Friday, April 15, 2016

बीमाशिक्षाको अपरिहार्यता

डा. रवीन्द्र घिमिरे
बीमा बजारमा सामान्यतः तीन खालको जनशक्ति आवश्यक हुन्छ । पहिलो कार्यालयको व्यवस्थापन र विभागीय तहमा कार्यरत जनशक्ति, दोस्रो अग्रपङ्क्तिमा रहेर कार्य गर्ने जनशक्तिजस्तो अभिकर्ता र फिल्डस्तरका कर्मचारी, तेस्रो खालको जनशक्तिमा परामर्शदाता, क्षति तथा जोखीम मूल्याङ्कनकर्ता, जोखीम विश्लेषक र बीमाङ्कीहरू पर्छन् ।
बीमा बजारको वृद्धि गर्न र सामाजिक सुरक्षाको संरचना एवम् सञ्जाललाई बलियो बनाउन आमजनतालाई बीमाप्रति आकर्षित गर्नु जरुरी छ । बीमा बजारको प्रवद्र्धनका लागि र बीमा बजारलाई आवश्यक जनशक्ति उत्पादन गर्न बीमासम्बन्धी शैक्षिक निकायहरू स्थापना भएका छन् ।
नेपालमा बीमा कम्पनीहरूको स्थापना भएको ७ दशक बितिसक्दा पनि आजसम्म यस प्रकारको संस्था स्थापना हुन नसक्नु हामी सबैका लागि दुःखद विषय हो । आजसम्म यसतर्फ न सरकार र बीमा समितिले ठोस पहल गरेको आभास भएको छ न बीमा कम्पनीहरू र निजीक्षेत्रले नै आवश्यकता महसूस गरी कार्यान्वयन गरेको छ । अधिकांश विश्वविद्यालयहरूले यससम्बन्धी विषयलाई प्राथमिकतामा राखेका छैनन् । विभिन्न देशमा बीमाशिक्षाको प्रवद्र्धनका लागि भएका प्रयासका बारेमा यस लेखमा चर्चा गरिएको छ ।

