चिरायु भण्डारी
प्रमुख कार्यकारी अधिकृत
नेपाल पुनर्बिमा कम्पनी
प्रमुख कार्यकारी अधिकृत
नेपाल पुनर्बिमा कम्पनी
बिमा क्षेत्रको लामो अनुभव बटुलेका चिरायु भण्डारीले २०७२ सालदेखि नेपाल पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका छन् । करिब तीन दशक लामो बिमा क्षेत्रको अनुभव सँगालेका भण्डारीले यसअघि विभिन्न बिमा कम्पनीमा काम गरिसकेका छन् । भण्डारी २०३४ सालदेखि बिमा क्षेत्रमा प्रवेश गरेका हुन् ।
करिब नौ वर्ष बिमा संस्थानमा काम गरेपछि भण्डारी २०४६ सालदेखि भने नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध भए । नेसनल लाइफ इन्स्योरेन्समा २५ वर्ष काम गरेपछि उनी पुनर्बिमा कम्पनीमा प्रमुख पदका लागि नियुक्त भएका हुन् । पूर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर उपाधि हासिल गरेका भण्डारीले भारतबाट लाइसेन्स सेटको अध्ययन पनि पूरा गरिसकेका छन् ।
लामो समय बिमा क्षेत्रमा बिताएका भण्डारी नेपालमा अझै पनि बिमासम्बन्धी चेतना र इमान्दारिता नहुँदा बिमा व्यवसाय अगाडि बढ्न नसकेको धारणा राख्दछन् । उनै भण्डारीसँग कारोबारकर्मी मुना कुँवरले गरेको कुराकानी :
पुनर्बिमा कम्पनी स्थापना भएको पनि दुई वर्ष भयो, तर जति व्यवसाय बढ्नु पर्ने हो त्यति हुन नसक्नुको कारण के हो ?
यहाँले भनेको कुरा एकदम ठीक हो । हामीले पुनर्बिमा व्यवसाय सुरु गरेको गत वर्ष २०७२ साउनदेखि हो । तर, त्यतिबेला बिमा कम्पनीहरूकोे ट्रिटी (पुनर्बिमा सम्झौता) भइसकेको थियो । कम्पनीहरूले साउनभन्दा पहिला नै ट्रिट्री गरी सक्छन् ।
त्यसैले हामीले व्यवसाय सुरु गर्नुभन्दा पहिला कम्पनीहरूले ट्रिटी गरिसकेकाले हामीले कम्पनीहरूसँग बिमा सम्झौता गर्न सकेनौं । तर, कम्पनीहरूसँग ५ प्रतिशत प्रत्यक्ष हिसाबले पुनर्बिमा गरेका छौं । अहिले आएर हामीले ५ प्रतिशतभन्दा बढी १० प्रतिशतसम्म प्रत्यक्ष हिसाबले लिएर ट्रिटीमा समावेश भएका छौं ।
पुनर्बिमा व्यवसायले एकै पटक जम्प गर्ने होइन । यो विस्तारै बढ्छ । त्यसैले हाम्रो व्यवसाय खासै कम त होइन । जेहोस् अहिलेको प्रतिस्पर्धाको अवस्थामा पुनर्बिमाको व्यवसाय राम्रो नै छ । एउटा कुरा विश्वास पनि हो । अर्को कुरा जोखिम एकै पटक लिनु पनि हुन्न । आफ्नो क्षमताअनुसार विस्तारै यसलाई बढाउँदै जानुपर्छ ।
बिमा समितिले पुनर्बिमा कम्पनीले नेपालका बिमा कम्पनीहरूको कुल व्यवसायको ३० प्रतिशतसम्म बिमा गर्न पाउने प्रावधान राखेको छ । तर, तपाईंहरू ५ प्रतिशतभन्दा बढीमा जान सक्नुभएको छैन नि ?
