Wednesday, March 12, 2014

स्वरोजगारीको नयाँ क्षेत्र बन्दै शेयर लगानी व्यवसाय

काठमाडौं सिनामङ्गलकी सुशीला थपलिया एक कुशल गृहिणी हुन् । विवाहपछि थपलियाको जीवन घरपरिवारकै जिम्मेवारीमा रुमलिएको थियो । त्यसो त उनमा आत्मनिर्भर बन्ने चाहना नभएको भने होइन । तर, घरपरिवारको जिम्मेवारीसँगै सन्तान हुर्काउने दायित्व पनि उनकै काँधमा थियो । यति हुँदाहुँदै पनि उनी आफ्नै पहिचान बनाउन चाहन्थिन् । तर, घरको सबै काम गरिसक्दा उनीसँग थोरै समयमात्र बाँकी रहन्थ्यो । यो छोटो समयमा न त उनी जागीर खान सक्थिन्, न कुनै व्यवसाय नै शुरू गर्न । अन्नतः २ वर्षअघि उनलाई शेयर व्यवसायमा लगानी गर्ने अवसर जुट्यो । उनलाई यो अवसरबारे उनकै साथीले जानकारी गराएकी थिइन् । त्यतिबेला उनलाई ‘ढुङ्गा खोज्दा देवता मिले’जस्तै भयो । दोस्रो शेयर बजार अर्थात् सेकेण्डरी मार्केटबाट उनले लगानी गर्न शुरू गरिन् । शुरुआतमा उनले दैनिक खर्चबाट बचेको सानो रकमबाटै लगानीको थालनी गरेकी थिइन् । अहिले उनीसँग दर्जनौं बैङ्कका शेयर छन् । प्रत्येक दिन ब्रोकर कम्पनीमा जाने तथा साथीहरूसँग बसेर बजार विश्लेषण गर्ने उनको दिनचर्या नै बनेको छ । यो व्यवसायमा थोरै रकम तथा समयको लगानी गरेर पनि उनले राम्रो आम्दानी गरिरहेकी छिन् । आफ्ना आवश्यकता पूरा गर्न अहिले उनलाई कसैको भर पर्नुपर्दैन । त्यसका लागि उनी आफै सक्षम बनेकी छिन् ।
सुशीलामात्रै होइन, पोखराका सुजन कुँवर पनि आफ्नो बचेको समय सदुपयोग गर्दै शेयर व्यवसायमा लागिपरेका छन् । उनी बीबीएस तेस्रो वर्षका विद्यार्थी पनि हुन् । अध्ययनपछि बाँकी रहेको समय सदुपयोग गर्दै उनी यो व्यवसायमा अगाडि बढेका हुन् । जागीरभन्दा यो व्यवसाय नै भविष्यका लागि उचित भएको उनको अनुभव छ । दिनमा ३ घण्टामात्रै समय दिए पुग्ने भएकाले पनि यसलाई उनले व्यवसायिक रूपमै अघि बढाएका हुन् । ‘यसले मेरो अध्ययनलाई कुनै असर गर्दैन,’ उनले भने ‘बरु कोर्सका पुस्तकबाट प्राप्त गरेको सैद्धान्तिक ज्ञान व्यवहारमा प्रयोग मौका मिलेको छ, यसले त मेरो अध्ययन झन् सहज बनाइदिएको छ ।’ साथीहरूसँग गफ गरेर बिताउने समय प्रयोगमा ल्याउँदा त्यसको सदुपयोग हुने उनले बताए । बजारमा जाँदा प्रत्येक दिन नयाँ कुरा सिकिने भएकाले पनि यो व्यवसायमा कुनै कठिनाइ नभएको उनको भनाइ छ । वित्तीय जानकारीका साथमा यो व्यवसायले उनलाई आत्मनिर्भर बनाइदिएको छ । आफ्नो दैनिक खर्चका लागि अहिले उनी आफै सक्षम छन् । कहिलेकाहीँ घरखर्चका लागि समेत आफैले सहयोग गर्ने गरेको उनले बताए ।  
सुशीला तथा सुजनजस्तै थुप्रै व्यक्तिका लागि शेयर लगानी अहिले सजिलो व्यवसाय बन्न पुगेको छ । पछिल्लो केही समययता यस व्यवसायमा महिला तथा विद्यार्थीको आकर्षण बढ्न थालेको हो । थोरै समयको प्रयोगबाटै गर्न सकिने हुँदा गृहिणी तथा विद्यार्थीका लागि यो व्यवसाय सबैभन्दा उत्तम विकल्प भएको ब्रोकरहरू बताउँछन् । त्यतिमात्रै होइन, यो व्यवसायका लागि कुनै खास दक्षताको आवश्यकता पनि पर्दैन । सामान्य व्यक्तिले पनि काम गर्दै जाँदा यसमा दक्षता प्राप्त गर्न सक्ने एक लगानीकर्ताले बताए । उनी भन्छन्, ‘यो व्यवसाय शुरू गर्न ठूलो दक्षता र रकमको आवश्यकता पर्दैन ।’ त्यसैले, विद्यार्थी तथा महिलाले आफ्नो काम सकेर बचेको समय प्रयोग गरी यो व्यवसाय अँगाल्न सक्ने उनको भनाइ छ ।

