Monday, September 12, 2016

कृषि बिमा ८८ प्रतिशतले बढ्यो, ५ अर्ब ९९ करोडको कृषि बिमालेख

मुना कुँवर
काठमाडौं : बिमा समितिले बिमकहरूलाई जिल्ला नै तोकेर कृषि बिमा गर्न निर्देशन दिएपछि एक वर्षमै झण्डै दोब्बरले बढेको छ । बिमा समितिको तथ्यांकअनुसार बिमांकको आधारमा गत आर्थिक वर्ष २०७२/७३ मा कृषि बिमा ८८ प्रतिशतले बढेको छ । 
समितिका अनुसार गत आवको अन्त्यसम्ममा कम्पनीहरूले ५ अर्ब ९९ करोड रुपैयाँ बराबरको कृषि बिमालेख जारी गरेका छन् । अघिल्लो आव २०७१/७२ को सोही अवधिमा भने कम्पनीहरूले ३ अर्ब १८ करोड बराबरको कृषि बिमा बिक्री गरेको तथ्यांकले देखाएको छ । 
गत आवमा बिक्री भएको कृषि बिमालेखवापत कम्पनीहरूले २४ करोड ८७ लाख बिमाशुल्क आम्दानी गरेका छन् भने १४ करोड ८६ लाख बराबरको कम्पनीहरूमा कृषि बिमा दाबी परेको छ । उक्त अवधिमा कृषि बिमाका लागि कम्पनीहरूलाई सरकारले १८ करोड ६५ लाख बराबरको अनुदान रकम वितरण गरेको छ । 
नेपालको कृषि क्षेत्रलाई व्यावसायीकरण गर्न कृषि विकास मन्त्रालयले २०६९ माघ  १ गतेदेखि कृषि बिमा कार्यक्रमको सुरुवात गरेको हो ।

मन्त्रालयले सुरुवात गरेको कार्यक्रमलाई अगाडि बढाउँदै बिमा समितिले आव २०७०/७१ देखि कृषि तथा पशुबिमालाई अनिवार्य गरेको हो । यद्यपि बिमकहरू कृषि बिमाप्रति उदासीन देखिएपछि समितिले २०७१ फागुनमा नै कम्पनीहरूलाई जिल्ला नै तोकेर कृषि बिमा गर्न निर्देशन दिएको थियो ।
त्यस्तै, कृषि बिमाप्रति कृषकहरूलाई प्रेरित गर्न सरकारले अनुदान रकमको समेत व्यवस्था गरेको छ । सुरुवातमा ५० प्रतिशत अनुदान दिँदै आएको सरकारले आव २०७१/७२ देखि भने ७५ प्रतिशत अनुदान वितरण गरेको छ । 
समितिले अनिवार्य गरेपछि प्रत्येक वर्ष कृषि बिमा व्यवसाय बढ्दै गएको छ । बिमासम्बन्धी कृषकहरू सचेत हुँदै जाँदा कृषि बिमा व्यवसाय पनि बढ्दै गएको बिमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले बताए ।
“कृषि बिमामा सरकारले अनुदानको पनि व्यवस्था गरेको छ, यसले धेरै कृषकहरू लाभान्वित भएका छन्,” उनले भने । तर, अझै पनि कृषि बिमासम्बन्धी पर्याप्त मात्रामा प्रचार प्रसार हुन नसकेको समितिले बताएको छ ।
त्यस्तै, कृषि पेशा व्यावसायीकरण हुन नसक्नु, नेपालको विकट भौगोलिक अवस्था, अनुदान रकम वितरण ढिलाइजस्ता समस्या कृषि बिमामा यथावत रहेको समितिले बताएको छ । 
समितिको तथ्यांकअनुुसार गत आवमा ४३ करोड ८७ लाख बराबरको बाली भएको छ भने सो अवधिमा कम्पनीहरूले बालीवापत २ करोड १६ लाख बराबरको बिमाशुल्क आम्दानी गरेका छन् ।
त्यस्तै, कम्पनीहरूले २९ करोड ५८ हजार बराबरको माछा बिमा गरेका छन् । यसवापत ६३ लाख ३२ हजार रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् ।
कम्पनीहरूले ४ अर्ब ७० करोड बराबरको पशु बिमा गरेका छन् भने सोवापत २३ करोड २९ लाख बिमाशुल्क आम्दानी गरेका छन् ।
त्यस्तै, गत आवमा कम्पनीहरूले ५६ करोड बराबरको पन्छी बिमा गरेको छ । पन्छी बिमावापत कम्पनीहरूले १ करोड ५७ लाख बिमाशुल्क आम्दानी गरेका छन् । 
गत वर्ष समितिले कृषि बिमाअन्तर्गत मौसम सूचांक बिमालेख (स्याउ) जारी गरेको छ । त्यस्तै, विज वृद्धि बिमालेख, केराखेती बिमालेख, च्याउखेती बिमालेख, अस्ट्रिच बिमालेख र मौरी बिमालेख जारी गरेको छ ।
त्यस्तै, बिमकहरूद्वारा जिल्ला कृषि कार्यालय, पशु सेवा कार्यालय तालिम प्रदान गरिएको छ भने समितिले काठमाडौं, भैरहवा र विराटनगरमा समेत तालिम प्रदान गरेको छ । 
 

No comments:

Post a Comment