समितिले हामीले बिमा कम्पनीहरूको कुल व्यवसायको ३० प्रतिशतसम्म बिमा गर्न सक्ने प्रावधान राखेको छ । तर, समितिले यसलाई अनिवार्य भने गरेको छैन । यति नै गर्नुपर्छ भन्ने नियम पनि छैन । सामान्य रूपमा ३० प्रतिशतसम्म गर्न सक्ने भन्ने प्रावधान हो तर, त्योभन्दा बढी गरे पनि केही फरक पर्दैन ।
तर, अघिल्लो वर्ष हाम्रो व्यवसाय ढिलो गरी सुरु भयो । त्यसैले हामीले बिमा कम्पनीहरूले ५ प्रतिशतसम्मको मात्रै बिमा ग¥यौं । तर, अहिले १० प्रतिशत प्रत्यक्ष हिसाबले पुनर्बिमा गरेका छौं ।
अरु केही निश्चित प्रतिशत ट्रिटीको रूपमा लिएका छौं । ट्रिटीबाट पनि कसैले १० प्रतिशत दिनुभएको छ, कसैले १५ प्रतिशतले त कसैले १२ प्रतिशत दिनुभएको छ । कसैले ७ प्रतिशतसम्म पनि पुनर्बिमा गर्नुभएको छ ।
पुनर्बिमा कम्पनीले जति व्यवसाय बढाउनुपर्ने त्यति बढाउन सकेन, व्यवसाय विस्तारमा खासै अग्रसरता देखाएको छैन भन्ने आरोप छ नि ?
अन्तरराष्ट्रिय अभ्यासलाई हेर्ने हो भने कुनै पनि मुलुकमा नयाँ पुनर्बिमा कम्पनी स्थापना हुँदा त्यो कम्पनीलाई प्रोत्साहन गर्न सरकारले निश्चित रकम अनिवार्य रूपमा बिमा गर्नुपर्ने भनेर तोकिदिएको हुन्छ । जस्तै, भारतको जीआईसी री कम्पनी स्थापना हुँदा सरकारले २० प्रतिशत बिमा अनिवार्य गरिदिएको थियो ।
कुनै पनि बिमा कम्पनीले आफ्नो व्यवसायको २० प्रतिशत पुनर्बिमा जीआईसी री कम्पनीमा गर्नैपर्ने व्यवस्था थियो । त्यहीअनुसार व्यवसाय गर्दै आएर अहिले पनि सरकारले ५ प्रतिशत अनिवार्य गरेको छ । अस्ति भर्खरै मात्रै नयाँ निर्णय भएको छ ।
भारतीय सरकारले अनिवार्य गरेको ५ प्रतिशतको अतिरिक्त त्यहाँका जति पनि बिमा कम्पनीले अर्को कम्पनीमा पुनर्बिमा गर्छन् त्यसमा पहिलो प्राथमिकता जीआईसी री कम्पनीलाई दिनुपर्ने नयाँ व्यवस्था गरेको छ ।
जीआईसी रीले पुनर्बिमा गर्न नचाहेकोे अवस्थामा मात्रै अन्य पुनर्बिमा कम्पनीलाई दिनुपर्छ भन्ने व्यवस्था गरिएको छ । तर, नेपालमा त्यस्तो प्रावधान छैन । यहाँ चाहिँ हामीले जे गर्नुछ, आफैंले गर्नुपर्छ ।
तपाईंले चाहे भुटानमा हेर्नुहोस्, चाहे बंगलादेश, मलेसिया या अन्य कुनै पनि देशमा हेर्नुभयो भने त्यहाँ पुनर्बिमा स्थापना गर्दा सरकारले निश्चित प्रतिशत पुनर्बिमाका लागि सरकारले नै अनिवार्य गर्छ ।
त्यही अवधारणामा हाम्रो सरकारले पनि ३० प्रतिशत प्राथमिकतामा राखेको थियो । त्यो प्राथमिकतामा मात्रै भयो तर, गर्नैपर्छ भन्ने भएन ।
त्यसो भए सरकारले नेपालको पुनर्बिमा कम्पनीलाई बेवास्ता गरेको हो त ? यदि अन्तरराष्ट्रिय अभ्यास जस्तै नेपालका बिमा कम्पनीलाई पनि नेपालकै पुनर्बिमा कम्पनीमा पुनर्बिमा गर्नका लागि अनिवार्य गर्ने हो भने कति प्रतिशतसम्म गर्नुपथ्र्यो होला ?
