काठमाडौं : नेपालमा सञ्चालित बिमा कम्पनीहरूमा विदेशी कम्पनीहरूको करिब ५६ करोड ४४ लाख रुपैयाँ लगानी रहेको छ । भारत, श्रीलंका, जर्मन तथा अमेरिकी कम्पनीले नेपाली बिमा कम्पनीहरूमा लगानी गरेका छन् ।
बिमा व्यवसायका लागि नेपाल अधिक सम्भावनाको क्षेत्र भएकाले विदेशी कम्पनीहरू लगानीका लागि आकर्षित रहेको बिमा समितिले बताएको छ ।
नेपालमा सञ्चालित बिमा कम्पनीमध्ये नेसनल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स कम्पनीमा विदेशी कम्पनीहरूले प्रत्यक्ष रूपमा लगानी गरेका छन् । सोमध्ये जीवन बिमा कम्पनीतर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) मा सबैभन्दा बढी विदेशी लगानी छ ।
उक्त कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन इन्डियाको ५५ प्रतिशत लगानी छ । ८५ करोड ५५ लाख चुक्ता पुँजी रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) भारतीय कम्पनीले ३८ करोड ५० लाख रुपैयाँ लगानी रहेको पाइएको छ ।
नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा भने अमेरिकन कम्पनी सिलिक कोटको २ प्रतिशत लगानी छ । १ अर्ब १ करोड चुक्ता पुँजी रहेको उक्त कम्पनीमा अमेरिकन कम्पनीले २ करोड ३ लाख लगानी गरेको छ ।
यस्तै, निर्जीबन बिमा कम्पनीतर्फ युनाइटेड इन्स्योरेन्स कम्पनीमा जर्मन कम्पनी कपुर जीएमबीएच तथा मोरगान रिड एन्ड सरमनको एक/एक प्रतिशत लगानी छ । उक्त कम्पनीको चुक्ता पुँजी १० करोड ८० लाख रहेकोमा जर्मन कम्पनीहरूले २१ लाख ६० हजार रुपैयाँ लगानी गरेका छन् ।
सगरमाथा इन्स्योरेन्स कम्पनीमा श्रीलंकको सिलिङको इन्स्योरेन्स कम्पनी २० प्रतिशत लगानी छ । ३५ करोड ६५ लाख चुक्ता पुँजी रहेको सगरमाथा इन्स्योरेन्स कम्पनीमा श्रीलंकाको कम्पनीले ७ करोड १३ लाख रुपैयाँ लगानी गरेको छ ।
बिमा ऐनअनुसार नेपालमा बिमा व्यवसाय गर्न चाहने स्वदेशी तथा विदेशी संगठित संस्थाले बिमा समितिमा बिमकको रूपमा दर्ता हुनुपर्नेछ । तर, नेपाली बिमा कम्पनीमा विदेशी लगानीसम्बन्धी स्पष्ट नीति भने छैन ।
तर, नेपालमा विदेशी लगानी भित्र्याउने राष्ट्रिय नीति नै भएको बिमा समितिका निर्देशक श्रीमान् कार्कीले बताए । “सोहीअनुरूप बिमा कम्पनीहरूमा पनि विदेशी लगानी भित्रिएको हो,” उनले भने ।
नेपालमा विदेशी लगानी भित्रिनु राम्रो भए पनि यी कम्पनीहरूको प्रत्यक्ष देखिने गरी कुनै पनि प्रगति भएको भने छैन । यद्यपि कम्पनीहरूले नयाँ–नयाँ बिमा योजनाहरू र प्रणाली भने भित्र्याएको समितिले बताएको छ ।
केही विदेशी कम्पनीले भने नेपालमा शाखा कार्यलय सञ्चालन गरेका छन् । मेटलाइफ एलिको अमेरिकी बिमा कम्पनीले नेपालमा पनि शाखा सञ्चालन गरेको छ । त्यस्तै, भारतीय बिमा कम्पनी दि ओरियण्टल तथा नेशनल इन्स्योरेन्स कम्पनीले पनि नेपालमा शाखा कार्यालय सञ्चालन गरेका छन् ।
No comments:
Post a Comment