Sunday, February 2, 2014

निर्धारित चुक्ता पूँजी नपुगेका बैङ्कको शेयरमा आकर्षण


मुना कुँवर
पछिल्लो समयमा नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसार चुक्ता पूँजी पुगेका बैङ्क तथा वित्तीय संस्थाका शेयरमा सर्वसाधारण लगानीकर्ताको आकर्षण बढ्दा त्यस्ता संस्थाको शेयरमूल्य उकालो लागेको छ । बैङ्क तथा वित्तीय संस्थालाई चुक्ता पूँजी बढाउन राष्ट्र बैङ्कले दिएको अन्तिम समयावधि नजिकिँदै गर्दा यस्ता कम्पनीतर्फ लगानीकर्ताको आकर्षण बढ्न थालेको नेपाल इन्भेष्टर्स फोरमका कार्यवाहक अध्यक्ष राजकुमार तिमिल्सेनाले बताए । यस्ता बैङ्क तथा वित्तीय संस्थाले तोकिएको चुक्ता पूँजी पुर्‍याउन बोनस शेयर वितरण गर्ने अधिक सम्भावना भएकाले शेयरको माग र मूल्य बढ्ने गरेको उनले बताए ।
नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूलाई आव २०७०/७१ को असार मसान्तसम्ममा चुक्ता पूँजी रू. २ अर्ब पुर्‍याउन निर्देशन दिएको छ । त्यसअनुसार अहिले सञ्चालनमा रहेका ३१ वाणिज्य बैङ्कमध्ये २४ ओटाले चुक्ता पूँजी बढाइसकेका छन् । तर, एभरेष्ट, बैङ्क अफ काठमाडौं, सिद्धार्थ, कुमारी, लक्ष्मी, एनसीसी र लुम्बिनी गरी सातओटा बैङ्कले चुक्ता पूँजी पुर्‍याएका छैनन् । सेञ्चुरी बैङ्कले भने सर्वसाधारणलाई शेयर जारी गरिसकेकाले चुक्ता पूँजी रू. २ अर्ब पुग्ने भएको छ । बाँकी बैङ्कले भने बोनस वा हकप्रद शेयरमार्फत चुक्ता पूँजी बढाउने अनुमान गरिएको छ । त्यसैले, यस्ता बैङ्कको शेयर खरीद गर्दा थप शेयर पाइने भएकाले लगानीकर्ताको आकर्षण बढ्ने गरेको धितोपत्र लगानीकर्ता सङ्घका उपाध्यक्ष रमेश निरौलाले बताए ।
राष्ट्र बैङ्कले चुक्ता पूँजी बढाउन दिएको निर्देशनले बैङ्करूलाई लाभांश वितरण गर्न तथा मर्जरमा जान नैतिक दबाब परेको छ । बैङ्कहरूले अग्राधिकार शेयर, हकप्रद शेयर, बोनस शेयर तथा मर्जरमा गएर चुक्ता पूँजी बढाउन सक्ने भए तापनि अधिकांश कम्पनीले बोनस शेयर वितरण तथा मर्जरको प्रक्रिया अपनाएका छन् । अहिलेसम्म पाँचओटा वाणिज्य बैङ्कले मर्जरको विकल्प अपनाइसकेका छन्, जसमध्ये माछपुच्छ्रे बैङ्क तथा स्ट्याण्डर्ड फाइनान्स बीच मर्जर भएको थियो । त्यस्तै, एनआईसी बैङ्क तथा बैङ्क अफ एशियाका साथै ग्लोबल आईएमई बैङ्क, सोसियल डेभलपमेण्ट बैङ्क तथा गुल्मी विकास बैङ्कबीच मर्जर भइसकेको छ । साथै, अन्य आधा दर्जनभन्दा बढी वाणिज्य बैङ्क मर्जरको प्रक्रियामा छन् ।
केन्द्रीय बैङ्कले चुक्ता पूँजी बढाउन धेरै पहिलादेखि नै निर्देशन दिए तापनि यसको कार्यान्वयन भने हुन सकेको छैन । बैङ्कले विभिन्न समयमा यस्ता निर्देशन जारी गरे पनि कार्यान्वयन भने गर्न नसकेको फोरमका कार्यवाहक अध्यक्ष तिमिल्सेनाले बताए । बैङ्कले गत असार मसान्तमा नै चुक्ता पूँजी पूरा गर्न निर्देशन दिए पनि अन्तिम समयमा निर्णय परिवर्तन गरी १ वर्ष थप गरेको हो । त्यसरी केन्द्रीय बैङ्कले पटकपटक समयसीमा थप गर्दा धेरै सर्वसाधारण लगानीकर्ता अन्योलमा परेको उनले बताए । त्यसैले, यो वर्ष राष्ट्र बैङ्कले निर्णय कार्यान्वयन गर्नेमा लगानीकर्ता विश्वस्त रहेकाले पनि त्यस्ता बैङ्कको शेयरमा आकर्षण बढेको हो ।

एभरेष्ट बैङ्क
एभरेष्ट बैङ्क भारतीय पञ्जाब नेशनल बैङ्कसँगको साझेदारीमा स्थापना भएको हो । नेपालमा सन् १९९४ देखि यो बैङ्क सञ्चालनमा आएको हो । बैङ्कमा पञ्जाब नेशनल बैङ्कको २० प्रतिशत स्वामित्व छ । त्यसैगरी स्वदेशी संस्थाको १२ प्रतिशत तथा सर्वसाधारणको ६८ प्रतिशत स्वामित्व छ । चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैङ्कको चुक्ता पूँजी रू. १ अर्ब ९२ करोड छ । चुक्ता पूँजी बढाउन यस बैङ्कले गत आवसम्मको सञ्चित नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर तथा ५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यसअघि पनि बैङ्कले राम्रो प्रतिफल दिँदै आएको छ । बैङ्कको वित्तीय विवरणअनुसार रू. ३५ करोड १० लाख खुद मुनाफा आर्जन गरेको छ । बैङ्कको प्रतिशेयर नेटवर्थ रू. २ सय ८० दशमलव ८६ छ ।