बेवास्ता वा अनिवार्य किन गरिएन भन्ने कुरा नियमनकारी निकाय वा सरकारको कुरा हो । चारैतिर दायाँबायाँको सिनारियो हेर्दा केही प्रतिशत अनिवार्य गर्नुपथ्र्यो । तर, त्यो गरिएन ।
किन गरिएन भन्ने प्रश्नको जवाफ दिने काम त सरकारको हो । मैले कसरी भन्न सक्छु ? र कति प्रतिशत अनिवार्य गर्ने भन्दा पनि एउटा सरकारले वा नियमनकारी निकायले विश्लेषण गरेर यति प्रतिशतसम्म भनेको भए वेश हुन्थ्यो ।
बंगलादेशमा पहिला पुनर्बिमा कम्पनीमा स्थापना हुँदा ५० प्रतिशत अनिवार्य गरेको थियो । अहिले पनि मलेसियामा हेर्ने हो भने मलेसियन पुनर्बिमा कम्पनीलाई १५ प्रतिशत प्रत्यक्षबाट १५ प्रतिशत ट्रिटीमा दिनैपर्छ ।
त्यसपछि फ्याकल्टेटिभमार्फत निश्चित प्रतिशत राखिएको छ । यसरी तीन वटैबाट निश्चित प्रतिशत बिमा गर्न तोकिएको छ । नेपालको हकमा ३० प्रतिशत प्राथमिकतामा मात्रै राखिएको छ ।
३० प्रतिशत नै प्रत्यक्ष रूपमा पुनर्बिमा गर्नुपर्छ भन्ने हैन बरु ट्रिटीमार्फत् यति र प्रत्यक्षमा यति भन्ने निश्चित प्रतिशत तोकिदिएको भए राम्रो हुन्थ्यो ।
नेपालका बिमा कम्पनीले पुनर्बिमा कम्पनीप्रतिको दृष्टिकोण कस्तो छ ? उनीहरू नेपालमा नै पुनर्बिमा गर्न कत्तिको उत्साहित देखिन्छन् ?
हुन त सबै कम्पनी उत्साहित नै छन् । उहाँहरूले नेपालको पुनर्बिमा कम्पनीलाई प्राथमिकतामा राख्नु नै भएको छ । नभए त अहिलेको यो व्यवसाय किन दिनु हुन्थ्यो र ? एउटा कुरा के हुन्छ भने शतप्रतिशत व्यवसाय यहीँ कै कम्पनीलाई नै दिनुपर्छ भन्ने खालको अवस्था त छैन ।
केही निश्चित प्रतिशत यहीँ दिउँ, त्यसपछि केही प्रतिशत अरु कम्पनीलाई दिऊँ भन्ने नेपालका बिमा कम्पनीहरूको मान्यता छ । अन्य कम्पनीसँग फेरि उहाँहरूको पहिलादेखिकै सम्बन्ध छ । गतवर्ष मात्रै भूइँचालाले ले त्यत्रो क्षति भयो । त्यो पनि जिम्मेवारी छ ।
कतिपय क्षतिको भुक्तानी हुन बाँकी छ । भोलि त्यहाँ छाडी अन्त जाने हो भने त्यसले भुक्तानी गर्ला कि नगर्ला भन्ने पनि हुन्छ । त्यसैले उहाँहरूले अन्य कम्पनीहरूसँग पनि सम्बन्ध बनाई राख्नुपर्ने हुन्छ ।
पुनर्बिमाबापत नेपालबाट विदेशीएको पुँजीमध्ये २० प्रतिशत रकम दुई वर्षभित्रमा नेपालमै रोक्ने नेपालको पुनर्बिमा कम्पनीको लक्ष्य थियो । यसमा कम्पनी कतिसम्म सफल भयो त ?
