काठमाडौं : बिमा अभिकर्ता पेसाबाट तपाईं महिनामा कतिसम्म कमाउने अनुमान गर्न सक्नुहुन्छ ? २० हजार ? ३० हजार ? ५० हजार ? यदि तपाईंले बिमा अभिकर्ता पेसालाई व्यावसायिक रूपमा अगाडि बढाउन सक्नुभयो भने महिनामा लाखौं रुपैयाँ पनि कमाउन सक्नुहुन्छ । तर, यसका लागि भने कडा मेहनतको आवश्यकता पर्छ ।
उसो त अभिकर्ता पेसाबाट महिनामा लाखौं आम्दानी गर्ने अभिकर्ता कयौं छन् । यही पेसाबाट अन्तरराष्ट्रियस्तरमा चर्चित पनि बनेका छन् नेपाली बिमा अभिकर्ता श्याम सिंह र अन्जान भण्डारी ।
विराटनगरवासी श्याम सिंह विगत १९ वर्षदेखि बिमा अभिकर्ता पेसामा संलग्न छन् । त्यस्तै, विगत ११ वर्षदेखि भने उनी लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) मा आबद्ध भएर काम गरिरहेका छन् । लाइफ इन्स्योरेन्स कम्पनी विश्वको २२ मुलुकमा सञ्चालित छ ।
कम्पनीले प्रत्येक वर्ष २२ मुलुकमा कार्यरत अभिकर्ताहरूमध्ये सबैभन्दा धेरै बिमांक रकमको बिमा योजना बिक्री गर्ने अभिकर्ता र सबैभन्दा धेरै संख्या बिमा योजना बिक्री गर्ने अभिकर्तालाई सम्मान गर्दै आएको छ । उनले गत वर्ष सबैभन्दा धेरै बिमालेख जारी गरी सबैभन्दा उत्कृष्ट अभिकर्ता बनेका छन् ।
गत वर्ष मात्रै उनले करिब १३ हजार ५०० बिमालेख बिक्री गरे । यो उनको सातौ पटक हो । अर्थात् विगत सात वर्षदेखि सिंह एलआईसी कम्पनीको सबैभन्दा बढी बिमालेख बिक्री गर्ने अभिकर्ताका रूपमा सम्मानित हुँदै आएका छन् । उनले प्रत्येक वर्ष आफ्नै रेकर्ड तोडेका छन् ।
सिंहले पहिलो पटक यो सफलता हात पार्दा ३ हजार ९८७ वटा बिमालेख जारी गरेका थिए । दोस्रो वर्ष ५ हजार ४०० तेस्रो वर्ष ७ हजार २००, चौथो वर्ष १० हजार ३००, पाँचौं वर्ष १८ हजार ९०० र अघिल्लो वर्ष उनले २१ हजार ५४७ वटा बिमालेख बिक्री गरेका थिए ।
“मैले प्रत्येक वर्ष आफैले बनाएको रेडर्कलाई तोड्दै आएको छु,” उनले भने । यसको मुख्य कारण भनेको एकोरोहो मेहनत नै हो । सिंहले मासिक लाखौ रकम आम्दानी गर्छन् । वार्षिक करोडौ रुपैयाँ आम्दानी गर्छन् । त्यस्तै आम्दानीबापत सरकारलाई लाखौं रकम कर पनि बुझाउँदै आएका छन् ।
तर, राम्रो आम्दानी भएकै कारण उनी यो पेसाबाट सन्तुष्ट भने भएका होइनन् । आफूले बिमा गरेका व्यक्तिको मृत्यु हुँदा आफैंले उसको परिवारलाई रकम भुक्तानी गर्न पाउँदा उनलाई बढी आनन्द लाग्छ रे । त्यसमा पनि घरको आम्दानी गर्ने व्यक्तिको मृत्यु हुँदा आम्दानी पनि सँगै जान्छ ।
तर, उनले भुक्तानी गरी दिएको रकमको उसको परिवार बिचल्ली हुनबाट बच्दा उनलाई सबैभन्दा बढी आनन्दको अनुभूति हुने बताउँछन् । “मर्नु र बाँच्नु त हाम्रो हातमा छैन । तर, परिवारमा परेको आर्थिक संकटलाई भने बिमाबाट जोगाउन सकिन्छ । मेरो कारणले गरिब परिवारलाई राहत पुगेको छ,” उनले भने ।
“यसले मलाई सबैभन्दा बढी सन्तुष्टि दिन्छ,” उनी भन्छन्, “पैसा त जुनसुकै पेसा गरेर पनि कमाउन सकिन्छ । तर, यो सन्तुष्टि बिमा अभिकर्ताबाट नै पाउन सकिन्छ ।”
त्यस्तै, गत वर्ष एलआईसी नेपाल कै अर्का अभिकर्ता अन्जान भण्डारीले सबैभन्दा धेरै रकमको बिमा गराएर उत्कृष्ट अभिकर्ता बनेका छन् । यसबापत उनीहरूलाई एलआईसी नेपालले सम्मान गरेको छ भने भारतीय कम्पनीले पनि सम्मान गर्ने भएको छ ।
