Sunday, August 28, 2016

सम्पत्तिको सुरक्षाका लागि निर्जीवन बिमा

मुना कुँवर 
काठमाडौं : गत वर्ष गएको भूकम्पले देशभरका लाखौं घरमा क्षति पुग्यो । कुनै घर पूर्ण रूपमा भत्किए त कुनैमा आंशिक क्षति पुग्यो । राष्ट्रिय योजना आयोगले गरेको अध्ययनअनुसार भूकम्पले करिब ७ खर्ब रुपैयाँको क्षति भयो ।
अध्ययनअनुसार आवास र मानव बसोबासमा मात्रै ३ खर्ब ३ अर्ब ६३ करोड रुपैयाँबराबरको क्षति भयो भने ४६ अर्ब ३८ करोड रुपैयाँ बराबरको अन्य नोक्सानी भयो । 
उद्योग र वाणिज्यतर्फ १७ अर्ब ४० करोड रुपैयाँबराबरको क्षति भयो भने १६ अर्ब ८४ करोडबराबरको नोक्सानी भयो । त्यस्तै, १६ अर्ब ९० करोडबराबरको सांस्कृतिक सम्पदाको क्षति भयो भने २ अर्ब ३१ करोडबराबरको नोक्सानी भयो ।
१६ अर्ब ४० करोडबराबरको कृषिमा क्षति भयो भने ११ अर्ब ९६ करोडको नोक्सानी भयो । त्यस्तै, ३ अर्ब ३४ करोड बराबरको सामुदायिक पूर्वाधारको क्षति भएको अध्ययनले देखाएको छ । क्षति भएका सम्पत्तिको पुनर्निर्माणका लागि ८ खर्बभन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ । 