कुल व्यवसायमा हामीले अहिलेसम्म २० प्रतिशत व्यवसाय गर्न सकेका छैनौं । तर, विस्तारै त्यो पनि हुन्छ । पछि त हामीले २० प्रतिशतभन्दा पनि बढी गर्न सक्छौं । अहिलेको अवस्थामा भने पुगेको छैन ।
अहिले करिब १० प्रतिशत हामीले नियन्त्रण गरेका छौं । अर्को आर्थिक वर्षमा यो लक्ष्यलाई प्राप्त गर्ने हामी कोसिस गर्नेछौं । यो हामीले मात्रै चाहेर पनि हुँदैन । बिमा कम्पनीले पनि चाहनु प¥यो । कम्पनीहरूले विश्वास गरेर हामीलाई व्यवसाय दिनुभयो भने हामी पक्कै पनि त्यो उद्देश्यमा पुग्न सक्छौं ।
भर्खरै सम्पन्न साधारणसभाले कम्पनी अब पब्लिकमा जाने निर्णय गरेको छ । तपाईंहरू कहिलेसम्म पब्लिकमा जानुहुन्छ ? यसको तयारी के कस्तो हुँदैछ ?
हामीले चुक्ता पुँजी १५ अर्ब पु¥याउने निर्णय गरेका छौं । तर, पब्लिकमा जानुअघि प्रमोटर पुँजी थप गर्नुप¥यो । तब मात्रै हामी पब्लिकमा जान सक्छौं । त्यसका लागि हामीले अर्थ मन्त्रालयसँग कुरा गरेका छौं । त्यो रकम आएपछि हामी जान सक्छौं । अहिलेको प्रमोटरलाई पनि हामीले अनुरोध गरेका छौं ।
हामीले ३० प्रतिशत सेयर पब्लिकका लागि जारी गर्नेछौं । गत आवमा नै चुक्ता पुँजी बढाउने कार्य सम्पन्न हुने थियो तर, तुरुन्तै सरकार परिवर्तन भयो । त्यसैले पुँजी वृद्धिको काम पनि रोकिएको छ । यसले गर्दा अहिले नै पब्लिकमा गइहाल्ने अवस्था भने छैन ।
नेपालको पुनर्बिमा व्यवसायलाई अन्तरराष्ट्रिय क्षेत्रमा पनि विस्तार गर्न कस्तो खालको रणनीति अपनाउँदै हुनुहुन्छ ? कस्ता खालको बिमालाई प्राथमिकतामा राख्नुभएको छ ?
अहिलेसम्म सार्क मुलुकमा हामीले आफ्नो व्यवसाय विस्तार गरिसकेका छौ । भुटान, माल्दिम्भमा हामीले व्यवसाय सुरु गरिसकेका छौं । यसका अतिरिक्त पाकिस्तान र बंगलादेशबाट पनि प्रस्ताव आएको थियो । तर, जोखिम मूल्यांकन गर्दा अत्यधिक जोखिम देखिएपछि हामीले अस्वीकार ग¥यौं ।
अब हामीले सार्क मुलुकभन्दा बाहिर पनि व्यवसाय विस्तार गर्दैछौं । अन्तरराष्ट्रिय क्षेत्रमा व्यवसाय विस्तार गर्ने क्षमता हामीले वृद्धि गरिसकेका छौं । त्यहीअनुसारको ट्रिटी तयार पारेका छौं । कतिपय मुलुकमा अक्टोबर, जनवरी, अप्रिलबाट आर्थिक वर्ष सुरु हुन्छ । सोहीअनुसार हाम्रो सम्झौता पनि सुरु हुनेछ ।
पुनर्बिमामा दाबी गर्दा बिमा कम्पनीले झुठो दाबी गर्ने गरेको घटना पनि सुनिन्छ । यस्तो अवस्थामा विदेशी कम्पनीसँग पुनर्बिमाको सम्झौता गर्दा भोलिका दिन दाबी मूल्यांकन गर्नु परेमा कस्तो खालको संयन्त्र अपनाउन हुन्छ ?
अहिले त हामी लिडर हैनौं । हामी प्mलोअर मात्रै हो । लिडर भएको अवस्थामा यो कुरा सम्भव हुन्छ । हामीले त लिडरले जे ग¥यो त्यसैका आधारमा काम गर्दै जान्छौं ।
अर्थात् दाबी गर्दा क्षतिको मूल्यांकन गर्ने वा दाबी झुठो हो वा होइन भनेर मूल्यांकन गर्ने काम लिडर कम्पनीले गर्छ । यदि भुक्तानीबाट क्षति भएमा लिडर कम्पनीले नै व्यहोर्छ । त्यसैले झूठो दाबी हुने जस्ता जोखिमबाट हामी टाढा नै छौं ।
केही समय अगाडि पुनर्बिमा कम्पनीले सिंगापुरको एक कम्पनीलाई साझेदारको रूपमा भित्र्याउने कुरा चलेको थियो । यो कहाँसम्म पुग्यो त ?