के हो शेयर लगानी व्यवसाय ?

शेयर लगानी व्यवसाय भनेको नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कम्पनीको शेयर खदीरविक्री गर्नु हो । सामान्य शिक्षा प्राप्त गरेका व्यक्तिले पनि यो व्यवसाय सजिलै गर्न सक्छन् । बजारमा मुख्यतया दुई प्रकारका शेयरमा लगानी गर्न पाइन्छ– प्राथमिक शेयर तथा दोस्रो शेयर । प्राथमिक शेयर कुनै पनि कम्पनीले सर्वसाधारणलाई शेयर खरीद गर्न पहिलोपटक आह्वान गरी वितरण गर्ने शेयर हो । यस्तो खालको शेयर कम्पनीले आह्वान गरेको समयमा आवेदनपत्र भरी खरीद गर्न सकिन्छ । यस्ता शेयरको मूल्य सामान्यतया रू. १ सय हुन्छ । त्यसैगरी दोस्रो शेयर नेप्सेमा सूचीकृत भइसकेका कम्पनीको शेयर हो । यस्तो शेयर ब्रोकर कम्पनीबाट मात्रै खरीद गर्न सकिन्छ । ब्रोकर कम्पनीमा गएर आफूलाई मन परेको कम्पनीको शेयर खरीद गर्न सकिन्छ । साथै, आफूले चाहेको बेलामा विक्री गर्न पनि सकिन्छ । यस्तो शेयरको खरीदविक्री आइतवारदेखि बिहीवारसम्म बिहान १२ देखि ३ बजेसम्म मात्रै हुने गर्छ । थोरै मूल्यमा शेयर खरीद गरी धेरै मूल्यमा विक्री गर्दा नाफा प्राप्त गर्न सकिन्छ । त्यसैगरी कम्पनीहरूले वार्षिक रूपमा लाभांश पनि वितरण गरिरहेका हुन्छन् । यसबाट पनि थप आम्दानी हासिल गर्न सकिन्छ ।
नयाँ शेयर लगानीकर्ताले हल्लाको भरमा लगानी गर्न नहुने विश्लेषकहरू बताउँछन् । शेयर बजारलाई निकै संवेदशनशील क्षेत्र मान्ने गरिन्छ । सानो समाचारले पनि यसलाई ठूलो असर गर्छ । त्यसैले, नयाँ लगानीकर्ताले पहिले ब्रोकर कम्पनी वा विभिन्न पत्रपत्रिकाबाट जानकारी लिएर मात्र यसमा लगानी गर्नुपर्ने उनीहरूको धारणा छ ।

No comments:

Post a Comment