Friday, August 3, 2018

जीवन बिमा कोषको डेढ खर्ब प्रयोगविहीन


मुना कुँवर 
काठमाडौं | साउन १८, 
गत आर्थिक वर्ष ०७४/७५ को अन्त्यसम्ममा जीवन बिमा कम्पनीहरूको जीवन बिमा कोष १ खर्ब ५३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । प्रतिवर्ष यो कोषको रकम बढ्ने क्रम जारी छ । जीवनबिमाको प्रिमियमबापत उठेको रकम रहने यो दीर्घकालीन कोष हो । लामो समय लाग्ने पूर्वाधार परियोजनामा यस्तो कोषको रकम संसारभरि नै प्रयोग हुने गर्छ । तर, नेपालमा भने एकातिर पूर्वाधार क्षेत्रमा पैसाको अभाव छ, अर्कातिर लगानीको उचित क्षेत्र नभेटिँदा कोषको रकम वित्तीय संस्थाको मुद्दती निक्षेपमा जम्मा हुने गरेको छ ।
१ खर्ब ५३ अर्ब रकम लगानी गरियो भने पूर्व–पश्चिम विद्युतीय रेलगार्गको ३ सय ६ किलोमिटर निर्माण गर्न सकिन्छ । ७ सय ६६ मेगावाटभन्दा ठूलो विद्युत् परियोजना यही रकमबाट बनाउन सकिन्छ । तर, उत्पादनशील वा राष्ट्रिय महत्वका जलविद्युत्, स्वास्थ्य, शिक्षा, पर्यटन र कृषिमा भने कोषको बढीमा ५ प्रतिशत मात्रै लगानी गर्न सकिने नियम छ ।
के हो जीवन बिमा कोष ?
बिमा कम्पनीको आय–व्यय हिसाबको आम्दानीबाट प्रत्यक्ष खर्च घटाइसकेपछिको बचत रकम जीवन बिमा कोषमा जम्मा गरिन्छ । बिमांकीले बिमांकीय मूल्यांकन गरेपछि कम्पनीको भविष्यको दायित्व तथा बोनस रकम छुट्याएर बाँकी रहेको रकममध्ये ९० प्रतिशत जीवन बिमा कोषमा जम्मा गरिन्छ । १० प्रतिशत नाफा–नोक्सान खातामा जान्छ । यो कोषमा वैदेशिक रोजगार जीवन बिमाबाट संकलन भएको बिमा शुल्क जोडिएको हुँदैन ।
लगानीका क्षेत्रहरू
बिमा कम्पनीहरूलाई लगानी गर्नका लागि सरकारले निश्चित क्षेत्र छुट्याएको छ । ती क्षेत्रहरूलाई क, ख र ग वर्गमा विभाजन गरिएको छ । ‘क’ वर्गमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त ऋणपत्र–बचतपत्र पर्छ । यस क्षेत्रमा बिमा कम्पनीहरूले कुल कोषको २५ प्रतिशतमा नघट्ने गरी लगानी गर्नुपर्छ ।
विकास बैंकको मुद्दती निक्षेपमा भने १५ प्रतिशतमा नबढ्ने लगानी गर्न सकिनेछ । नागरिक लगानी कोषको एकांकी नागरिक लगानी योजना वा सामूहिक लगानी कोषमा कुल लगानी रकमको ५ प्रतिशतमा नबढ्ने गरी लगानी गर्न सकिने नियम छ । ‘क’ र ‘ख’ वर्गका क्षेत्रमा समग्रमा कम्पनीहरूले आफ्नो कुल लगानी रकमको ७० प्रतिशतमा नघट्ने गरी अनिवार्य रूपमा लगानी गर्नुपर्ने व्यवस्था छ ।
त्यसैगरी ‘ग’ वर्गमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको अग्राधिकार सेयरमा (साधारण सेयरमा परिणत नहुने), सुरक्षित डिवेन्चर र ऋणपत्रहरू, वित्त कम्पनीको मुद्दती निक्षेप, पब्लिक लिमिटेड कम्पनीको साधारण सेयर, उत्पादनशील वा राष्ट्रिय महत्वका क्षेत्र, इन्भेष्टमेन्ट कम्पनीको पर्छ ।