अहिले रणनीतिक साझेदार भित्र्याउने विषयलाई हामीले स्थगित गरेका छौं । किनभने हामीले अब पब्लिकमा जाने निर्णय ग¥यौं । त्यसैले साझेदार भित्र्याउने वा नभित्र्याउने भन्ने विषयमा कुनै छलफल नै भएको छैन । पछि सञ्चालकको निर्णय जे हुन्छ त्यसका आधारमा नै हुन्छ । अहिले मैले यसै हुन्छ भन्ने सक्ने अवस्था छैन ।
पुनर्बिमा कम्पनीको नेतृत्वमा लघुबिमा खोल्ने योजना थियो, यो प्रक्रिया कहाँसम्म पुग्यो त ?
लघुबिमा कम्पनी खोल्ने कुरा अगाडि बढेको छैन । बिमा समितिलाई हामीले अनुरोध गरेका छौं । प्रस्ताव पनि बुझाएका छौं । तर, कुरा खासै अगाडि बढ्न सकेको छैन । समितिबाट कुनै प्रतिक्रिया आएका छैन । कम्पनी सञ्चालन गर्ने हो भने पनि समितिसँग सहकार्य गर्नैपर्छ ।
नियमनकारी निकायसँग विवाद गर्नुभन्दा सहमति र सहकार्यबाट नै अगाडि बढ्नु पर्छ । सहकार्य गर्ने क्रममा पहिला उहाँहरूले ल ठीक छ तपाईंहरू अगाडि बढ्नुहोस् भन्नु भयो भने मात्रै अगाडि बढ्ने हो । त्यसैले हामी सहकार्यबाट नै अगाडि जानेछौं । यतिबेला हामी समितिको ग्रिन सिग्नलको पर्खाइमा छौं ।
अहिलेको अवस्थामा नेपालमा अर्को पुनर्बिमा कम्पनीको आवश्यकता छ कि छैन ?
छ भनौं वा छैन भनौं । यो खुल्ला बजार हो । कम्पनीको हैसियतले हेर्दा आवश्यकता छैन जस्तो छ ।
तर, भोलिका दिनमा सेवाग्राहीले पाउने सुविधालाई मध्यनजर गर्ने हो भने अर्को कम्पनी पनि स्थापना हुनु आवश्यक छ । किनभने जति कम्पनी स्थापना भए, त्यति नै प्रतिस्पर्धा हुन्छ । जति प्रतिस्पर्धा भयो त्यति नै कम्पनीहरूले सेवा सुविधा विस्तार गर्दै जान्छन् ।
प्रतिस्पर्धा हुँँदा नयाँ कुरा आउँछन् । नत्र भने पुरानै ढर्रामा बसेर काम गर्ने बानी हुन्छ । जस्तै, पहिला पहिलाको बैंक र बिमा कम्पनीको अवस्था हेर्ने हो ज्यादै दयनीय थियो ।
जब खुल्ला बजारको अवधारणा आयो, त्यसपछि नयाँ–नयाँ योजना सञ्चालनमा आउन थाले । कम्पनीले दिने सेवा सुविधा पनि बढ्न थाले । यस आधारमा हेर्ने हो भने नयाँ कम्पनी स्थापना हुनु राम्रो हो । तर, स्थापना हुनुअघि केही अध्ययन त गर्नैपर्छ ।
कम्पनीका नयाँ योजना के–के छन् ?
