काठमाडौं : नेपालमा सञ्चालित बिमा कम्पनीका शाखा कार्यालय करिब १ हजारको हाराहारीमा पुगेका छन् । बिमा समितिको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७२/७३ को अन्त्यसम्ममा नेपालमा बिमा कम्पनीका शाखा कार्यालयको संख्या ९२८ पुगेको छ ।
तर, अधिकांश कम्पनीका शाखा कार्यालय सहर केन्द्रित रहेको बिमा समितिले जनाएको छ । नेपालमा पहिलो पटक सन् १९४७ मा नेपाल इन्स्योरेन्स कम्पनीको स्थापना भएको हो । त्यसपछि करिब ७ दशकको अवधिमा नेपालमा बिमा कम्पनीहरूको संख्या २६ पुगेको छ ।
तीमध्ये १७ वटा निर्जीवन बिमा कम्पनी छन् भने ९ वटा जीवन बिमा कम्पनी सञ्चालनमा छन् । कुल बिमा कम्पनीमध्ये जीवन र निर्जीवन गरी २ वटा सरकारी स्वामित्वका कम्पनी छन् । त्यस्तै, निजी क्षेत्रबाट १२ वटा निर्जीवन र ५ वटा जीवन गरी जम्मा १७ वटा कम्पनी सञ्चालित छन् ।
नेपालमा विदेशी बिमा कम्पनीले पनि आफ्नो शाखा सञ्चालन गर्न पाउने प्रावधान छ । सोअनुसार २ वटा निर्जीवन र एउटा जीवन बिमा गरी जम्मा ३ वटा विदेशी कम्पनीले शाखा सञ्चालन गरेका छन् ।
नेपालका बिमा कम्पनीमा विदेशी लगानीकर्ताले समेत लगानी गर्न सक्ने व्यवस्था छ । सोहीअनुसार २ वटा निर्जीवन र २ वटा जीवन गरी ४ वटा विदेशी साझेदारीका बिमा कम्पनी सञ्चालित छन् ।
सहरी क्षेत्रमा नै अधिकांश कारोबार हुने भएकाले निर्जीवन बिमा कम्पनी सहरी केन्द्रित भएको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले बताए ।
“जुन क्षेत्रमा माग बढी हुन्छ त्यही क्षेत्रमा स्वतः कम्पनीहरू बढी केन्द्रित हुन्छन्,” उनले भने । तर, जीवन बिमा कम्पनीहरू भने नेपालका अधिकांश जिल्लामा पुगिसकेको उनले बताए ।
जीवन बिमा कम्पनीमध्येको सबैभन्दा पुरानो राष्ट्रिय बिमा संस्थान (सन् १९६८) हो । बिमा समितिको तथ्यांकअनुसार हाल यो कम्पनीका ११ वटा शाखा कार्यलय सञ्चालनमा छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका सबैभन्दा धेरै शाखा छन् । यो कम्पनीका ११० वटा शाखा छन् ।
त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १०४ वटा शाखा सञ्चालनमा ल्याएको छ भने नेसनल लाइफ इन्स्योरेन्सले ९९, एसियन लाइफ इन्स्योरेन्सले ९३ वटा शाखा सञ्चालनमा ल्याएका छन् ।
निर्जीवन बिमा कम्पनीतर्फ शिखर इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सले सबैभन्दा धेरै शाखा स्थापना गरेका छन् । यी कम्पनीहरूका ३२/३२ शाखा छन् । त्यस्तै, एनएलजी इन्स्योरेन्सका ३०, प्रिमियर र प्रुडुन्सियल इन्स्योरेन्सका २५/२५ शाखा छन् ।
निर्जीवन बिमा कम्पनीलाई कृषि बिमा शाखा सञ्चालन गर्न बिमा समितिले अनिवार्य गरेको छ । कम्पनीलाई २०७१ सालमा जिल्ला नै तोकेर कृषि शाखा सञ्चालन गर्न समितिले निर्देशन दिएको हो । सोेहीअनुसार कम्पनीहरूले विभिन्न क्षेत्रमा कृषि शाखा सञ्चालन गर्दै आएका छन् ।
No comments:
Post a Comment