काठमाडौं, ३२ साउन । बिमा समितिले जीवन बिमा कम्पनीहरूको बजार व्यवस्थापन तथा प्रवद्र्धन खर्चको सीमा तोकिदिएको छ । चालू आर्थिक वर्षदेखि नै लागू हुने गरी बिमा कम्पनीहरूलाई अभिकर्ता, अन्य र व्यापार प्रवद्र्धन खर्चमा ६ प्रतिशत मात्रै खर्च गर्न निर्देशन दिएको छ । समितिले गरेको नयाँ व्यवस्थाले बिमा अभिकर्ताले हाल पाउँदै आएको इन्सेन्टिभ घट्ने भएको छ ।
नयाँ व्यवस्थाअनुसार बिमा कम्पनीहरूले संकलन गरेको प्रथम बिमा शुल्क (पहिलो किस्ता) बाट मात्रै अभिकर्ता, अन्य र प्रवद्र्धनमा खर्च गर्न पाउने छन् । बिमा कम्पनीहरूले बजार व्यवस्थापनको नाममा अभिकर्ता इन्सेटिभमा अधिक खर्च गरेको देखिएकाले यसलाई नियन्त्रण गर्न खर्चको सीमा तोकिएकोे समितिका निर्देशक राजुरमण पौडेलले जानकारी दिए । “अभिकर्ताका लागि कमिसन नै पर्याप्त छ, त्यसैले इन्सेटिभमा धेरै खर्च गर्नु आवश्यक पनि छैन,” उनले भने । इन्सेटिभमा धेरै खर्च हुँदा बिमितले कम प्रतिफल पाउने गरेको उनले बताए ।
बिमा ऐनअनुसार बिमा कम्पनीहरूले बिमा व्यवसायका लागि अभिकर्ता नियुक्त गर्न सक्छन् । अभिकर्तालाई बिमा कम्पनीहरूले अधिकतम २५ प्रतिशतसम्म कमिसन दिने सक्ने व्यवस्था ऐनमा छ । साथै बिमा विनियमावलीले कमिसनका अतिरिक्त बिमकले अभिकर्तालाई इन्सेन्टिभ बोनससमेत दिन सक्ने व्यवस्था गरेको छ । तर, यसका लागि भने सीमा तोकिएको छैन ।
समितिले बिमितलाई बढी प्रतिफल दिन व्यवस्थापन खर्चमा सीमा तोकिदिएपछि बिमा अभिकर्ताहरू भने आक्रोशित भएका छन् । सरकारले प्रत्येक वर्ष आफ्ना कर्मचारीको सेवा सुविधा वृद्धि गरिरहेका अवस्थामा अभिकर्ताहरूले पाउँदै आएको सुविधालाई कटौती गर्नु अन्यापूर्ण भएको पेसागत बिमा अभिकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष नन्दु तिवारीले बताए । “समितिको यस्तो निर्णयले अन्ततः समग्र बिमा व्यवसायलाई क्षति पुग्नेछ,” उनले भने ।
अभिकर्तामार्फत नै बिमा व्यवसाय सञ्चालन हुने भएकाले निरन्तर रूपमा अभिकर्तालाई प्रोत्साहित गर्नुपर्ने संघका अध्यक्ष तिवारीले बताए । “तर, समितिले बारम्बार अभिकर्तालाई निरुन्साहित गर्ने निर्णयहरू गरिरहेको छ, यसले भोलिको दिनमा बिमा व्यवसाय ९० प्रतिशतले घट्नेछ,” उनले भने ।
नयाँ व्यवस्थाले अभिकर्ताले पाउँदै आएको सुविधामा भने खासै फरक नपर्ने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले बताए । “जसले राम्रो व्यवसाय गर्न सक्छ, उसले राम्रो आम्दानी गर्न सक्छ,” उनले भने, “थोरै व्यवसाय गर्नेलाई भने फरक पर्ला ।”
गत वर्ष पनि समितिले जीवन बिमा कम्पनीहरूको व्यवस्थापन खर्चमा कटौती गरेको थियो । समितिले कम्पनीको जीवनकोष अनुसार कम्तीमा ७ प्रतिशतदेखि बढीमा १६ प्रतिशतसम्म व्यवस्थापन खर्च गर्न कम्पनीलाई सीमा तोकिदिएको थियो । सोहीअनुसार कम्पनीहरूले विज्ञापन, प्रचार–प्रसार, व्यापार प्रवद्र्धन तथा अभिकर्तालाई दिइने इन्सेटिभलगायतका शीषर्कमा रकम खर्च गर्दै आएका थिए ।
No comments:
Post a Comment