मुना कुँवर
गतवर्षको तुलनामा चालू आर्थिक वर्षमा कृषिबीमाका उल्लेख्य रूपमा वृद्धि भएको छ । सरकारले ७५ प्रतिशत अनुदानको व्यवस्था गरेसँगै कृषिबीमा बीमालेख जारी हुने क्रम बढेको हो । तर, अझै पनि लक्षित कृषकको भने कृषिबीमामा पहुँच पुग्न नसकोको सरोकारवालाहरूले बताउँदै आएका छन् । उनीहरूका अनुसार गाउँका केही टाठाबाठाहरूले कृषिबीमामा सरकारले उपलब्ध गराउँदै आएको अनुदानको फाइदा लिने काम गरेका छन् ।
अनुदान रकम बढाए पनि कृषकहरूमा चेतनाको अभाव र बीमासम्बन्धी ज्ञान नहुँदा उनीहरूले पाएको सुविधासमेत उपभोग गर्न सकेका छैनन् । त्यस्तै, सम्बन्धित निकायले पनि लक्षित वर्गले बुझ्न सक्ने गरी यससम्बन्धी जनचेतना जगाउन नसकेको सरोकारवालाहरूको गुनासो छ ।
नेपालको कृषिक्षेत्रलाई व्यवसायीकरण गर्न कृषि विकास मन्त्रालयले २०६९ माघ १ गते देखि कृषिबीमा लागू गरेको हो । मन्त्रालयले शुरुआत गरेको कृषिबीमालाई सफल बनाउन बीमा समितिले आव २०७०/७१ देखि कृषि तथा पशुबीमालाई अनिवार्य गरेको छ । कृषकलाई कृषिबीमा लागि प्रेरित गर्न सरकारले अनुदानको वितरणको प्रक्रिया शुरू गरेको हो । आव २०७०/७१ मा कुल बीमाङ्क रकमको ५० प्रतिशत अनुदान दिँदै आएको सरकारले गत आवमा भने अनुदान रकम बढाएर ७५ प्रतिशत पुर्याएको थियो, अर्थात् कृषकले बीमाङ्कको रकमको जम्मा २५ प्रतिशत मात्रै भुक्तानी गरे पुग्दछ ।
कृषिबीमा साधारण कृषकहरूका लागि हदैसम्म उपयोगी रहेको छ । यसको प्रयोग गर्न सकेको खण्डमा कृषकहरूले धेरै फाइदा लिन सक्दछन् । किनभने, कृषकहरूले थोरै पैसा तिरेर धेरै जोखीम सुरक्षण गर्न सक्दछन् । जस्तै, एउटा कृषकले रू. १ हजार २ सय ६० प्रिमियम भुक्तानी गरेर रू. १ लाखसम्मको जोखीम सुरक्षण गर्न सक्दछ ।
उदाहरणका लागि कुनै कृषकले रू. १ लाख पर्ने भैंसीको बीमा गराउन चाहन्छ भने उसले उक्त बीमाङ्क रकमको ५ प्रतिशत प्रिमियम भुक्तानी गर्नुपर्ने हुन्छ । रू. १ लाखको ५ प्रतिशतले प्रिमियम रू. ५ हजार पर्दछ । उक्त रू. ५ हजारमध्ये सरकारले ७५ प्रतिशत रकम भुक्तानी गरिदिन्छ । त्यही रकमलाई आधार मान्दा यो रू. ३ हजार ७ सय ५० हुन्छ । अब बाँकी रहेको २५ प्रतिशत अर्थात् रू. १ हजार २ सय ५० मात्रै कृषकले भुक्तानी गरे पुग्छ ।
आफूले बेहोर्नुपर्ने यो शुल्कमा पनि संस्थागत रूपमा व्यावसायिक कृषक भएमा वा कृषक आफै अभिकर्ता भएमा १५ प्रतिशत छूट पाउन सक्छन् । त्यस्तो बीमाको फारममा रू. १० को टिकट लगाउनुपर्छ । यसरी बीमा गरेकै दिनदेखि बीमा योजना लागू हुन्छ ।
बीमा गरेको पशु बाँझो वा थुनेलो भएमा कृषकले ५० प्रतिशत रकम भुक्तानी पाउँछ । त्यस्तै, पशु मरेमा ९० प्रतिशत रकम भुक्तानी प्राप्त गर्छ सक्छ । यसरी कृषकहरूले स्थानीय बीमा कम्पनीहरूसँग सम्पर्क गरी कृषिबीमा लेख सजिलै प्राप्त गर्न सक्दछन् ।
No comments:
Post a Comment