Monday, April 11, 2016

कुल बीमा दाबीमध्ये अग्नि बीमाको हिस्सा ८५

मुना कुँवर

चैत २८, काठमाडौं । महाभूकम्पपछि बीमा कम्पनीहरूमा परेको कुल दाबी बीमा सङ्ख्यामध्ये अग्नि बीमाको हिस्सा ८५ प्रतिशत रहेको छ । बीमा समितिको चैत ४ गतेसम्मको तथ्याङ्कअनुसार भूकम्पपछि बीमा कम्पनीहरूमा १७ हजार ६ सय ५९ ओटा बीमा दाबी परेको थियो । सोमध्ये १५ हजार ८४ ओटा अग्नि बीमाको दाबी परेको छ । भूकम्पले अन्यको तुलनामा भौतिक संरचनाहरूमा बढी क्षति पु¥याएकाले यस्तो बीमा दाबीको सङ्ख्या अधिक रहेको नेपाल इन्स्योरेन्सका कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । 
आगलागीका कारण भौतिक सम्पत्तिमा हुने हानि नोक्सानी अर्थात् जोखीमबापत जारी गरिने बीमा योजनालाई अग्नि बीमा भनिन्छ । यस्तो खालको योजनाले दुर्घटनावश भएको आगलागी र आगोको ज्वाला प्रस्फुटित भई लागेको आगलागीबाट भएको क्षतिको मात्रै सुरक्षा प्रदान गर्दछ । अधिकांश दुर्घटना ज्वालाकै कारण हुने भएकाले भौतिक सम्पत्तिको बीमा यस योजनाअन्तर्गत पर्दछ । अग्नि बीमा योजना खरीद गरेपछि अतिरिक्त शुल्क भुक्तानी गरी अन्य जोखीमहरू पनि हस्तान्तरण गर्न सकिन्छ । निर्माण भइसकेको भवन, गोदाम, प्लाण्टलगायत संरचनाको बीमा यस योजनाअन्तर्गत पर्दछ । त्यस्तै, अग्नि बीमासँगै भूकम्प बीमा पनि गर्नुपर्छ ।

बीमा समितिले २ वर्षअघि अग्नि बीमासँगै भूकम्प बीमालाई पनि अनिवार्य गरेको हो । त्यस्तै, मोटर बीमाअन्तर्गत ९ सय ९२ ओटा दाबी परेको समितिको तथ्याङ्कमा उल्लेख छ । यो सङ्ख्या कुल बीमा दाबीको ५ दशमलव ६१ प्रतिशत हो । यान्त्रिक शक्तिद्वारा सडकमा गुड्ने सवारीसाधनहरू मोटरसाइकल, कार, जीप, ट्रक, बस, ट्र्याक्टरलगायत सवारीसाधनको दुर्घटनाबाट हुने क्षतिवापत सुरक्षा प्रदान गर्न जारी गरिने बीमालाई मोटर बीमा भनिन्छ । मोटर बीमाअन्तर्गत तेस्रो पक्ष बीमालाई सरकारले अनिवार्य गरेको छ ।
इञ्जिनीयरिङ बीमाको १ सय ५३ ओटा दाबी परेको छ । यो सङ्ख्या कुल बीमा दाबीको शून्य दशमलव ८६ प्रतिशत हो । निर्माणाधीन भौतिक संरचनाहरू जस्तै– भवन, गोदाम, पुल, सडक आदिको सुरक्षार्थ जारी गरिने बीमा नै इञ्जिनीयरङ बीमा योजना हो । त्यस्तै विविध बीमाअन्तर्गत १ हजार ४ सय २६ ओटा बीमा दाबी परेको छ । यो सङ्ख्या कुल सङ्ख्याको ८ दशमलव शून्य ७ प्रतिशत हो भने जम्मा ४ ओटा सामुद्रिक बीमाको दाबी परेको छ । त्यस्तै अग्नि बीमाअन्तर्गत परेको कुल दाबीमध्ये ६३ प्रतिशत बीमा रकम भुक्तानी भएको छ । अर्थात् ९ हजार ४५ ओटा बीमा दाबीबराबर रू. ४ अर्ब ८५ लाख रकम अन्तिम भुक्तानी भइसकेको छ । त्यस्तै २ सय १५ ओटा दाबीमा दाबीबराबर कम्पनीहरूले रू. १ अर्ब ३७ लाख पेश्की रकम भुक्तानी गरेका छन् । ६ सय ९५ ओटा मोटर बीमा दाबीबराबर रू. ११ करोड ९९ लाख अन्तिम दाबी भुक्तानी भइसकेको छ भने तीनओटा दाबीबराबर रू. ८ लाख २६ हजार रकम भुक्तानी भएको तथ्याङ्कले देखाएको छ । विविध शीर्षकअन्तर्गतको परेको बीमा दाबीमध्ये १ हजार ९० ओटा बीमा दाबीबराबर रू. २ अर्ब ८१ करोड अन्तिम भुक्तानी भएको छ भने ११ ओटा दाबीबराबर रू. २२ करोड ९३ लाख पेश्की रकम भुक्तानी भएको देखिएको छ ।

No comments:

Post a Comment