Sunday, September 4, 2016

मोटर बिमा बाध्यता होइन आवश्यकता

मुना कुँवर
काठमाडौ : एउटा सुन्दर घर अनि आफ्नै निजी सवारी साधन । जसमा आफू र आफ्नो परिवारलाई घुमाउन पाइयोस् । आफूले चाहेको स्थानमा र समयमा सजिलै पुग्न सकियोस् भन्ने इच्छा कसको हुँदैन र ?
त्यसमा पनि काठमाडौंको जस्तो व्यस्त सडकमा सार्वजनिक यातायातमा यात्रा गर्नु त सजाय भोग्नु बराबर भइसक्यो । न त सुविस्ताले यात्रा गर्न पाइन्छ न त समयमा नै पुग्न सकिन्छ ।
त्यो पनि बिहान–बेलुकाको समयमा त गाडी पाउनै मुस्किल ।  पाइहाले पनि कि त ढोकामा झुन्डिनु पर्छ या त एउटा खुट्टाले उभिएर यात्रा गर्नुपर्छ । 
त्यसैले सहरी क्षेत्रमा बसोबास गर्ने व्यक्तिका लागि आफ्नै निजी साधन रहर हैन, आवश्यकता नै भइसक्यो । त्यसैले कर्जा लिएर नै किन नहोस् निजी साधन चढ्नेको संख्या बढ्दै गएको छ ।
तर, दैनिक जीवनमा सवारी साधनको प्रयोग गर्नु जति लाभदायिक छ त्यति नै चुनौती पनि छ । अवस्थित ट्राफिक, स्तरहीन सडक, पार्किङको असुविधा, असुरक्षा लगायतका कारणले सवारी साधनको प्रयोग चुनौतीपूर्ण छ । त्यसैले मोटर खरिद गरेर मात्रै पुग्दैन ।