२७ वर्षीय भण्डारी सिन्धुपाल्चोकका स्थायी बासिन्दा हुन् । तर, केही वर्षदेखि उनी काठमाडौंमा नै बसोबास गर्दै आएका छन् । भण्डारीले विगत पाँच वर्षदेखि बिमा अभिकर्ता पेसालाई पूर्णकालीन पेसाको रूपमा अपनाएका छन् ।
उनको कडा मेहनत र आफूप्रतिको विश्वास कारण आज उनी लाइफ इन्स्योरेन्स कम्पनीको उत्कृष्ट अभिकर्ता बन्न सफल भएको बताउँछन् । उनले गत वर्ष मात्रै १ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको बिमा योजना बिक्री गरेका छन् ।
यसलाई उनी आफ्नो मात्रै हैन मुलुकको नै सफलता ठान्छन् । एउटा नेपाली युवाले विश्वका ठूला २२ वटा मुलुकका अभिकर्तालाई पछि पार्दे अगाडि बढ्नु भनेको नेपालका लागि गौरवको विषय भएको उनले बताए ।
अभिकर्ता पेसा विश्वमा नै सबैभन्दा चुनौती पूर्ण कामको रूपमा हेरिन्छ । प्रत्येक दिन बिमा गर्न लागि अरूलाई प्रेरित गर्नु त्यति सहज भने छैन । बिमा गर्न अनुरोध गर्दा कतिपयले अपशब्द र गाली गलौंचसमेत गर्ने गरेको बिमा अभिकर्ताहरूको तितो अनुभव छ ।
“हामीलाई टाढाबाट देख्यो भने मानिस बाटो नै परिवर्तन गरी हिँड्छ,” एक अभिकर्ताले भने । बिमा गर्नु भनेको अनावश्यक खर्च गर्नु र अभिकर्ता आफ्नो स्वार्थका लागि पछि परेको भन्ने आम नेपालीको बुझाइ छ ।
त्यसमा पनि अभिकर्ताले बिमा गरेर मात्रै पनि हुँदैन । प्रत्येक पटक प्रिमियम शुल्क बुझाउन बिमितलाई झकझकाउनुपर्छ । यस्ता चुनौतीका बाबजुद पनि भण्डारीले गत वर्ष सर्वाधिक रकमको बिमा गराउन सफल भएका छन् ।
बिमा अभिकर्ता पेसाबाट नै भण्डारीले अहिले राम्रो आम्दानी गरिरहेका छन् । आफ्नो आम्दानीबाट सरकारलाई अहिलेसम्म करोडौं रुपैयाँ कर भुक्तानी गरी सकेका छन् । तर, यतिमा उनको सपना सकिएको छैन । उनी अझै अगाडि बढ्न चाहन्छन् ।
“विश्वमा नै उत्कृष्ट अभिकर्ता बन्न चाहन्छु,” उनी भन्छन् । बिमाका सबै विधामा उत्कृष्ट बनेर गिनिज बुकमा नै नाम लेखाउने उनको सपना छ । यसका लागि उनी आफ्नो काममा दधचित भएर लागेका छन् ।
विश्वमा नै सबैभन्दा बढी बिमा गराएर नेपाली अभिकर्ता सम्मानित हुनु भनेको देशकै इज्जतको कुरा भएको एलआईसी नेपालका उप–महाप्रबन्धक अभिजित घोष दस्तिदारले बताए । “नेपाली अभिकर्ताको कडा मेहनत कै कारण यो सम्भव भएको हो,” उनले भने ।
नेपाल बिमा लागी अत्यन्तै सम्भावित क्षेत्र हो । त्यसैले नेपालमा नै मेहनत गर्न सके नेपाली युवाहरू रोजगारीको लागि नै बिदेसिनु नपर्ने उनले बताए । बिमा समितिको तथ्यांकअनुसार नेपालमा हालसम्म २ लाख ३२ हजार ९४३ अभिकर्ताले लाइसेन्स लिइसकेका छन् ।
तर, त्यसमध्ये धेरै कम अभिकर्ता मात्रै सक्रिय रूपमा यस पेसामा संलग्न रहेको नेपाल बिमा अभिकर्ता एसोसिएसनका कार्यवाहक अध्यक्ष नन्दप्रसाद तिवारी बताउँछन् । लाइसेन्स लिएकामध्ये धेरै कमले मात्रै यसलाई व्यावसायिक पेसाको रूपमा अगाडि बढाएको उनले बताए ।
बिमा अभिकर्ताले बिमा गराएबापत कम्पनीबाट निश्चित रकम कमिसन पाउने व्यवस्था समितिले गरेको छ । त्यस्तै कम्पनीहरूले अभिकर्ताहरूलाई अन्य इन्सेन्टिभसमेत वितरण गर्दै आएका छन् । बिमाले मानिसको सम्भावित जोखिमलाई कम गराउँछ ।
यद्यपि मानिसहरू यसप्रति पनि सकारात्मक हुन सकेका छैनन् । त्यसैले मानिसलाई बिमा पनि आकिर्षत गराउन अभिकर्ताको महत्वपूर्ण भूमिका रहदै आएको छ । त्यसमा पनि नेपाल जस्तो मुलुकमा अभिकर्ताको भूमिका अपरिहार्य छ ।
No comments:
Post a Comment