तत्कालको नयाँ योजना भनेको हामी थापाथलीको ट्रेड टावरमा सर्दैछौं । व्यवसाय विस्तार हुँदै जाँदा अहिलेको अवस्थाभन्दा केही माथि उठ्नुपर्छ भनेर हामीले नयाँ ठाउँमा सर्न खोजेका हौं । हामी यही भदौ १६ गतेदेखि ट्रेड टावरमा सर्दैछौं । त्यस्तै, हामीले जग्गा खरिद गर्ने काम ग¥यौं ।
त्यसमा हामीले व्यावसायिक भवन बनाउने योजना बनाएका छौं । त्यस्तै, आगामी वर्षहरूमा हामी आफ्नो व्यवसायको दायरा विस्तारै अगाडि बढाउँदै जानेछौं । राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा व्यवसाय विस्तार गर्ने योजनामा छौं ।
हामीले स्वदेशबाट जाने पुँजी मात्रै रोक्ने हैन कि विदेशबाट पुँजी भित्र्याउने काम पनि गर्नेछौं । तबमात्रै सन्तुलन हुन्छ । पुनर्बिमाका लागि त हामीले विदेशमा पुँजी पठाउनै पर्छ । यसमा दुईमत नै छैन ।
हामी जति सक्षम भए पनि हामीले निश्चित जोखिम राखेर अरु त विदेशमा नै पुनर्बिमा गर्नुपर्छ । त्यसैले हामीले पनि पुनर्बिमामार्फत विदेशी पुँजी नेपाल भित्र्याउन सक्यौं भने सन्तुलन कायम हुन्थ्यो । तर, एकैपटक तत्कालै हुँदैन । यसको लागि समय लाग्छ ।
बिमा क्षेत्रमा चुनौती के–के हुन् ?
यस क्षेत्रको मुख्य चुनौती भनेको नै चेतनाको अभाव हो । त्यसपछि इमान्दारिता हो । हामीले हेर्नुपर्दा इमान्दारिता सेवाग्राहीमा हुनुप¥यो, बिमा कम्पनीमा पनि हुनुप¥यो । भोलि केही घटना भएको अवस्थामा पनि विमितले दाबी गर्दा होस वा कम्पनीले भुक्तानी गर्दा होस दुवै पक्षले इमान्दारिता देखाउनुपर्छ ।
विमितले पनि वास्तविक क्षति देखाएर दाबी गर्नुपर्छ, कम्पनीले पनि सही मूल्यांकन गरी भुक्तानी गर्नुपर्छ । यसो भयो भने बिमा व्यवसायलाई अगाडि बढ्न सहज हुन्छ । यसको परिणमा पनि राम्रो आउँछ । बिमा गर्दा विमितले आफ्नो सम्पतिको वास्तविक विवरण दिनुपर्छ । सबै कुरा पारदर्शी हुनुपर्छ ।
यदि झुठो विवरण दिइएको छ भने भुक्तानी गर्दा उसले सोचेअनुसारको पाउँदैन । त्यसपछि विमितले कम्पनीको विषयमा नकारात्मक हल्ला फिजाउँछ । यदि कम्पनीले सय जनामा ९९ जनालाई राम्रोसँग भुक्तानी गरेको छ तर, एउटालाई केही तलमाथि भयो भने त्यो ठूलो मुद्दा बन्छ ।
त्यसमा पनि अहिले मानिस सकारात्मक समाचारभन्दा पनि नकारात्मक समाचार सुन्न बढी मन पराउँछन् । त्यसैले सञ्चारमाध्यमले पनि ९९ जनाले पाएर खुसी भएको समाचारभन्दा पनि एक जनाले नपाएर दुखी भएको समाचारलाई प्राथमिकता दिन्छन् । त्यसैले दुवै पक्षले यस्ता कमीकमजोरी हटाउनुपर्छ ।
बिमा बाध्यकारी अवस्था नभइकन स्वःस्फूर्त रूपमा गर्ने वातावरणको विकास अझै पनि हुन सकेको छैन । विदेशमा मेडिकल इन्स्योरेन्स नगरी मानिस हिँड्नै सक्दैन । बिमा हुने बित्तिकै अस्पतालमा गयो भने तुरुन्त उपचार हुन्छ । पैसा पनि दिनु पर्दैन । सबै बिमा कम्पनीले नै डिल गर्छ ।
