काठमाडौ : बिमा समितिले मोटर बिमामा गरेको नयाँ व्यवस्थाअनुसार बिमा समायोजन नगरेका विमितले साउन महिना (ग्रेस पिरियड) छुट पाउने भएका छन् ।
अर्थात् साउन महिनामा बिमा समायोजना नगरेका विमितले पनि दुर्घटना परेको अवस्थामा समितिको नयाँ व्यवस्थाअनुसार नै कम्पनीबाट भुक्तानी पाउनेछन् ।
महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत साउनभर काठमाडौं उपत्यकामा ५३४ वटा सवारी दुर्घटना भए । जसमा १० जनाको मृत्यु भयो भने १९ जना गम्भीर घाइते भए । त्यस्तै, ३५४ जना सामान्य घाइते भएको महाशाखाको तथ्यांकमा उल्लेख छ ।
साउन महिनाभरि नेपालको कुनै पनि क्षेत्रमा तपाईंको सवारी साधन दुर्घटना भएको छ ? जसबाट सवारी साधन, यात्रु, तेस्रो वा चालक दललाई क्षति पुगेको छ ?
तर, साउनमा बिमा समितिले गरेको नयाँ व्यवस्थाअनुसार तपार्इंले बिमा समायोजन गर्नुभएको छैन भने पनि बिमा कम्पनीहरूले नयाँ व्यवस्थाअनुसार तपाईंलाई बिमा दाबी भुक्तानी गर्नेछन् ।
बिमा समितिले चालू आर्थिक वर्षदेखि मोटर बिमा नयाँ व्यवस्थाहरू गरेको छ । जुन गत साउनदेखि लागू भएका छन् । सोअनुसार विमितहरूले आफ्नो सवारी साधनको पनि बिमा समायोजन गर्नुपर्नेछ ।
कानुनः साउन लागेपछि बिमा समायोजन नगरेका विमितले पुरानै व्यवस्था अनुसारको दाबी भुक्तानी पाउनुपर्ने हो । तर, समितिले साउन महिनालाई छुट दिन कम्पनीहरूलाई निर्देशन दिएको बिमा समितिका निर्देशक श्रीमान् कार्कीले बताए ।
“नयाँ व्यवस्था तुरुन्तै लागू भयो, जसले गर्दा विमितहरूले नयाँ बिमा समायोजन गर्ने समय नै पाएनन् । त्यसैले साउन महिनालाई छुट गर्न हामीले कम्पनीहरूलाई निर्देशन दिएका हौं,” उनले भने । जसअनुसार साउनभर बिमा समायोजन नगरेका विमितले पनि नयाँ व्यवस्थाअनुसार भुक्तानी पाउनेछन् ।
बिमा समितिले कुनै पनि व्यवस्था लागू गर्दा असारको अन्तिममा आएर मात्रै सूचना दिने गरेको सिद्धार्थ इन्स्योरेन्सका डेपुटी म्यानेजर सुबोध कर्माचार्यले गुनासो गरे ।
“अन्तिम समयमा आएर एकैपटक नयाँ व्यवस्था लागू गर्दा तयारी गर्ने समय नै पाइँदैन । विमितहरूले पनि तयारी हुने समय नै पाउँदैनन्,” उनले भने ।
मोटर बिमासम्बन्धी गरिएको नयाँ व्यवस्था पनि एकैपटक साउनदेखि कार्यान्वयनमा ल्याइयो । यसका लागि न त विमितले तयारी गर्न पाए न त कम्पनीले नै । त्यसैले विमितहरूलाई साउन महिना छुटका रूपमा दिइएको उनले बताए ।
ताकि सो अवधिमा उनीहरूले नयाँ व्यवस्थाअनुसार बिमा समायोजन गर्न सकुन् । तर, भदौमा दुर्घटना भएका विमितले बिमा समायोजन गरेका छैनन् भने पुरानो व्यवस्था अनुसारको भुक्तानी पाउने छन् ।
बिमा समितिले गरेको मोटर बिमासम्बन्धी नयाँ व्यवस्याअनुसार सवारी साधन दुर्घटनामा यात्रु पक्षको मृत्यु भएको खण्डमा बिमा कम्पनीले ५ लाख रुपैयाँ भुक्तानी गर्छ भने मेडिकल खर्चबापत ३ लाख रुपैयाँ भुक्तानी गर्छ ।
यसअघि भने यात्रु पक्षको मृत्यु भएको अवस्थामा कम्पनीले १ लाख रुपैयाँ र मेडिकल खर्च बापत पनि १ लाख रुपैयाँ मात्रै भुक्तानी गर्ने व्यवस्था थियो ।
दुर्घटना हुँदा यात्रु पक्षलाई पनि तेस्रो पक्ष बनाई कम्पनीहरूमा दाबी गर्नेको संख्या बढेपछि बिमा समितिले यात्रु पक्षको भुक्तानी रकम पनि तेस्रो पक्ष सरह बनाएको हो । यात्रु पक्ष बिमालाई गत साउनदेखि समितिले अनिवार्य गरेको छ ।
त्यस्तै, दुर्घटनामा सवारी चालक र सहचालकको मृत्यु भएको अवस्थामा कम्पनीले ५/५ लाख रुपैयाँ भुक्तानी गर्छ भने उपचार खर्च तिन लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने छ ।
