Monday, March 3, 2014

रियल इस्टेट कर्जा घटाउँदै वाणिज्य बैङ्कहरू

फागुन १८, काठमाडौं । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा रियल इस्टेट क्षेत्रमा वाणिज्य बैङ्कहरूको कर्जा प्रवाह ५ प्रतिशतले घटेको छ । वाणिज्य बैङ्कहरूले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणका आधारमा यस्तो देखिएको हो । पछिल्लो समयमा राष्ट्र बैङ्कले रियल इस्टेट क्षेत्रको कर्जा घटाउन निर्देशन दिँदै आएको र अपेक्षित रूपमा उक्त क्षेत्र विस्तार हुन नसकेकाले पनि बैङ्कहरूको यस्तो लगानी घट्दै गएको सरोकारवालाहरू बताउँछन् । ‘अहिले वाणिज्य बैङ्कहरूले रियल इस्टेट क्षेत्रको कर्जालाई कम प्राथमिकतामा राखेका छन्,’ एक वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतले भने ।

नेपालमा रियल इस्टेट क्षेत्रलाई पनि लगानीको प्रमुख क्षेत्रका रूपमा मानिँदै आएको छ । करीब ३/४ वर्षअघि यस क्षेत्रमा अत्यधिक कर्जा विस्तार भएकाले सम्भावित दुर्घटना नियन्त्रणका लागि राष्ट्र बैङ्कले रियल इस्टेट क्षेत्रको कर्जा प्रवाह घटाउन बैङ्कहरूलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार बैङ्कहरूले रियल इस्टेट कर्जा घटाउन थालेपछि यस्तो परिणाम देखिएको हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा रियल इस्टेट क्षेत्रमा वाणिज्य बैङ्कहरूको लगानी रू. ६४ अर्ब ३२ करोड रहेकोमा चालू आवको सोही अवधिमा भने यस्तो लगानी घटेर रू. ६१ अर्ब १५ करोडमा झरेको छ । बैङ्क तथा वित्तीय संस्थाले कुल लगानीको बढीमा २५ प्रतिशतसम्म मात्रै रियल इस्टेट क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था गरेपछि बैङ्कहरूले सो क्षेत्रको कर्जा घटाउँदै आएका हुन् । बैङ्क तथा वित्तीय संस्थाले रियल इस्टेट शीर्षकभित्र व्यवसायी तथा आवासीय कर्जा, व्यावसायिक कम्प्लेक्स र जग्गा खरीद तथा प्लटिङ कर्जा प्रवाह गर्दै आएका छन् । यद्यपि रू. १ करोडसम्मको आवासीय कर्जालाई रियल इस्टेटमा गणना गर्न नपर्ने व्यवस्था राष्ट्र बैङ्कले गरेको छ ।

यद्यपि ३१ वाणिज्य बैङ्कमध्ये १३ वाणिज्य बैङ्कको रियल इस्टेट कर्जा बढेको छ । त्यस्तै २ ओटा बैङ्कले अघिल्लो वर्षकै हाराहारीमा कर्जा प्रवाह गरेका छन् भने १६ ओटा बैङ्कले कर्जा प्रवाह घटाएका छन् । सबैभन्दा बढी किष्ट बैङ्कले यस्तो कर्जा घटाएको छ । सो बैङ्कले करीब ३० प्रतिशतले कर्जा घटाएको देखिन्छ । अघिल्लो वर्ष रू. २ अर्ब ५६ करोड कर्जा प्रवाह गरेकोमा चालू आवको सोही अवधिमा भने रू. १ अर्ब ७८ करोडमा सीमित राखेको छ । त्यसैगरी, ग्लोबल आईएमई बैङ्कले २९ प्रतिशतले कर्जा घटाएको छ । अघिल्लो वर्ष रू. २ अर्ब ५६ करोड प्रवाह गरेकोमा चालू आवको सोही अवधिमा भने रू. १ अर्ब ८२ करोड मात्रै प्रवाह गरेको छ । त्यस्तै, नेपाल इन्भेष्टमेण्ट बैङ्कले २१ प्रतिशत, बैङ्क अफ काठमाण्डूले २० प्रतिशत र लक्ष्मी बैङ्कले १६ प्रतिशतका दरले यस्तो कर्जा घटाएका छन् ।

सोही अवधिमा कृषि विकास बैङ्कको यस्तो कर्जा सर्वाधिक २ सय १ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष रू. १६ करोड ९७ लाख कर्जा प्रवाह गरेकोमा चालू आवमा यो रकम बढाएर रू. ५१ करोड ७ लाख पुर्‍याएको हो । चालू आवको पहिलो ६ महीनासम्ममा यो क्षेत्रमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेण्टले लगानी गरेको छ । सो अवधिमा बैङ्कले रू. ५ अर्ब ६९ करोड लगानी गरेको छ ।

No comments:

Post a Comment