अब हाम्रो देशमा भने यस्तो अभ्यासको विकास हुन सकेको छैन । यसमा सबैभन्दा मुख्य कुरा इमान्दारिता हुनुपर्छ । अझ पनि नेपाल बिमाका लागि भर्जिन ल्यान्ड नै छ ।
प्राथमिकतामा पर्न नसकेको नेपाली पुनर्बिमा कम्पनी
बिमा भनेको जोखिम हस्तान्तरण गर्नु हो । मानिसले सम्भावित दुर्घटनालाई मध्यनजर गरी आफूले थेग्न सक्नेभन्दा बढी आर्थिक भारबाट बच्न बिमा गर्दछन् । बिमा जीवन र निर्जीवन गरी दुई प्रकारको हुन्छ ।
जीवन बिमा भनेको मानिसको जीवन अर्थात् मानिसको मृत्युपछि वा निश्चित अवधिपछि निश्चित रकम पाउने गरी गरिने हो । त्यस्तै, भौतिक सम्पतिको बिमा गरिनुलाई निर्जीवन बिमा भनिन्छ । यस्तो बिमामा दुर्घटना वस सम्पतिमा क्षति पुगेमा बिमा कम्पनी दाबी भुक्तानी गर्दछ ।
नेपालमा हाल ९ वटा जीवन बिमा कम्पनी छन् भने १७ वटा निर्जीवन बिमा कम्पनी सञ्चालित छन् । मानिसले आफूले थेग्न सक्नेभन्दा बढी जोखिम हुने देखेमा बिमा कम्पनीलाई जोखिम हस्तान्तरण अर्थात् बिमा गर्दछन् भने बिमा कम्पनीले पनि आफ्नो क्षमताभन्दा बढी जोखिम भएमा पुनः बिमा गर्दछन् । जसलाई पुनर्बिमा भनिन्छ ।
बिमा कम्पनी आफैंले ठूलो दाबी पर्दा भुक्तानी गर्न कठिन हुने भएकाले निश्चित जोखिम अर्को कम्पनीमा पुनः बिमा गर्दछ । यसरी बिमा कम्पनीको पनि बिमा गर्ने कम्पनीलाई पुनर्बिमा कम्पनी भनिन्छ ।
नेपाली बिमा कम्पनीले भारत, मलेसिया, बेलायत, फ्रान्सलगायत विभिन्न मुलुकमा पुनर्बिमा गर्दै आएका छन् । यसरी पुनर्बिमा गरेवापत अबौं रकम विदेशिने गरेको छ ।
नेपाली कम्पनीहरूले विदेशी पुनर्बिमा कम्पनीमा बिमा गराउँदा मुलुकको ठूलो पुँजी बाहिर जाने भएकाले सरकारले नेपालमा नै पुनर्बिमा कम्पनी खोल्ने निर्णय गरेको हो ।
जसअनुसार आकस्मिक बिमा कोषलाई नै पुर्नबिमा कम्पनीमा परिणत गरी २०७१ सालमा नेपालमा नै पुनर्बिमा कम्पनीको स्थापन गरिएको हो । जुन नेपालकै पहिलो र एक्लो पुनर्बिमा कम्पनी हो । पाँच अर्ब चुक्ता पुँजी रहेको उक्त कम्पनीमा सरकार तथा बिमा कम्पनीहरूको लगानी छ ।
सरकारको ४३.५५ प्रतिशत, निर्जीवन बिमा कम्पनीको ३८.३९ प्रतिशत, जीवन बिमा कम्पनीको ९.०३ प्रतिशत र अरु सार्वजनिक कम्पनीको ९.०३ प्रतिशत लगानी रहेको छ । नेपाल बिमा कम्पनीहरूले पुनर्बिमावापत अर्बौं रकम बाहिरिएपछि नेपालमा नै पुनर्बिमा कम्पनी सञ्चालन गरिएको हो ।
हाल बिमा कम्पनीहरूले आफ्नो व्यवसायको न्यूनतम ५ प्रतिशत पुनर्बिमा नेपालमा नै गर्दै आएका छन् । तर, कम्पनीहरूलाई नेपालमा नै पुर्नबिमा गर्नुपर्ने बाध्यात्मक अवस्था भने गरिएको छैन ।