त्यसको साथ साथै सुरक्षाका लागि बिमा पनि आवश्यक छ । मोटरको साथै आफ्नो आवश्यकताअनुसार बिमा योजना खरिद गर्नुपर्ने बताउँछन् सिद्धार्थ इन्स्योरेन्सका डेपुटी म्यानेजर सुबोध कर्माचार्य ।
“नेपालमा सवारी साधन दर्ता हुने क्रम बढ्दैछ । योसँगै दुर्घटना हुने क्रम पनि बढ्दै गएका छन् । त्यसैले आफ्नो सम्पत्तिको सुरक्षाका लागि बिमा गर्नुपर्छ,” उनले भने । 
के हो मोटर बिमा ? ​
यान्त्रिक शक्तिद्वारा सडकमा गुड्ने सवारी साधनहरू मोटरसाइकल, कार, जिप, ट्रक, बस, ट्याक्टर आदिमा हुन सक्ने सम्भावित जोखिमको सुरक्षण नै मोटर बिमा हो ।
सडक दुर्घटना, चोरी, हुलदंगा, बाढी, भूकम्पलगायतका कारणबाट मोटरमा हुने क्षतिबाट बच्नका लागि अपनाइने सुरक्षा नै मोटर बिमा हो । यस योजनाले विभिन्न कारणबाट सवारी साधन वा तेस्रो पक्षलाई हानी पुग्दा क्षतिपूर्ति भुक्तान गर्छ । 
मोटर बिमा विभिन्न प्रकारका छन् । जसमध्ये केहीलाई सरकारले अनिवार्य नै गरेको छ । भने केही सवारी धनीले आफ्नो आवश्यकअनुसार बिमा खरिद गर्न सक्छन् । 
मोटर बिमाका प्रकार
तेस्रो पक्ष बिमा :
आफ्नो सवारी साधनले अर्को सवारी साधन, व्यक्ति वा भौतिक सम्पत्तिलाई क्षति पु¥याएको अवस्थामा आई पर्ने आर्थिक जोखिम हस्तारन्तण गर्नुनै तेस्रो पक्ष बिमा हो ।
यस योजनाअनुसार आफ्नो सवारी साधनले अन्य साधन वा सम्पत्तिलाई हानी पु¥याएको अवस्थामा  तेस्रो पक्षलाई कम्पनीले नै दाबी भुक्तानी गर्छ । यस्तो अवस्थामा सवारी धनीले आर्थिक भार लिनुपर्दैन ।
तर, तेस्रो पक्ष बिमा नभएको अवस्थामा सवारी धनीले दुर्घटनामा भएको क्षतिको क्षतिपूर्ति भर्नुपर्छ । क्षतिपूर्ति भर्न नसकेको खण्डमा सजाय समेत भोग्नुपर्ने हुन्छ । 
त्यसैले तेस्रो पक्ष बिमालाई सरकारले अनिवार्य पनि गरेको छ । सडकमा दुर्घटना भएको अवस्थामा पीडित पक्षले सडक जाम गरी अन्य यात्रुलाई समेत दु ःख दिने हुँदा सरकारले ०६६ भदौ १ गतेदेखि तेस्रो पक्ष बिमा अनिवार्य गरेको हो ।
तेस्रो पक्ष बिमाबापत दुर्घटना भएको अवस्थामा पीडित पक्षले सजिलै भुक्तानी पाउँछन् । सवारी धनीले पनि आर्थिक समस्याबाट छुट्कारा पाउँछ । 
तेस्रो पक्ष बिमाले मोटरसाइकल दुर्घटना भई तेस्रो पक्षलाई क्षति पु¥याएको अवस्थामा अधिकतम २५ लाख रुपैयाँ र समानको क्षति भएमा अधिकतम २५ लाख रुपैयाँ भुक्तानी गर्छ ।
त्यस्तै, निजी गाडीले व्यक्ति वा समानमा क्षति पु¥याएमा अघिकतम ८०÷८० लाख रुपैयाँ भुक्तानी गर्छ । त्यस्तै, व्यावसायिक गाडी दुर्घटनामा अधिकतम ५०/५० लाख रुपैयाँ भुक्तानी गर्छ । 
प्याकेज बिमा :
दुर्घटनाको कारण आफ्नो मोटरमा हुने क्षतिसहित तेस्रो पक्षको बिमाको योजनालाई प्याकेज बिमा भनिन्छ । यस योजनाले तेस्रो पक्ष बिमा र आफ्नो मोटरको क्षतिलाई बेहोर्छ ।
जस्तै, सवारी साधन चोरी भएको अवस्थामा, बाढी पैरोमा परी क्षति भएमा, भूकम्पले क्षति पुगेमा, पार्किङमा राखेको अवस्थामा टुटफुट भएमा समेत यो योजनाले जोखिम बहन गर्छ ।
यसका साथै थप बिमाशुल्क तिरी हुलदंगा समेतको जोखिमसमेत कभर गर्न सकिन्छ । यसले आन्दोलन अथवा हुलदंगाका कारण मोटरमा क्षति पुगेमा कम्पनीले क्षतिपूर्ति भुक्तान गर्छ । 
यसै योजनाभित्र थप शुल्क तिरी सवारी चालक तथा अन्य कर्मचारीको बिमा, यात्रुपक्ष बिमासमेत गर्न सकिन्छ । सवारी चालक तथा अन्य कर्मचारी बिमाले मोटर दुर्घटना हुँदा तलबी चालक, सहचालक तथा अन्य कर्मचारीलाई शारीरिक क्षति पुगेको अवस्थामा बेहोर्नुपर्ने आर्थिक जोखिम बहन गर्छ । 
बिमा समितिको नयाँ व्यवस्थाअनुसार दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको अवस्थामा कम्पनीले ५/५ लाख रुपैयाँ भुक्तानी गर्छ भने उपचार खर्च ३ लाख भुक्तानी गर्छ ।
त्यस्तै, यात्रु बिमाले मोटरमा सवार यात्रुलाई लाग्न सक्ने चोटपटकको उपचार खर्च, दुर्घटनाको कारण यात्रुको मृत्यु वा अंगभंग भएमा बेहोर्नु पर्ने दायित्वबाट जोगाउँछ ।
यात्रु पक्ष बिमांक रकम बढाएर सरकारले हाल ५ लाख रुपैयाँ बनाएको छ भने मेडिकल खर्च ३ लाख रुपैयाँ पु¥याएको छ । यसअघि यात्रुपक्ष बिमांक रकम १ लाख रुपैयाँ मात्रै थियो । गत साउनदेखि यात्रुपक्ष बिमालाई समेत सरकारले अनिवार्य गरेको छ । 
त्यस्तै, मोटरसाइकलको हकमा पनि बिमा समितिले नयाँ व्यवस्था गरेको छ । मोटरसाइकल दुर्घटना हुँदा चालक र पछाडि बस्ने व्यक्तिको मृत्यु भएमा कम्पनीले ५/५ लाख रुपैयाँ भुक्तानी गर्छ ।
त्यस्तै उपचार खर्चबापत कम्पनीले ३/३ लाख रुपैयाँ भुक्तानी गर्छ । यसअघि चालक र पछाडि बस्नेको मृत्युमा भएमा कम्पनीले १/१ लाख रुपैयाँ भुक्तानी गथ्र्यो भने उपचार खर्चबापत ५/५ हजार रुपैयाँ मात्रै भुक्तानी गरिन्थ्यो । 

No comments:

Post a Comment