मुना कुँवर
काठमाडौं : जीवन बिमा कम्पनीहरूले बिमितहरूलाई विरतण गर्दै आएको बोनसदर गत आर्थिक वर्षमा स्थिर देखिएको छ । कम्पनीहरूले बिमा समितिमा प्रस्ताव गरेको अनुमानित बोनसदरअनुसार विगत तीन वर्षको अवधिमा जीवन बिमा कम्पनीहरूको बोनसदर स्थिर देखिएको हो ।
प्रस्ताव गरेको बोनसदर नै पारित भएमा अघिल्लो आव २०७१/७२ को तुलनामा गत आवमा नेसनल लाइफ इन्योरेन्स कम्पनीको बोनसदर बढ्नेछ भने आव २०७०/७१ को तुलनामा मेटलाइफ इन्स्योरेन्स कम्पनीको बोनसदर घट्ने भएको छ ।
कम्पनीहरूको अनुमानित बोनसदर समितिबाट स्वीकृत भएमा गत आवमा सबैभन्दा बढी बोनसदर वितरण गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रपंक्तिमा रहनेछ ।
कम्पनीको योजनाअनुसार प्रतिहजार प्रतिवर्ष न्यूनतम ६२ देखि अधिकत्तम ८२ रुपैयाँसम्म बोनस वितरण गर्ने अनुमान गरेको छ । कम्पनीले विगत लामो समयदेखि सोही दरमा बोनस वितरण गर्दै आएको छ ।
अधिक बोनस वितरण गर्ने कम्पनीमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा छ । उक्त कम्पनीले गत आवका लागि योजनाअनुसार प्रतिहजार वार्षिक न्यूनतम ६१ देखि अधिकतम ८० रुपैयाँसम्म बोनस प्रस्ताव गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा पाँच रुपैयाँ बढी हो ।
जीवन बिमा कम्पनीहरूले नाफाको आधारमा बोनसदर घोषणा गर्छन् । कम्पनीले आम्दानी गरेको वार्षिक कुल नाफामध्ये ९० प्रतिशत रकम बिमितहरूलाई वितरण गरिन्छ भने १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गरिन्छ ।
यस्तो बोनसदर कम्पनीहरूले आर्थिक वर्ष सकिएपछि वार्षिक रूपमा घोषणा गर्दछन् । कम्पनीहरूले बोनसदर प्रतिहजारका दरले वितरण गर्छन् । कम्पनीहरूको बोनसदरले कम्पनीको आर्थिक अवस्थालाई दर्शाउँछ ।
कम्पनीले प्रत्येक वर्ष बोनसदर बढाउँदै लैजाउनुपर्छ । बोनसदर घटेमा कम्पनीप्रति बिमितहरूको विश्वास कम हुन्छ । त्यसैले कम्पनीहरूले हतपत्त बोनसदर नबढाउने बिमा समितिका सहायक निर्देशक मञ्जु थापाले बताइन् ।
पहिलो वर्ष बोनसदर ह्वातै बढाएर अर्को वर्ष घटाउनुभन्दा विस्तारै बढाउँदै लैजानु उपयुक्त हुने बिमा कम्पनीको ठहर छ ।
कम्पनीले प्रत्येक आर्थिक वर्षको अन्त्यमा लेखापरीक्षण नगरिएको वित्तीय विवरण प्रकाशित गरेसँगै अनुमानित बोनसदर प्रस्ताव गर्दछन् । विवरणको लेखापरीक्षण पछि निस्किएको बोनसदर पुनः समितिमा प्रस्ताव गरिन्छ ।
समितिले उक्त प्रस्तावित बोनसदर स्वीकृति गरेपछि कम्पनीहरूले पत्रपत्रिकामा प्रकाशित गर्दछन् । त्यसैले कहिलेकाहीँ प्रस्तावित अनुमानित बोनसदरमा परिवर्तन हुनसक्छ । कम्पनीहरूले आर्थिक वर्ष सकिएको दश महिनासम्ममा अन्तिम बोनसदर प्रस्ताव गरिसक्नु पर्नेछ ।
तर, अधिकांश कम्पनीहरूले आव २०७१/७२ को अन्तिम बोनसदरसमेत घोषणा गरेका छैनन् । कम्पनीले जम्मा दुई वटा कम्पनीको बोनसदर मात्रै स्वीकृत गरेको छ ।
बाँकी कम्पनीहरूको अझै पनि स्वीकृत हुन सकेको छैन । त्यस्तै लामो समयपछि प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको लागि बोनसदर प्रस्ताव गरेको छ ।
No comments:
Post a Comment