Wednesday, March 5, 2014

एचआरको सही अभ्यास गराउन धेरै मेहनत गर्नुपर्नेछ

मोहन ओझा
प्रबन्ध निर्देशक, ग्रोथ सेलर्स प्रालि
तपाईंहरू विगत ७ वर्षदेखि एचआर सम्मेलनको आयोजना गर्दै आउनुभएको छ । यसबाट विगतमा हासिल भएका उपलब्धि र यो वर्षको अपेक्षाबारे बताइदिनुहोस् न ?
हामी सन् २००८ देखि एचआर मीट अर्थात् सम्मेलनको आयोजना गर्र्दै आएका छौं । त्यसैगरी विगत ४ वर्षदेखि हामी ‘एचआर म्यानेजर अफ दि इयर’को अवार्डसमेत वितरण गर्दै आएका छौं । जुन बेला हामीले यस्तो गोष्ठीको आयोजना शुरू गरेका थियौं, त्यतिबेला नेपालमा मुश्किलले ४०/५० ओटा कम्पनीमा मात्रै एचआर विभाग थियो । अधिकांश कम्पनीमा एचआरको काम प्रशासनले गर्दै आएको अवस्था थियो । तर, ५ वर्षको अवधिमा नेपालका करीब ४ सय कम्पनीमा एचआर विभाग स्थापना भइसकेको छ । यस अवधिमा कतिपय कलेजले समेत एचआर विषयलाई भिन्न विषयको रूपमा अध्यापन गराउन थालेका छन् । कतिपय विद्यार्थीले त एचआर विषयमा नै आफ्नो डिग्री लिनसमेत थालेका छन् । त्यसैगरी विदेश अध्ययन गर्न जाने विद्यार्थी पनि एचआरमै विज्ञता हासिल गरेर फर्किन थालेका छन् । यो हामीले विगतका वर्षका गरेका कार्यको प्रतिफल हो । नेपालको कर्पोरेट क्षेत्रमा एचआरको अवधारणा स्थापित गर्नु नै हाम्रो पहिलो लक्ष्य हो, जसमा हामी करीब सफल पनि भएका छौं । अबको हाम्रो लक्ष्य कुनै पनि संस्थाले एचआरलाई आफ्नो नीतिमा पनि समावेश गराओस् भन्ने हो । त्यसैले, अहिले हामी एचआरलाई संस्थाको स्ट्राटेजी अर्थात् रणनीतिभित्रै राख्ने संस्कृतिको अभ्यास गराउन लागिपरेका छौं ।

मानव संसाधनका सम्बन्धमा जनचेतना फैलाउनुबाहेक यस सम्मेलनका अन्य उद्देश्य केके छन् ?
नेपालमा एचआरको इतिहास धेरै पुरानो छैन । त्यसैले, यहाँ एचआरको सही अभ्यास गराउन धेरै मेहनत गर्नुपर्नेछ । यसै परिप्रेक्ष्यमा हामी एचआर मीटको आयोजना गर्दै आएका छौं । एचआर मीटको प्रमुख उद्देश्य नेपालको कर्पोरेट स्तरमा एचआरको व्यापकता र महत्व सबैलाई बुझाउनु हो । ताकि, हरेक संस्थाले एचआरको आवश्यकता महसूस गर्न सकोस् । यसले कुनै पनि संस्थालाई बलियो बनाउन सहयोग गर्नेछ ।


यो सम्मेलनबाट सहभागीले केकस्ता उपलब्धि हासिल गर्न सक्छन् ?
हामीले सहभागीको निश्चित कोटा राखेका छौं, जहाँ २ सय जनाको मात्र सहभागिता रहनेछ । यस सम्मेलनमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रबाट पनि सहभागिता हुनेछ । कुनै पनि संस्थाको जिम्मेवार पदमा रहेका व्यक्तिले यो सम्मेलनमा भाग लिन पाउनेछन् । एचआरको काम, कर्तव्य तथा उपयोगिताबारे थप जानकारी दिन हामीले आन्तरिक तथा बाह्यस्तरका वक्तालाई बोलाउने गरेका छौं । जस्तै, यसपटक हामीले यस विषयमा विज्ञता हासिल गरिसकेका अन्तरराष्ट्रिय स्तरका प्रवक्ता अभा मर्यादा बनर्जी, डक्टर प्रोफेसर मौसमी सेनगुप्ता तथा डा. नीलाञ्जन सेनगुप्तालाई निम्त्याएका छौं । त्यसैगरी देउराली जनता फर्मास्युटिकलका कार्यकारी अध्यक्ष हरिभक्त शर्मालाई पनि वक्ताको रूपमा आमन्त्रण गरिएको छ । सहभागीले यस्ता विज्ञ व्यक्तिहरूबाट एचआरको औचित्य र महत्वबारे धेरै जानकारी प्राप्त गर्न सक्नेछन् ।