बीमा एक जटिल आर्थिक उपकरण भएकाले बैङ्क तथा शेयर बजारझैं सजिलै बुझ्न कठिन छ । यद्यपि, यो निकै कठिन र जटिल विषय भने होइन । एकातिर आम मानिसलाई यसको महत्व बुझाउनु पर्ने र अर्कोतर्फ बीमा उद्योगलाई दक्ष र चुस्त जनशक्ति उत्पादन गर्न खास किसिमको शैक्षिक निकायको आवश्यकता परेको हो । यूरोपमा बीमाको अभ्युदय भयो र साथसाथै शैक्षिक संस्थाहरूले पनि बीमालाई यथेष्ट स्थान दिए । बेलायतको प्रभाव भारतमा पर्‍यो र भारतको प्रभावले दक्षिण एशियालीे देशहरूमा पनि बीमाशिक्षाको महत्वलाई बुझियो ।
छिमेकी देश भारतमा सन् १९५५ मा भारतीय बीमा संस्थानको स्थापना भयो । यसले बीमाशिक्षालाई सङ्गठित रूपमा अगाडि बढाउने काम गर्‍यो । उक्त संस्थानलाई भारत सरकारले बीमाशिक्षाको प्रचारप्रसार र प्रवद्र्धनको आधिकारिक नियामक निकायको रूपमा मान्यता दियोे । हाल संस्थानले विभिन्न तहका व्यावसायिक उपाधिहरू : लाइसिन्सेट्स, एशोसिएट्स र फेलोशिप प्रदान गर्छ र देश तथा विदेशमा परीक्षा केन्द्रहरू राखी परीक्षासमेत सञ्चालन गर्छ । बीमासम्बन्धी सयौं पुस्तक स्वयम् तयार गर्ने र प्रकाशन गर्ने गर्छ । एजेण्ट, सर्वेयर, ब्रोकरको लाइसेन्स लिन अनिवार्य रूपमा कम्तीमा १०० घण्टाको तालीम लिनुपर्ने र तोकिएको परीक्षासमेत पास हुनुपर्ने प्रावधान राखिएको छ ।
बीमाका बारेमा गहिरो जानकारी भएका मानिसले मात्र यस क्षेत्रमा प्रवेश पाउने हुँदा कम्पनी र ग्राहकहरूले गुणस्तरीय सेवा पाउँछन् । संस्थानअन्तर्गत सयौं कलेज र इन्ष्टिच्युट आबद्ध छन् । बीमा बजारका लागि अत्यावश्यक हुने जनशक्ति ‘बीमाङ्की’ उत्पादनका लागि सन् १९४४ मा बीमाङ्कीको अध्यापन गर्ने र परीक्षा लिने र उक्त पेशाको विकास र प्रवद्र्धनका लागि गठन भएको इन्ष्टिच्युट अफ एक्चुरिज अफ इण्डियालाई एक्चुरिज ऐन, २००६ ले एक्चुरियल सोसाइटी अफ इण्डियामा परिणत गर्‍यो । नेपालका बीमा कम्पनीहरूले आजसम्म पनि बीमाङ्की सेवाका लागि भारतीय बीमाङ्कीमै भर पर्नु परेको छ भने यहाँको जनशक्तिमध्ये अधिकांशले भारतकै विभिन्न संस्थाबाट तालीम प्राप्त गरेका छन् ।
पाकिस्तानमा सन् १९५१ मा निजीक्षेत्रबाट बीमाको प्रवद्र्धन र विकासका लागि पाकिस्तान इन्स्योरेन्स इन्ष्टिच्युटको स्थापना भएको हो । यसले सन् १९५३ देखि चार्टर्ड इन्स्योरेन्स इन्ष्टिच्युट लण्डनको सम्बन्धनमा परीक्षासमेत शुरू गर्‍यो । पाकिस्तानले सन् २००३ देखि एजेण्टको लाइसेन्स लिन ३ हप्ताको फाउण्डेशन कोर्ष अनिवार्य रूपमा लिएको हुनुपर्ने प्रावधान राखेको छ ।
साथै डिप्लोमा इन इन्स्योरेन्स कोर्षको अध्ययन अवधि २ वर्षको राखिएको छ । यस संस्थाले तीन मुख्य शहर कराँची, लाहोर र पेशावरमा फाउण्डेशन र डिप्लोमा तहको कोर्ष सञ्चालन गर्दै आइरहेको छ ।
बङ्गलादेशमा पनि बीमाको प्रवद्र्धन र विकासका लागि सरकारी स्तरबाट बङ्गलादेश इन्स्योरेन्स एकेडेमीको स्थापना सन् १९७३ मा भएको थियो । यसको कार्यक्षेत्र बीमाशिक्षाको प्रवद्र्धन गर्ने, अनुसन्धान गर्ने, विभिन्न उपाधिका तालीमहरू जस्तो एड्भान्स डिप्लोमा र सर्टिफिकेट कोर्ष इन इन्स्योरेन्स सञ्चालन गर्ने र समयसमयमा सेमिनार, कन्फरेन्सहरूको आयोजना गर्ने रहेको छ । यसबाहेक यस एकेडेमीले चार्टर्ड इन्ष्टिच्युट अफ इन्स्योरेन्स लण्डनको कोर्ष एशोसिएट अफ चार्टर्ड इन्स्योरेन्स र तथा एक्चुरियल सोेसाइटी अफ इण्डियाको एशोसिएट अफ एक्चुरियल सोेसाइटी अफ इण्डिया कोर्षसमेत सञ्चालन गर्दै आएको छ ।
श्रीलङ्कामा सन् १९८१ मा निजीस्तरबाट बीमासम्बन्धी शैक्षिक संस्था स्थापना गरिएको थियो । यस संस्थाले दक्ष जनशक्तिको उत्पादन गर्ने र पेशागत व्यावसायिकताको विकास गर्ने उद्देश्य लिएको छ । श्रीलङ्काको नियमनकारी निकाय श्रीलङ्का इन्स्योरेन्स बोर्डले लिने जीवन बीमा र निर्जीवन बीमाको एजेण्टको परीक्षा, फाउण्डेशन र डिप्लोमा लेभलको परीक्षा लिनुका साथै भारतीय बीमा संस्थान र बेलायतको चार्टर्ड इन्स्योरेन्स इन्ष्टिच्युटबाट सम्बन्धन प्राप्त गरी सर्टिफिकेट, डिप्लोमा र एडभान्स डिप्लोमा तहका उपाधि प्रदान गर्दै आएको छ ।