अन्तरराष्ट्रिय बजार खोज्नुपर्ने चुनौती
मानिसले आफ्नो जोखिम बिमा कम्पनीलाई हस्तान्तरण गर्छन् । त्यसैगरी बिमा कम्पनीले पनि आफूले सक्नेभन्दा बढी जोखिम भएमा अर्को कम्पनीलाई हस्तान्तरण गर्छन् । यसरी बिमा कम्पनीको पनि जोखिम बहन गर्ने कम्पनीलाई पुनर्बिमा कम्पनी भनिन्छ ।
नेपालका बिमा कम्पनीहरूले भारत, बेलायत, मलेसियालगायतका पुनर्बिमा कम्पनीसँग पुनर्बिमा गर्दछन् । यसरी पुनर्बिमावापत नेपालबाट प्रत्येक वर्ष ठूलो पुँजी बाहिरिँदै गएको छ ।
तर, २०७१ सालमा नेपालको पुँजीलाई नेपालमै रोक्न सरकारले पुनर्बिमा कम्पनी स्थापना गरेको हो । यो नेपालका पहिलो र एक्लो पुनर्बिमा कम्पनी हो ।
नेपालमा जीवन र निर्जीवन गरी कुल २६ बिमा कम्पनी सञ्चालित छन् । तर पुनर्बिमा कम्पनी भने एउटा मात्रै छ । त्यसैले पुनर्बिमा कम्पनीका लागि नेपाल खुल्ला बजार हो । तर, यसो भन्दैमा यतिकै पुनर्बिमा कम्पनीको व्यवसाय बढ्दैन ।
बजार विस्तारका लागि कम्पनी र सरकार दुवैले उत्तिकै जोड दिनुपर्छ । कारण नेपालका बिमा कम्पनीले आजै नै नेपाल पुनर्बिमा कम्पनीलाई व्यवसाय दिन सक्ने सम्भावना छैन । किनभने पुनर्बिमा गर्दा कम्पनीको क्षमता पनि हेर्नुपर्छ ।
कम्पनीको विश्सनियताका आधारमा बिमा कम्पनीहरूले पुनर्बिमा गर्दछन् । तसर्थ भर्खरै स्थापना भएको पुनर्बिमा कम्पनी र त्यसमा पनि स्वदेशी कम्पनीप्रति बिमा कम्पनीहरूको विश्वास कम नै हुन्छ ।
त्यसैले सुरुको अवस्थामा स्वदेशी पुनर्बिमा कम्पनीलाई प्रोत्साहित गर्न सरकारले प्राथमिकता राख्नै पर्छ । यसका लागि सरकारले बिमा कम्पनीहरूलाई निश्चित व्यवसाय अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था गर्नुपर्छ । किनभने सकेसम्म स्वदेशी कम्पनीलाई प्र्राथमिकता दिनुपर्छ ।
जब नेपालकै बिमा कम्पनीलाई पुनर्बिमा कम्पनीलाई विश्वास गर्दैनन् । तब अन्य मुलुकमा कम्पनीहरूले विश्वास गर्न सक्दैनन् । त्यसैले निश्चित व्यवसाय नेपालमा नै गर्नुपर्ने प्रावधान राखिनुपर्छ ।
यद्यपि कम्पनी आफैं पनि यसतर्फ अग्रसर हुनुपर्छ । नेपाली पुँजी नेपालमा नै रोक्न पुनर्बिमा कम्पनीले बिमा कम्पनीहरूसँग व्यवसाय लिन सक्नुपर्छ । त्यस्तै नेपालको व्यवसाय मात्रै नभएर अन्तरराष्ट्रिय क्षेत्रमा पनि पुनर्बिमा कम्पनी जान सक्नुपर्छ ।
किनभने कुनै पनि बिमा कम्पनीले एउटै पुनर्बिमा कम्पनीसँग बिमा गराउँदैनन् । उनीहरूले आफ्नो जोखिम विभिन्न मुलुकका कम्पनीलाई हस्तान्तरण गर्दछन् । त्यसैले पुनर्बिमा कम्पनीले अन्तरराष्ट्रिय बिमा कम्पनीहरूमा पनि आफ्नो व्यापार सम्झौता अगाडि बढाउनुपर्छ ।
No comments:
Post a Comment