Thursday, August 18, 2016

तेस्रो पक्ष बिमाको भुक्तानी पाउन कठिन

मुना कुँवर 
काठमाडौं, २ भदौ । निर्जीवन बिमा कम्पनीहरूले तेस्रो पक्ष बिमा दाबीको भुक्तानी गर्न आनाकानी गर्ने गरेको बिमितहरूले बताएका छन् । अनेकौं कानुनी प्रावधान तेस्र्याउँदै बिमितलाई दुःख दिने गरेको उनीहरूले गुनासो गरेका छन् । झन्झटिलो भुक्तानी प्रक्रियाका कारण कतिपय बिमितले प्रक्रिया नै पूरा नगरी बीचैमा छाड्ने गरेका छन् ।
सडक दुर्घटनाको क्रम बढेसँगै सरकारले सवारी साधनको तेस्रो पक्ष बिमालाई अनिवार्य गरेको हो, जसअनुसार नयाँ सवारी साधन दर्ता गर्दा वा नवीकरण गर्दा अनिवार्य रूपमा तेस्रो पक्ष बिमा गरेको हुनुपर्ने प्रावधान राखिएको छ । तर, यसलाई बिमितहरूले कानुनी प्रक्रियाका रूपमा मात्रै पूरा गर्ने गरेको पाइएको छ ।
नयाँ सवारी साधन दर्ता गर्न वा नवीकरण गर्न आउने अधिकांश बिमितले यसलाई ‘कानुनी दबाब’का रूपमा मात्रै लिने गरेकोे यातायात व्यवस्था कार्यालय बाग्मती मोटरसाइकलमा कार्यरत एक बिमा अभिकर्ताले बताए । “केही बिमितले भने स्वतःस्फूर्त रूपमा पनि बिमा गर्छन्, तर यसरी बिमा गर्नेको संख्या नगग्य छ,” उनले भने । 

बिमा गर्ने धेरै बिमितलाई उक्त बिमाको प्रयोजनसमेत थाहा नभएको पाइएको छ । नवीकरण गर्दा बिमा नगरी नहुने भएकाले आफूले बिमा गरेको यातायात व्यवस्था कार्यालय बाग्मती सातदोबाटोमा भेटिएकी मीना गुरुङले बताइन् । “खोइ, बिमा ग¥यो भने पछि फाइदा हुन्छ रे, तर कस्तो फाइदा हो थाहा भएन,” उनले भनिन् ।
त्यस्तै, नयाँ मोटरसाइकल दर्ता गर्न आएका सन्देश रम्तेलले बिमा गर्नु बाध्यता भएको बताए । “दुर्घटना प¥यो भने पनि कम्पनीले पैसा दिने होइनन् होला,” उनले भने, “यो त कम्पनीको आम्दानी बढाउने मेलो मात्र होे ।” 
तर, बिमा कम्पनीहरूले बिमितहरूले भनेजस्तो तेस्रो पक्ष दाबी प्रक्रिया झन्झटिलो नभएको बताउँछन् । कुनै बिमाको दाबी भुक्तानी गर्दा केही निश्चित प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ । तेस्रो पक्षको बिमा दाबी परेको अवस्थामा दुर्घटनाको प्रहरी रिपोर्ट र चिकित्सकको रिपोर्ट नआएसम्म भुक्तानी गर्न नमिल्ने सिद्धार्थ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदावर क्षेत्रीले बताए ।
“१० लाख दाबी गर्ने बिमितले पनि त्यही प्रक्रिया पूरा गर्नुपर्छ र २० हजार दाबी गर्नेले पनि सोही प्रक्रिया पूरा गर्नुपर्छ,” उनले भने, “२० हजार रुपैयाँ दाबी गर्नेलाई यो प्रक्रिया झन्झटिलो लाग्छ । तर, थोरै रकम भुक्तानी गर्ने हो भन्दैमा प्रक्रिया पूरा नगरी भुक्तानी गर्न मिल्दैन ।”
त्यसैले बिमितहरूले पनि कानुनी प्रक्रियालाई सरल रूपमा लिएर प्रक्रिया पूरा गरेर मात्रै दाबी गर्नुपर्ने उनको सुझाव छ । तर, केही बिमितमा भने बिमाले गर्ने भुक्तानी रकम र प्रक्रियाको विषयमा गलत बुझाइ भएका कारण भुक्तानीको विषयमा नकारात्मक धारणा रहेको हुन सक्ने उनले बताए । 
तेस्रो पक्ष बिमा भनेको सवारी साधन दुर्घटना हुँदा सवारी साधनले ठक्कर दिएर क्षति पुगेको मानव वा सम्पत्तिको बिमा हो । दुर्घटनाले अर्को पक्षलाई क्षति पु¥याएको अवस्थामा थप आर्थिक भार पर्ने भएकाले त्यसलाई कम गर्न सरकारले तेस्रो पक्ष बिमालाई अनिवार्य गरेको हो । यसले बिमित, तेस्रो पक्ष र कम्पनीको समेत हित गर्छ ।

No comments:

Post a Comment