त्यस्तै, मोटरसाइकलको हकमा पनि बिमा समितिले नयाँ व्यवस्था गरेको छ । मोटरसाइकलको व्यक्तिगत दुर्घटना हुँदा चालक र पछाडि बस्ने व्यक्तिको मृत्यु भएमा कम्पनीले ५/५ लाख रुपैयाँ भुक्तानी गर्छ ।
त्यस्तै उपचार खर्चबापत कम्पनीले ३/३ लाख रुपैयाँ भुक्तानी गर्छ । यसअघि भने चालक र पछाडि बस्नेको मृत्युमा भएमा कम्पनीले १/१ रुपैयाँ भुक्तानी गथ्र्यो भने उपचार खर्चबापत ५/५ हजार रुपैयाँ मात्रै भुक्तानी गरिन्थ्यो ।
मोटर बिमाअन्तर्गत आप्mनो सवारी साधनको, तेस्रो पक्ष, यात्रु पक्ष, चालक र सहचालकको बिमा गर्न गरिन्छ । सोमध्ये तेस्रो पक्ष बिमालाई सरकारले ०६६ साल भदौ १ गतेदेखि अनिवार्य गरेको हो ।
सडकमा सवारी साधन दुर्घटना हुँदा पीडित पक्षले सडक बन्द गरी अन्य यात्रुलाई समेत दुःख दिने भएकाले सरकारले तेस्रो पक्ष बिमालाई अनिवार्य गरेको हो ।
यसरी सवारी साधन दुर्घटना परी तेस्रो पक्षलाई क्षति पु¥याएमा मृत्युबापत ५ लाख रुपैयाँ र मेडिकल खर्चबापत ३ लाख रुपैयाँ कम्पनीले भुक्तानी गर्छ ।
तेस्रो पक्ष बिमा योजनाले मोटरसाइकल दुर्घटना भई तेस्रो पक्षलाई क्षति पु¥याएको अवस्थामा अधिकतम २५ लाख रुपैयाँ र समानको क्षति भएमा अधिकतम २५ लाख रुपैयाँ भुक्तानी गर्छ ।
त्यस्तै, निजी गाडीले व्यक्ति वा सामानमा क्षति पु¥याएमा अघिकतम ८०/८० लाख रुपैयाँ भुक्तानी गर्छ । त्यस्तै, व्यावसायिक गाडीहरूबाट भएको दुर्घटनामा यस्तो भुक्तानी रकम अधिकतम ५०/५० लाख रुपैयाँ छ ।
के हो बिमा समायोजन ?
बिमा समितिले गत साउनदेखि मोटर बिमासम्बन्धी नयाँ व्यवस्था गरेको छ । जसमा यात्रु पक्ष बिमाको बिमांक रकम बढाइएको छ । सोअनुसार स्वाभाविक रूपमा विमितहरूले भुक्तानी गर्नुपर्ने प्रिमियम रकम पनि बढेको छ ।
तर, केही बिमाको भने प्रिमियम रकम घटेको छ । जस्तै, सवारी साधनको चालक र सहचालकको बिमाबापत विमितहरूले पहिला ११ सय २५ रुपैयाँ प्रिमियम शुल्क बुझाउनु पथ्र्यो भने नयाँ व्यवस्थाअनुसार ७ सय भुक्तानी गरे पुग्छ ।
त्यस्तै, यात्रु पक्षको प्रिमियम शुल्क पनि बढेर ७ सय पुगेको छ । यसअघि भने प्रतिसिट २५० रुपैयाँ प्रिमियम रहेको थियो । मोटरसाइलकको प्रिमियममा भने ७५० रुपैयाँ बढेको छ ।
यसरी प्रिमियम रकमका भएको थपघटअनुसार विमितले बिमा समायोजन गर्नुपर्छ अर्थात् यात्रु पक्ष र मोटरसाइकल बिमाको प्रिमियम रकममा थप गर्नुपर्छ भने चालक र सहचालकको प्रिमियम रकम घटाउनुपर्छ ।
आफ्नो बिमाको प्रकृतिअनुसार विमितले बिमा समायोजन गर्नुपर्छ । बिमा समायोजना गर्दा विमितको बिमा योजना अवधिअनुसार रकम थप घट हुन्छ ।
जस्तै, यदि कुनै विमितको असोज महिनासम्म मात्रैको योजना अवधि छ भने उसले चार महिना (साउनदेखि असोज) को प्रिमियम मात्रै थप गरे पुग्छ ।
बिमा समायोजनका लागि विमित सम्बन्धित कम्पनीको नजिकको शाखा कार्यालयमा गएर नयाँ मोटर बिमा दरअनुसार बिमा समायोजन गर्न निवेदन दिनुपर्नेछ । विमितको बाँकी रहेको बिमा अवधि र प्रकृतिअनुसार कम्पनीले बिमा समायोजन गरिदिन्छ ।
एनबीको बिमाशुल्क आम्दानी ३५ करोडभन्दा बढी
आर्थिक वर्ष ०७२/७३ मा एनबी इन्स्योरेन्स कम्पनीले ३५ करोड ५ हजार रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । त्यस्तै, सो अवधिमा कम्पनीले २४ हजार ११४ बिमालेख जारी गरेको छ ।
कम्पनीको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले गत आवको अन्त्यसम्ममा २४ करोड ७६ लाख दाबी भुक्तानी गरेको छ ।
त्यस्तै, कम्पनीको परेको दाबीमध्ये ६८४ दाबीको भुक्तानी भइसकेको छ भने ९७९ वटा दाबी भुक्तानी हुन बाँकी छ । सो संख्या बराबर ६ करोड ५० लाख रकम भुक्तानी हुन बाँकी छ ।
No comments:
Post a Comment