तपार्इंहरू हरेक वर्ष एचआर म्यानेजर अफ दि इयर सम्मान पनि प्रदान गर्दै आउनुभएको छ । यसबाट कस्तो प्रतिक्रिया प्राप्त भइरहेको छ ?
हामी विगत ४ वर्षदेखि एचआर म्यानेजर अफ दि इयर अवार्डका साथै नगद ५० हजार पनि प्रदान गर्दै आएका छौं । सम्बन्धित विषयमा दक्ष व्यक्तिलाई थप प्रोत्साहन प्रदान गर्न हामीले यो अवार्ड वितरण गर्ने गरेका हौं । सबै क्षेत्रबाट यस कार्यको प्रशंसा भइरहको छ । एउटा एचआरलाई अवार्ड दिँदा अन्य १० जना म्यानेजर प्रोत्साहित भएका छन् । यसले आगामी वर्ष आफू पनि सम्मानित हुने आशामा राम्रो प्रस्तुति गर्नेतर्फ उनीहरूलाई प्रेरित गरिरहेको छ ।

विश्वमा मानव संसाधन व्यवस्थापनका नवीनतम अभ्यास भइरहेका छन् । तिनको प्रयोग नेपालमा कत्तिको भएको छ ? त्यसमा आसन्न एचआर मीट कत्तिको फलदायी हुने अपेक्षा गर्नुभएको छ ?
एचआर संस्थालाई नै नेतृत्व गर्ने विभाग हो, जसले कर्मचारी र व्यवस्थापनबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्छ । कर्मचारीको समस्याबारे बुझ्ने र सम्बोधन गर्ने काम पनि एचआर विभागले नै गर्छ । आवश्यकताअनुसार कर्मचारीको क्षमता अभिवृद्धि गर्ने काम पनि एचआरको नै हो । त्यसैले, अन्तरराष्ट्रिय स्तरमा यसको प्रयोगमा व्यापकता आइरहेको छ । तर, नेपालमा भने जति यसको प्रयोग हुनुपर्ने हो, त्यति मात्रामा हुन सकेको छैन । नेपालमा अझै पनि मानव संसाधान व्यवस्थापन प्रशासनभित्रकै एक सहायक काम हो भन्ने खालको भ्रम छ । यद्यपि, केही समयदेखि भने यसको विस्तारै यसको छुट्टै अभ्यास हुन थालेको छ । एचआर विषयबारे अफै स्पष्ट पार्न र व्यापकता बढाउन हामीले यस्तो सम्मेलनको आयोजना गरेका हौं । यसले अवश्य पनि एचआर विषयलाई आम बनाउन सहयोग पुर्‍याउनेछ ।

बजार सुहाउँदो जनशक्ति उत्पादनका लागि त रोजगारदाता र शिक्षण संस्थाबीच सहकार्य आवश्यक रहेको विषय अहिले विश्वभरि नै प्रमुखताका साथ उठिरहेको छ । यस्तो सम्मेलन गरेरमात्रै हाम्रो बजार सुहाउँदो जनशक्ति उपलब्ध गराउन सकिन्छ र ?
हरेक मुलुकमा राजनीतिले सबै क्षेत्रलाई प्रभाव पारेको हुन्छ । नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । यतिबेला नेपालको राजनीतिक अवस्था अस्थिर छ । जबसम्म राजनीति एउटा निश्चित ट्र्याकमा आउँदैन, तबसम्म कर्पोरेट क्षेत्रले पनि उचित ट्र्याक लिन सक्दैनन् । हामी चाहन्छौं, यथाशीघ्र राजनीतिक वातावरण सकारात्मक बनोस् । युवाले स्वदेशमै रोजगारीको अवसर पाउन सकून् । यसका लागि हामीले एचआर मीटको थालनी गरेका हौं । यो हामीले मात्रै गरेर सम्भव छैन । हामीले त व्यावसायिक–सामाजिक उत्तरदायित्वभित्र रहेर सानो प्रयासमात्र गरेका हौं । यसलाई अझै विस्तार गर्न निजी, सरकारी तथा गैरसरकारी सबै क्षेत्रबाट सहयोगको आवश्यकता छ । यसलाई सबैले अभियानको रूपमै अगाडि बढाउनुपर्छ ।

No comments:

Post a Comment