Monday, March 17, 2014

म्यूचुअल फण्डप्रति लगानीकर्ताको आकर्षण कम

चैत ३, काठमाडौं । नेपालमा शेयर बजारको संस्थागत लगानीकर्ता सामूहिक लगानीकोष (म्यूचुअल फण्ड)प्रति सर्वसाधारणको आकर्षण बढ्न सकेको छैन । कोषका एकाइहरू दोस्रो बजारमा खुद सम्पत्ति मूल्यभन्दा कममा किनबेच हुनुले यस्तो सङ्केत गरेको हो । प्रतिएकाइ अङ्कित मूल्य रू. १० कायम रहेको सामूहिक लगानीकोषका एकाइ हाल दोस्रो बजारमा रू. ९ देखि रू. १३ सम्ममा कारोबार भएका छन् । तर, ती एकाइको खुद सम्पत्ति मूल्य प्रतिएकाइ रू. १४ देखि रू. १७ सम्म पुगेको छ ।

नयाँ तथा विश्लेषणमा समय दिन नसक्ने लगानीकर्ताका लागि सामूहिक लगानीकोष सबैभन्दा उत्तम विकल्प हो । तर, नेपालको पूँजी बजार सानो छ, त्यसैले पनि सामूहिक लगानीकोषका योजना सफल हुन नसकेको नेपाल इन्भेष्टर्स फोरमका कार्यवाहक अध्यक्ष राजकुमार तिमिल्सिनाले बताए । उनका अनुसार कोषको लगानी पनि शेयरबजारमा नै आधारित छ । यस्तो अवस्थामा बजार घट्ने बाटोमा हिँडेमा लगानीकर्ता डुब्न सक्ने भएकाले पनि कोषप्रति लगानीकर्ताको विश्वास कम भएको उनको भनाइ छ ।


सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ–१

महीना औसत   खुद सम्पत्ति मूल्य रू.   अन्तिम बजार मूल्य रू.
साउन                      ११.७८                         ११.४२
भदौ                        ११.८७                         १०.८५
असोज                     १२.४५                         १०.५५
कात्तिक                   १२.८७                         ११.४२
मङ्सिर                    १५.०१                          १२
पुस                        १६.३३                           १२
माघ                      १६.२२                           १२.९५

साना लगानीकर्तालाई लक्षित गरी सामूहिक लगानीकोषको अवधारणा ल्याइएको हो । ठूलो लगानीमा पहुँच नभएका लगानीकर्ताले पनि लगानीकोषको युनिट खरीद गरी सानो लगानीबाट नै नाफा आर्जन गर्न सक्छन् । तर, शेयर बजारमा कारोबार हुने अन्य कम्पनीभन्दा कोषले दिने प्रतिफल न्यून हुने तथा त्यसका लागि लामो समय पखर्नुपर्ने हुँदा कोषका योजना त्यति प्रभावकारी हुन नसकेको सेक्योर्ड सेक्युरिटिजका सञ्चालक सन्तोष मैनालीले बताए । उनका अनुसार अधिकांश साक्षर लगानीकर्ता आफै दोस्रो बजारमा लगानी गरी छिटो र धेरै आम्दानी गर्न चाहन्छन् । कोषद्वारा लगानी गर्दा अतिरिक्त सञ्चालन खर्च पनि तिर्नुपर्ने भएकाले लगानीकर्ताहरू उत्साहित नभएका हुन् ।

नबिल ब्यालेन्स फण्ड–१

महीना औसत खुद         सम्पत्ति मूल्य रू.        अन्तिम बजार मूल्य रू.

साउन                               १०.७०                           १०.३०
भदौ                                 १०.७४                           १०.१०
असोज                              ११.३३                             ९.६८
कात्तिक                            ११.६४                           १०.०१
मङ्सिर                             १३.३१                            ११.३७
पुस                                 १४.३१                             ११.३७
माघ                                १४.५७                              ११.१८

सिद्धार्थ ब्यालेन्स फण्डका कार्यकारी अधिकृत धुव्र तिमिल्सिनाले नेपालको शेयर बजारमा दीर्घकालीन लगानीकर्ताभन्दा अल्पकालीन लगानीकर्ताको सङ्ख्या धेरै भएकाले सामूहिक लगानीकोषमा आकर्षण नभएको बताए । कुनै पनि सामूहिक कोषलाई आम्दानी गर्न कम्तीमा पनि ६ देखि १ वर्षको समय लाग्छ, तर नेपाली लगानीकर्ताहरूले भने १ महीनाभित्रमा नै प्रतिफल खोज्ने गरेको उनले बताए ।

गत सातासम्म सिद्धार्थ लगानी वृद्धि–१ को प्रतिएकाइ खुद सम्पत्तिको मूल्य रू. १५ दशमलव ७९ रहेता पनि बजारमूल्य भने रू. १३ रहेको छ । त्यसैगरी, नबिल ब्यालेन्स फण्ड–१ को प्रतिएकाइ खुद सम्पत्ति मूल्य रू. १४ दशमलव ४० रहेको छ भने बजार मूल्य रू. १२ रहेको छ ।

हालसम्म ६ ओटा सामूहिक लगानीकोष धितोपत्र बोर्डमा दर्ता भए पनि सिद्धार्थ क्यापिटल र नबिल इन्भेष्टमेण्टले क्रमशः सिद्धार्थ लगानी वृद्धि योजना–१ र नबिल ब्यालेन्स फण्ड–१ सञ्चालनमा ल्याएका छन् । ती संस्थाहरूले रू. १० अङ्कित मूल्यका ५ करोड र ७ करोड ५० लाख एकाइ सर्वसाधारणका लागि जारी गरेका छन् । अन्यले सर्वसाधारणमा एकाइ जारी गरेका छैनन् ।

No comments:

Post a Comment