्रवाह कम हुन्छ । जीवन बिमा कोष घट्छ । कम्पनीको बोनसदरमा प्रत्यक्ष असर गर्छ । इन्सेन्टिभमा पनि प्रभाव पर्छ । व्यतीत अनुपात घटाउन कम्पनीले राम्रोसँग अन्डरराइटिङ गर्नुपर्छ । पोलिसी बिक्री गर्दा सबै सूचना दिनुपर्छ । अभिकर्तालाई राम्रोसँग परिचालन गर्नुपर्छ ।
http://www.nayapatrikadaily.com/2018/08/20/84950/

No comments:

Post a Comment