Wednesday, April 6, 2016

मौरी, अष्ट्रिच र च्याउखेतीको पनि बीमा

मुना कुँवर

चैत २३, काठमाडौं । नेपाली कृषकले अबदेखि मौरी, अष्ट्रिच र च्याउखेतीको समेत बीमा गर्न पाउने भएका छन् । बीमा समितिले कृषि बीमाअन्तर्गत हालै यस्ता योजना सार्वजनिक गरेको छ । बीमा कम्पनीहरूमा यस्ता बीमालेखको माग बढेपछि समितिले मौरी, च्याउखेती र अष्ट्रिच बीमा योजना सार्वजनिक गरेको बीमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले बताए ।
यस्तो बीमा योजना व्यावसायिक वा व्यक्तिगत रूपमा कृषकले खरीद गर्न सक्नेछन् । यस योजना खरीद गरेबापत बीमितहरूले प्रिमियममा ७५ प्रतिशतसम्म छूट पाउनेछन् । मौरी तथा च्याउखेती बीमा योजनाबापत कृषकले कुल बीमाङ्क रकमको ५ प्रतिशत बीमाशुल्क भुक्तानी गर्नुपर्छ । त्यस्तै, अष्ट्रिच बीमा योजना खरीद गरेबापत कृषकले प्रतिवर्ष बीमाङ्क रकमको २ प्रतिशत बीमाशुल्क भुक्तानी गर्नुपर्ने समितिले बताएको छ ।

मौरी बीमालेखअनुसार बीमा योजना अवधिभित्र मौरी/घारको हानिनोक्सानी भएमा बीमा कम्पनीले बीमाङ्क रकमको सीमाभित्र रहेर वास्तविक क्षतिको ९० प्रतिशतसम्म रकम बीमितलाई भुक्तानी गर्छ । कृषकले मौरीको ढुवानी गर्दा सवारी दुर्घटनाका कारण क्षति भएमा, मौरी रोग र प्राकृतिक शत्रुहरूको महामारी भएमा, चरनमा विषादी परेर मौरी नष्ट हुनेसक्ने जोखीम बीमा कम्पनीलाई हस्तान्तरण गर्न सक्नेछन् ।
त्यस्तै, च्याउखेती योजनाअवधि भित्र च्याउमा हानिनोक्सानी भएमा लागत मूल्यअनुसारको क्षतिपूर्ति बीमकले भुक्तानी गर्छ ।
उत्पादन सामग्रीको वास्तविक मूल्य (पराल, प्लाष्टिक थैलो, बीउ, दाउरा, डोरी, ज्यामी, फर्लामिन आदि), मेशिनरी औजारको वास्तविक मूल्य (पराल काट्ने मेशिन, स्प्रेयर पम्प, पराल बफाउने ड्रम आदि) र टहरा खर्च तथा व्यवस्थापन खर्च (बाँस, पराल, प्लाष्टिक, डोरी, जाली, ज्याला तार आदि)को आधारमा योजनाको बीमाङ्क रकम तोकिने समितिले बताएको छ ।  
अष्ट्रिच बीमा योजनाअनुसार बीमा अवधिभित्र अष्ट्रिच मरेमा वा हानिनोक्सानी भएमा बीमकले दाबी भुक्तानी गर्छ ।
योजना विशेषमा हुने उल्लिखित क्षतिबाहेक सबै योजनाले आगलागी, चट्याङ, भूकम्प, बाढी, डुबान, खडेरी, पहिरो, भूस्खलन, आँधीबेहरी, असिना, हिउँ वा तुषारो, आकस्मिक दुर्घटनाजस्ता बाह्य कारणले हुने जोखीम पनि समेट्नेछ ।

No comments:

Post a Comment