Sunday, April 10, 2016

६६% भुक्तानी पुनर्बीमा कम्पनीबाट

मुना कुँवर

  • अन्तिम दाबी भुक्तानीवापत रू. ७ अर्ब ८८ करोड ६७ लाख
  • पुनर्बीमा कम्पनीबाट प्राप्त रकम रू. ५ अर्ब २६ करोड ४७ लाख
     
चैत २७, काठमाडौं । भूकम्पपछि निर्जीवन बीमा कम्पनीहरूले गरेको कुल दाबी भुक्तानी रकममध्ये ६६ प्रतिशत भुक्तानी पुनर्बीमा कम्पनीबाट प्राप्त भएको छ । बीमा समितिको तथ्याङ्कअनुसार गत चैत ४ गतेसम्म निर्जीवन बीमा कम्पनीहरूले रू. ७ अर्ब ८८ करोड ६७ लाख अन्तिम दाबी भुक्तानी गरेका छन् । सोमध्ये पुनर्बीमा कम्पनीबाट बीमकहरूले रू. ५ अर्ब २६ करोड ४७ लाख रकम प्राप्त गरेको बीमा समितिका निर्देशक रजुरमण पौडेलले बताए । यो रकम कुल दाबी रकमको २८ प्रतिशत हो ।

गत वैशाख १२ गते गएको महाभूकम्पले अर्बौंको भौतिक सम्पत्ति नष्ट भएको थियो । यसमध्ये बीमा कम्पनीहरूमा रू. १८ अर्ब ६० लाखबराबरको दाबी परेको थियो । उक्त दाबी रकममध्ये कम्पनीहरूले रू. ७ अर्ब ८८ करोड अन्तिम भुक्तानी गरेका छन् भने पेश्कीस्वरूप रू. १ अर्ब ९८ करोड ९० लाख भुक्तानी गरेका छन् । त्यस्तै दाबी गरिएको रकममध्ये ११ करोड ६४ लाख रकम भुक्तानी गर्न नपर्ने भएका छन् । ठूला ठूला आयोजनाबाहेक अन्य दाबीहरूको भुक्तानी भइसकेको बीमकहरूले बताएका छन् । उनीहरूका अनुसार सो अवधिमा पुनर्बीमा कम्पनीहरूले पनि सहज र छिटो रकम भुक्तानी गरेकाले बीमकहरूलाई पनि भुक्तानी गर्न सरल भएको हो ।
बीमा कम्पनीहरूले आर्थिक रूपबाट सुरक्षित हुन आप्mनो जोखीम अन्य कम्पनीहरूलाई हस्तान्तरण गर्ने गर्दछन् । यसरी बीमा कम्पनीहरूको जोखीम ग्रहण गर्ने कम्पनीलाई पुनर्बीमा कम्पनी भनिन्छ । नेपाली बीमा कम्पनीहरूले लण्डन, फ्रान्स, सिङ्गापुर, मलेशिया, भारत, श्रीलङ्कालगायतका कम्पनीहरूसँग पुनर्बीमा गर्छन् । कम्पनीहरूले आफ्नो वित्तीय अवस्था र जोखीमका आधारमा पुनर्बीमा गर्छन् । पुनर्बीमावापत वार्षिक अर्बौं रकम विदेशिन थालेपछि गतवर्ष नेपालमा पनि पुनर्बीमा कम्पनीको स्थापना गरिएको छ । बीमा समितिको तथ्याङ्कअनुसार बीमा कम्पनीहरूमा १७ हजार ६ सय ५९ ओटा बीमा दाबी परेको थियो । सोमध्ये १५ हजार ७ सय ८ मा सर्भेयर खटाइएकोमा १३ हजार ६ सय ६० ओटाको सर्भे प्रतिवेदन प्राप्त भएको तथ्याङ्कले देखाएको छ । कुल बीमा दाबी सङ्ख्यामध्ये ४ हजार ५ सय ९० दाबी नलाग्ने भएका छन् भने १० हजार ८ सय ७३ ओटाको अन्तिम दाबी भुक्तानी भइसकेको छ । त्यस्तै २ सय ४० ओटा दाबीको पेश्की रकम भुक्तानी भएको छ ।

No comments:

Post a Comment