Friday, February 28, 2014

कसरी आकर्षक बनाउने बगैंचा ?

घर सुन्दर बनाउन बगैंचाको भूमिका महत्वपूर्ण हुन्छ । वनस्पति तथा रङ्गीविरङ्गी फूलले ढकमक्क बगैंचाले घरको सुन्दरतामात्र नभई मानिसको मानसिक अवस्थामा समेत सकारात्मक प्रभाव पारिरहेको हुन्छ । तसर्थ, घर बनाउँदा बगैंचा निर्माणमा पनि उत्तिकै ध्यान दिनु जरुरी छ । बगैंचाका मौसमी तथा सदावहार बोटबिरुवाले घरको सौन्दर्यमा वृद्धि गर्ने हुनाले बगैंचालाई ठूला रूख, फूल तथा हेजले विभाजित गरेर आकर्षक बनाउन सकिन्छ । त्यस्तै, क्याक्टस, मौसमी फूल, ग्रीन प्लाण्टदेखि बाह्रमासे फूल आदि लगाएर पनि बगैंचामा आकर्षण थप्न सकिन्छ । सूर्यको किरण कुन ठाउँबाट आउँछ, त्यसमा ध्यान दिई आवश्यक जानकारी लिएरमात्र बिरुवा रोप्नु उचित हुन्छ ।

विशेषगरी बगैंचा निर्माणका लागि पहिले नै उत्कृष्ट योजना बनाउनुपर्छ । योजना बनाउनुपूर्व बगैंचा निर्माण गर्ने खाली स्थान कति छ भन्ने थाहा पाउनुपर्छ । सोहीअनुसार बगैंचामा ठूला रूखदेखि हेजसम्म बनाउन सकिन्छ । हरियालीमय बगैंचाले मनमा शान्तिको अनुभूति गराउँछ । साथै, दिनभरि कामकाजमा व्यस्त शरीर तथा मस्तिष्कमा ऊर्जा पैदा गराउँछ । त्यसैले पनि पहिलेको तुलनामा हिजोआज घरमा बगैंचा बनाउने चलन बढिरहेको छ ।


हेज
बगैंचा आकर्षक देखाउन बारहरू बनाइएका हुन्छन् । त्यस्ता हरित बारलाई ‘हेज’ भनिन्छ । हेजले बगैंचालाई सुन्दर देखाउँछ । यदि बगैंचा निर्माणका लागि ठूलो स्थान छ भने हेज लगाउनु उपयुक्त हुन्छ । बगैंचामा हेज लगाउने भए त्यो २ देखि ३ फीट अग्लो र सवा फीट चौडाको हुनुपर्छ । यसलाई पानी पर्नुभन्दा पहिले रोप्नुपर्छ । मेहन्दी, मुराया, निलकाँडा, डुरान्ताले बगैंचामा राम्रो हेजको काम गर्छन् । नर्सरीबाट १० इञ्च लामो हेज खरीद गर्नुपर्छ । यसलाई दोहोरो लाइन बनाएर रोप्नुपर्छ । जरा बसेपछि त्यसलाई विस्तारै छाँट्नुपर्छ । ठूलो भएपछि ५ महीनाको अन्तरमा छाँट्नुपर्छ । यसो गर्दा हेज बढ्न र बाक्लो हुन मद्दत पुग्छ । यसले बगैंचालाई पार्टेशन गरी नयाँ स्वरूप प्रदान गर्न सकिन्छ । हेजलाई ठाउँ छुट्ट्याउन, विभिन्न आकृति, बोर्डर, किनारा र पर्खाल बनाउन प्रयोग गरिन्छ । विशेषगरी जेठ असार हेज बनाउन उपयुक्त महीना हो । यतिबेला गर्मीले पुरानो हेज डढेर नराम्रो देखिन्छ । वर्षात्मा हेज चाँडै हुर्कन्छ । गर्मी महीनामा बगैंचाको रूपरङ परिवर्तन हुन्छ । गर्मीमा थुप्रै बिरुवा डढ्छन् । त्यसैले मरेका एवम् डढेका बिरुवाको ठाउँमा नयाँ बिरुवा रोप्नुपर्छ । पहेँला तथा मरेका पात–डाँठका साथै अनावश्यक हाँगा पनि काट्नुपर्छ ।

फूल फुल्ने बिरुवा
बगैंचाको पहिलो आकर्षण नै फूल हो । फुलेका फूलले बगैंचालाई जीवन्त बनाउँछ । त्यसैले, बगैंचामा मौसमअनुसार फुल्ने फूल लगाउनु उपयुक्त हुन्छ । फूल फुल्ने बिरुवा तथा लहरे फूलका लागि सानो खाल्डो खन्नुपर्छ । यसका लागि २ फीट गहिरो र १ फीट चौडा खाल्डो खन्नुपर्छ र त्यसपछि बिरुवा रोप्नुपर्छ । लहरे बिरुवाजस्तै बेगनबेलिया भित्ता र पर्खालमा लगाउनुपर्छ । बिरुवाको दूरी ४ देखि ६ फीट हुनुपर्छ । बिरुवा बढेर माथि जाओस् भनी धागोले बानेर सपोर्ट दिन सकिन्छ । त्यस्तै, चमेली र मधुमालती पनि भित्तामा लगाउन सकिन्छ । फूल फुल्ने बिरुवा जस्तै– चम्पक, चमेली, भण्टी, लालुपाते, बेली, गुलाब आदिलाई घाम आउने ठाउँमा रोप्नुपर्छ । केही फूल फुल्ने बिरुवा लाहुरे, सुपारी, सयपत्री, जङ्गली गुलाब आदिलाई भने छायाँमा रोप्नुपर्छ ।

रूख
घरवरपरि निम, गुलमोहर, पाइन, कदम, बकाइना, जमुना, नरिवल, आँप, लिची एवम् अम्बा आदिका बिरुवा रोप्न सकिन्छ । एउटादेखि अर्को १२ फीटको अन्तरमा बिरुवा रोप्नुपर्छ । यो घरको केही पर हुनुपर्छ । तर, रूखले घरमा आउने घाम भने छेक्न दिनुहुँदैन । रूख रोप्दा साढे २ फीट गहिरो र सवा फीट फराकिलो खाल्डो खन्नुपर्छ । रूख रोप्दा माटोमा भएका ढुङ्गालगायत वस्तु फाल्नुपर्छ । जमीन धेरै बलौटे हुनुहुँदैन ।

सजावट सामग्रीको प्रयोग
बगैंचा सजाउन विभिन्न विभिन्न प्रकारका फूलका साथै अन्य सामग्रीको पनि प्रयोग गर्न सकिन्छ । जस्तै– विभिन्न खालका फर्निचर, बर्डबाथ र बर्डहाउस, डेकोरेटिभ लाइट्स, विण्ड चाइम्स, वाटर फाउण्टेन, स्ट्याच्यू, गार्डेन स्टेक्स, गार्डेन विण्डमिल्स आदिको प्रयोग गर्न सकिन्छ । यस्ता सामग्रीले बगैंचा थप आकर्षक बनाउन सहयोग पुर्‍याउँछ ।

No comments:

Post a Comment