आधुनिक बीमाको उद्गम स्थल बेलायत हो । पहिलो बीमासम्बन्धी शैक्षिक संस्था सन् १८७३ मा म्यानचेष्टर, बेलायतमा स्थापना गरिएको थियो । सन् १८८१ मा एक्चुरियल सोसाइटी अफ ग्लास्गोको स्थापना भएको थियो । सन् १९१२ मा इन्स्योरेन्स इन्ष्टिच्युटलाई सरकारले मान्यत प्रदान गरी चार्टर्डको रूप धारण गर्‍यो । यसअघि सैद्धान्तिक विषयको मात्र ज्ञान दिइँदै आएकोमा सन् १९६२ मा प्राविधिक विषयहरूलाई पाठ्यक्रममा राखियो भने सन् १९६७ मा कलेजस्तरमा पनि बीमाको पढाइ शुरू गरियो ।
अमेरिकाको विषयमा चर्चा गर्दा सोलोमन स्टेफेन हुब्नरले सन् १९१३ मा पेन्सिलभेनिया विश्वविद्यालयको इन्स्योरेन्स विभागको प्रमुखको भई बीमा विषयलाई विश्वविद्यालयको पाठ्यक्रममा प्रवेश गराउन सफल भएकाले उक्त योगदानको कदर गर्दै उनलाई विश्वभर नै बीमाशिक्षाको पिताका रूपमा लिइन्छ । उनले मानिसको जीवनको आर्थिक मूल्य हुन्छ भन्ने कुरा स्थापित गरे । हाल अमेरिकामा धेरै विश्वविद्यालयले आफ्नो कोर्षमा बीमा र जोखीम व्यवस्थापन विषयलाई विशिष्टीकृत विषयका रूपमा राखेका छन् ।
बीमा बजारमा सामान्यतः तीन खालको जनशक्ति आवश्यक हुन्छ । पहिलो कार्यालयको व्यवस्थापन र विभागीय तहमा कार्यरत जनशक्ति, दोस्रो अग्रपङ्क्तिमा रहेर कार्य गर्ने जनशक्तिजस्तो अभिकर्ता र फिल्डस्तरका कर्मचारी, तेस्रो खालको जनशक्तिमा परामर्शदाता, क्षति तथा जोखीम मूल्याङ्कनकर्ता, जोखीम विश्लेषक र बीमाङ्कीहरू पर्छन् ।
पहिलोे खालको जनशक्ति उत्पादनका लागि विश्वविद्यालयमा स्नातक तथा स्नातकोत्तर तहमा जोखीम व्यवस्थापन र बीमासम्बन्धी विषयको अध्यापन गराउनु उपयुक्त हुन्छ । उनीहरूलाई बीमाको सैद्धान्तिक ज्ञान दिनु आवश्यक हुन्छ ताकि उक्त ज्ञानलाई आफ्नो कार्यक्षेत्रमा व्यावहारिक रूपमा उतार्न सकून् । यसका लागि विश्वविद्यालयहरूले सोहीबमोजिमको पाठ्यक्रम तयार पार्नुपर्छ । विश्वविद्यालयहरूले बजार सर्वेक्षण गरी जनशक्ति खपत गर्ने उद्योगीहरूसँग समन्वय र छलफल गरी यी कुरा तय गर्न सक्छन् ।
दोस्रो खालको जनशक्ति उत्पादनका लागि तालीमलाई ध्यान दिनुपर्छ । माध्यमिक वा उच्च माध्यमिक तहको परीक्षा उत्तीर्ण गरी खासखास विषयको तालीम लिएको व्यक्तिलाई अभिकर्ता बनाउनु उपयुक्त हुन्छ । साथै कार्यालयमा जुनियर तहमा कार्य गर्ने जनशक्तिले पनि कम्तीमा तालीम लिएको हुनुपर्ने प्रावधान राख्नुपर्छ ।
तालीम अवधि अन्तरराष्ट्रिय प्रचलनबमोजिम (५० देखि १०० घण्टा) हुनुपर्छ र सर्टिफिकेट लेभलको मान्यता दिइनुपर्छ ।
तेस्रो खालको जनशक्ति बीमा कम्पनी र नियमनकारी निकायका लागि अति आवश्यक हुन्छ । बीमा कम्पनी र बीमा समितिले आंशिक समय काम गर्ने गरी करारमा बीमाङ्कीको सेवा लिने गरेका छन् । आगामी दिनमा कम्तीमा एक कम्पनीमा एकजना बीमाङ्की हुनुपर्ने व्यवस्था गर्नु आवश्यक छ । साथै ब्रोकरको अवधारणा पनि लागू गर्नुपर्छ ।
बीमा कम्पनीका उच्च पदमा कार्यरत अनुभवी व्यक्तिहरूलाई विशेष तालीम प्रदान गरी परामर्शदाता, जोखीम विश्लेषकलगायत विशिष्ट जनशक्ति उत्पादन गर्न सकिन्छ भने कतिपय जनशक्ति अन्तरराष्ट्रिय बजारबाट पनि लिन सकिन्छ ।

तर, दीर्घकालीन रूपमा नेपालमा नै बीमाङ्कीको अध्यापन गराउनु उपयुक्त हुन्छ । बीमा उद्योगको दिगो र दु्रत विकासको मेरूदण्ड दक्ष जनशक्ति नै हो । यसर्थ मानव संसाधन विकासका लागि सबै सरोकारवालाले एकपटक गम्भीर रूपमा सोच्नु, छलफल गर्नु र निर्णय निकाल्नु जरुरी छ ।
http://www.abhiyan.com.np/new/Articles/view/76424

No comments:

Post a Comment