‘ग’ वर्गअन्र्तगत पर्ने वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको अग्राधिकार सेयरमा १० प्रतिशतमा नबढ्ने गरी लगानी गर्न सकिने व्यवस्था छ । वित्त कम्पनीको मुद्दती निक्षेपमा १० प्रतिशतमा नबढ्ने गरी लगानी गर्न सकिनेछ । पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा १० प्रतिशतमा नबढने गरी लगानी गर्न सकिने व्यवस्था छ । तर, उत्पादनशील वा राष्ट्रिय महत्वका क्षेत्र (जलविद्युत्, स्वास्थ्य, शिक्षा, पर्यटन र कृषि) ५ प्रतिशतमा नबढ्ने गरी लगानी गर्न सकिने व्यवस्था छ । इन्भेस्टमेन्ट कम्पनीको सेयरमा २ प्रतिशतमा नबढ्ने गरी लगानी गर्न सकिनेछ ।
मुद्दती खाता उचित विकल्प होइन 
चीरञ्जीवी चापागार्इं, अध्यक्ष, बिमा समिति
जीवन बिमा कोष आकार ठूलो भएको छ । तसर्थ, यसलाई उचित क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता भएको छ । तर, कम्पनीहरू अहिले वाणिज्य बैंकको मुद्दती खातामा नै आकर्षित छन् । अहिले बैंकहरूले राम्रो ब्याज प्रदान गरिरहेका छन् । त्यसैले, कम्पनीहरूले मुद्दती निक्षेपमा आकर्षित भएका हुन् । तर, दीर्घकालीन रूपमा यो उचित विकल्प भने होइन । तसर्थ, अब कम्पनीहरूको लगानी क्षेत्र परिवर्तन गर्नुपर्ने वेला भएको छ । यस विषयमा कम्पनीहरूको प्रमुख कार्यकारी अधिकृहरूसँग नै बसेर छलफल गर्ने योजनामा छु ।
सरकारी बन्ड जारी गरियोस्
विवेक झा, प्रमुख कार्यकारी अधिकृत, नेपाल लाइफ इन्स्योरेन्स
हामी सुरक्षित क्षेत्रमा लगानी गर्न चाहन्छौँ । यसका लागि बिमा कम्पनीहरूलाई लक्षित गरी सरकारले बन्ड जारी गरदिेओस् भन्ने चाहन्छौँ । कुनै आयोजनासँग सम्बन्धित सरकारी बन्ड बिमा कम्पनीको लागि भनेर नै जारी गर्नुपर्छ । अथवा कुनै सहायक कम्पनी स्थापना गरेर पनि लगानी गर्न सकिन्छ । तर, यस विषयमा हामी आफैँ पनि अन्योलमा छौँ । किनभने बिमा कम्पनीको काम बिमा व्यवसाय मात्र गर्ने हो । यदि बिमा कम्पनीले अन्य लगानीका काम पनि गर्न थाल्यो भने कम्पनी आफ्नो क्षेत्रबाट विचलित हुन सक्छ । फेरि बिमा कम्पनीले बिमा मात्रै गरेर पनि भएन । संकलन भएको रकम उचित क्षेत्रमा लगानी गरी राम्रो प्रतिफल प्राप्त गरी बिमित र लगानीकर्तालाई वितरण पनि गर्नुपर्नेछ । तसर्थ, यो बिषयमा बहस हुनु जरुरी छ ।
जीवन बिमा कम्पनीको दायित्व औसतमा १५ वर्षको हुन्छ । त्यसैले, हामी लामो अवधिको क्षेत्रमा लगानी गर्न चाहन्छौँ । समितिले लगानीका लागि निश्चित क्षेत्र पनि छुट्याएको छ । यसमध्ये अहिले हामीले वाणिज्य बैंकको मुद्दती खातालाई नै सुरक्षित मानेका छौँ । तसर्थ, हाम्रो लगानीको ६० प्रतिशत लगानी १० वर्षका लागि गरेका छौँ ।


No comments:

Post a Comment