यो त एउटा प्राकृतिक प्रकोपले पारेको क्षतिको विवरणमात्रै हो । यस्तो विपत् नेपालमा कुनै पनि बेला आइपर्न सक्छ । नेपालको विकट भौगोलिक बनावटका कारण सडक दुर्घटना, बाढीपहिरो, आगलागी, भूकम्पजस्ता विपत् सामान्य भइसकेका छन् ।
यस्ता दुर्घटनाबाट हुने क्षतिका कारण अधिकांश सामान्य व्यक्तिहरु सबैभन्दा बढी आर्थिक संकटमा पर्छन् । र, अन्ततः सरकारको सहयोगको अपेक्षा गर्छन् । 
त्यसैले यस्ता आर्थिक संकट परेको समयमा कसैको मुख ताक्नुभन्दा दुर्घटनाको पहिला नै आंकलन गरी बिमा गरिनु बुद्धिमानी हुन्छ । बिमाले यस्तो विपत्को समयमा आर्थिक समस्याबाट जोगाउँछ । 
आफ्नो सम्पत्तिको जोखिमको अवस्थाअनुसार बिमा गर्न सकिने लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत विनोदकाजी श्रेष्ठ बताउँछन् । बिमा अवधिमा उक्त सम्पत्ति कुनै कारणले क्षति भएमा कम्पनीले दाबी भुक्तानी गर्छ । यसरी सम्पत्तिको बिमा गरिनुलाई निर्जीवन बिमा भनिन्छ । 
यसअन्तर्गत घर, गोदाम, सवारीसाधन, उद्योग, कारखानालगायत चल/अचल सम्पत्तिको बिमा गरिन्छ । यस किसिमका बिमाअन्तर्गत दुर्घटना, औषधोपचार खर्च, तेस्रो पक्ष, दोस्रो पक्ष, उत्पादन दायित्व, विदेश यात्रा पर्ने जोखिम, पशु, बालीलगायतको बिमा गर्न सकिन्छ ।
भूकम्प, बाढी, आगलागी, दुर्घटनालगायत जोखिमबाट आफ्नो सम्पत्तिको सुरक्षा गर्न बिमा गर्न सकिन्छ । 
निर्जीवन बिमाले मानिसलाई आर्थिक सुरक्षा प्रदान गर्छ । थोरै रकम खर्च गरेर ठूलो जोखिमको सुरक्षा गर्न सकिन्छ । अर्थात् थोरै पैसाले करौडौंको सम्पत्तिको सुरक्षा गर्न सकिन्छ । बिमा गरिएको अवधिमा बिमा गरिएको सम्पत्तिमा क्षति पुगेमा कम्पनीले बिमांक रकम प्रदान गर्छ ।
कुनै दुर्घटनाको कारण मानिसको सम्पत्ति पूर्ण क्षति भयो भने पनि बिमा कम्पनीले भुक्तान गर्ने रकमले मानिसले पुनः सम्पत्ति खरिद गर्न सक्छ । त्यसैले मानवीय जिवनको लागि निर्जीवन बिमा महत्वपूर्ण रहेको पेशागत बिमा अभिकर्ता संघका कार्यवाहक अध्यक्ष नन्दप्रसाद तिवारी बताउँछन् ।
“घटनापछि टाउको समात्नु भन्दा पहिले नै जोखिम हस्तान्तरण गर्नु उचित हुन्छ,” उनले भने । यस्तो खालको बिमा गर्दा बिमा अवधिभर सम्पत्तिमा कुनै पनि प्रकारको क्षति नपुगेमा कम्पनीले भुक्तानी गर्दैन । 
नेपालमा हाल १७ वटा जीवन बिमा कम्पनीहरु सञ्चालित छन् । यी कम्पनीहरुले विभिन्न खालका निर्जीवन बिमा योजनाहरु बजारमा ल्याएका छन् । मानिसले आफ्नो आवश्यकताअनुसार यस्ता खालका योजना खरिद गर्न सक्दछन् । 
अग्नि बिमा
ज्वाला प्रस्फुटित भई दुर्घटना हुनुलाई अग्नि भनिन्छ । यस्तो अग्निबाट हुने सम्पत्तिको क्षतिलाई कम गराउन गरिने बिमा नै अग्नि बिमा हो । यस बिमाअनुसार अग्निको कारणले बिमा गरिएको भौतिक सम्पत्तिको क्षति भएको अवस्थामा कम्पनीले दाबी भुक्तानी गर्छ ।
अग्नि बिमाको दाबीको लागि आगलागी दुर्घटनावश भएको हुनुपर्छ । जानाजानी आगो लगाई सम्पत्ति नष्ट गरेर दाबी लिन पाइँदैन । त्यस्तै, आगोको ज्वाला निस्केर नै आगलागी भएको हुनुपर्छ । 
सामुन्द्रिक बिमा
मालसामान एक ठाउँबाट अर्को ठाउँमा लैजाने क्रममा सडक, रेल, हवाई वा सामुन्द्रिक मार्गको प्रयोग गर्न सकिन्छ । जुनसुकै माध्यमको प्रयोग गरेर भए पनि सामान ओसारपोसार गर्ने क्रममा दुर्घटना भई सामानको क्षति हुनबाट जोगिन गरिने बिमालाई नै सामुन्द्रिक बिमा भनिन्छ । 
हवाई बिमा 
हवाईजहाज दुर्घटना भई हुन सक्ने क्षतिबाट जोगिन गरिने बिमा नै हवाई बिमा हो । 
मोटर बिमा 
सवारीसाधन दुर्घटना भई हुने सक्ने आर्थिक क्षतिलाई कम गराउने गरिने बिमा नै मोटर बिमा हो । यसअन्तर्गत तेस्रो पक्ष र दोस्रो पक्षको पनि बिमा गर्न सकिन्छ । तेस्रो पक्ष बिमालाई सरकारले अनिवार्य गरेको छ । 
इन्जिनियरिङ बिमा 
कुनै पनि भौतिक संरचना निर्माण गर्दा विभिन्न खालका दुर्घटना हुन सक्छन् । जस्तै, निर्माण सामग्री आयात गर्दा विभिन्न कारणले क्षति हुन सक्छ । त्यस्तै, निर्माणाधीन संरचना पनि बाढीपहिरो वा भूकम्पका कारणले क्षतिग्रस्त हुन सक्छन् । यस्ता खालका क्षतिबाट जोगिन गरिने बिमा नै इन्जिनियरिङ बिमा हो ।
 

No comments:

Post a Comment