कारोबार संवाददाता
काठमाडौं : बिमा समितिमा बिमा योजनासम्बन्धी गुनासो लिएर आउनेको संख्या बढ्न थालेको छ । विशेषगरी भूकम्पपछि समितिमा यस्ता गुनासा आउने क्रम बढेको हो । कतिपय विमितले फोनबाटै गुनासो गर्ने गरेको र कतिपय कार्यालयसम्म नै आइपुग्ने गरेको समितिले बताएको छ ।
बिमासम्बन्धी कुनै पनि समस्या भएमा बिमा समितिमा उजुरी गर्न सकिने व्यवस्था छ । कम्पनी वा विमितबाट परेका उजुरीलाई समितिकै इजलासले छलफल गरी निर्णय गर्छ । समितिले गरेको निर्णय चित्त नबुझेमा पुनरावेदन अदालत जान सकिने व्यवस्था छ ।
समितिमा उजुरी गर्ने व्यवस्था रहे पनि केही समयअघिसम्म बिमासम्बन्धी गुनासो आउने क्रम भने न्यून थियो । कहिलेकाहीँ समितिमा विमितहरू गुनासो लिएर आइपुग्थे । तर, भूकम्पपछि बिमा समस्यासम्बन्धी सोधपुछ गर्न आउनेको संख्या बढेको बिमा समितिका उपनिर्देशक आजकुमार अर्यालले बताए ।
“दैनिक औसतमा पाँचदेखि सात जनासम्म समितिको कार्यालयमै गुनासो लिएर आइपुग्छन् । कहिलेकाहीँ यो संख्या बढी पनि हुन्छ,” उनले भने । त्यस्तै फोनबाटै गुनासो गर्नेको संख्या पनि उत्तिकै रहेको उनले बताए ।
समितिमा फोनबाट गुनासो गर्नेलाई फोनबाटै समस्या सुल्झाउने गरेको समितिका उप–निर्देशक अर्यालले बताए । “सामान्य खालको समस्या रहेछ भने हामी तुरुन्तै कम्पनीको सम्बन्धित व्यक्तिलाई फोन गरेर, समस्या सम्बोधन गर्न निर्देशन दिन्छौं,” उनले भने, “यदि ठूलो समस्या रहेछ भने फेरि उजुरी कै प्रक्रियामा जान्छौं ।”
बिमा समितिमा आउने अधिकांश गुनासोमा विमितहरूको कम्पनीले दाबी गर्न ढिलाइ गरेको, सर्भेयरले कम मूल्यांकन गरेको लगायतका छन् । त्यसमा पनि मोटर बिमासम्बन्धी दाबी भुक्तानीका गुनासो बढी आउने गरेका छन् ।
त्यस्तै, कतिपय अवस्थामा विमित आफैं दाबी गर्ने प्रक्रिया थाहा नभएर अलमलमा परेरसमेत फोन गर्ने गरेको समितिले बताएको छ । भूकम्पपछि परेको उजुरीलाई सम्बोधन गर्न समितिले सुपर फास्ट ट्र्याक विधि अपनाएको थियो ।
महाविपत्तिको अवस्थाबाट गुज्रिएका विमितले थप झन्झट बेहोर्न नपरोस् भनेर समितिले फास्ट ट्र्याक प्रक्रिया अपनाएको हो । यो प्रक्रिया अनुसार १५ दिनमा उजुरीको सुनुवाइ गरिने व्यवस्था छ ।
No comments:
Post a Comment