बैङ्क अफ काठमाण्डू
बैक अफ काठमाण्डू सन् १९९५ देखि सञ्चालनमा आएको हो । बैङ्कले पुस ३० गते प्रकाशन गरेको चालू आवको दोस्रो त्रैमासिक विवतरणअनुसार चुक्ता पूँजी रू. १ अर्ब ९२ करोड छ । चुक्ता पूँजी बढाउन विभिन्न समयमा बैङ्कले मर्जरको अभ्यास गरेको थियो ।
तर, अहिलेसम्म मर्जरमा जान सकेको छैन । आगामी दिनमा चुक्ता पूँजी बढाउन बैङ्कले मर्जरको विकल्प नै अपनाउने लगानीकर्ताले अनुमान गरेका छन् । पछिल्लोपटक पनि इण्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनीसँग मर्जरमा जाने समाचार आएका थिए । बैङ्कको वित्तीय विवरणअनुसार रू. २५ करोड ४ लाख खुद मुनाफा आर्जन गर्न सफल देखिन्छ । बैङ्कको प्रतिशेयर आम्दानी रू. २६ दशमलव शून्य ९ छ भने प्रतिशेयर नेटवर्थ रू. १ सय ८५ दशमलव १४ छ । बैङ्कको गत कात्तिक ९ गते सम्पन्न साधारणसभाले १४ प्रतिशत बोनस शेयर तथा शून्य दशमलव ७३६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

सिद्धार्थ बैङ्क  
सिद्धार्थ बैङ्क सन् २००२ देखि सञ्चालनमा आएको हो । बैङ्कमा संस्थापक शेयर स्वामित्व ५१ प्रतिशत छ भने सर्वसाधारणको ४९ प्रतिशत छ । बैङ्कको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार चुक्ता पूँजी रू. १ अर्ब ८१ करोड छ । चुक्ता पूँजी बढाउन बैङ्कले मर्जरमा जाने तयारी गरेको समाचार पनि प्रकाशित भएका थिए । तर, औपचारिक रूपमा भने बैङ्कले मर्जरमा जाने कुनै निर्णय गरेको छैन । त्यसैले, बैङ्क बोनस शेयर वितरण गरेर नै चुक्ता पूँजी बढाउने प्रयासमा छ । गत बुधवार सम्पन्न बैङ्कको साधारणसभाले १२ प्रतिशत बोनस शेयर तथा १० दशमलव ११ प्रतिशत नगद लाभांश वितरण पारित गरेको छ । वित्तीय विवरणअुनसार बैङ्क रू. २४ करोड २५ लाख खुद मुनाफा आर्जन गर्न सफल देखिन्छ । बैङ्कको प्रतिशेयर आम्दानी रू. २६ दशमलव ७५ छ भने प्रतिशेयर नेटवर्थ रू. १ सय ५१ दशमलव ३५ छ ।

एनसीसी बैङ्क
श्रीलङ्काको बैङ्क अफ सियोलसँगको साझेदारीमा सन् १९९६ मा यस बैङ्कको स्थापना भएको थियो । बैङ्कले गत पुस ३० प्रकाशित गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार चुक्ता पूँजी रू. १ अर्ब ४७ करोड छ । चुक्ता पूँजी बढाउन बैङ्कले बोनस शेयर वितरण गर्ने सम्भावना रहेको लगानीकर्ता बताउँछन् । पछिल्लो वित्तीय विवरणअनुसार बैङ्क रू. १५ करोड ९९ लाख खुद मुनाफा आर्जन गर्न सफल देखिन्छ । बैङ्कको प्रतिशेयर आम्दानी रू. २१ दशमलव शून्य ८ छ भने प्रतिशेयर नेटवर्थ रू. १ सय ६६ दशमलव १२ छ ।

लुम्बिनी बैङ्क
लुम्बिनी बैङ्कले चुक्ता पूँजी बढाउन मर्जर प्रक्रिया अपनाएको छ । बैङ्कले मञ्जुश्री फाइनान्ससँग मर्जरमा जाने निर्णय गरेको हो । दुवै पक्षको सम्झौतापछि पुस २७ गतेदेखि दुवै कम्पनीको कारोबार रोक्का भएको छ । पछिल्लो त्रैमासिक वित्तीय विवरणअनुसार यस बैङ्कको चुक्ता पूँजी रू. १ अर्ब ६० करोड छ भने उक्त फाइनान्सको चुक्ता पूँजी रू. २२ करोड ५० लाख छ । मर्जरपछि बन्ने नयाँ बैङ्कको चुक्ता पूँजी भने करीब रू. १ अर्ब ७५ करोड पुग्नेछ  । सन् १९९६ मा स्थापना भएको लुम्बिनी बैङ्कमा ६६ प्रतिशत स्वामित्व संस्थापकको छ भने ३४ प्रतिशत सर्वसाधारणको छ । बैङ्कको पछिल्लो वित्तीय विवरणअनुसार खुद मुनाफा रू. २ करोड ४८ लाख पुगेको छ । त्यसैगरी बैङ्कको प्रतिशेयर आम्दानी रू. २ दशमलव ६० छ भने प्रतिशेयर नेटवर्थ रू. १ सय ३७ दशमलव ८५ छ । गत पुस २६ गते बसेको बैङ्कको सञ्चालक समिति बैठकले ८ प्रतिशत बोनस शेयर तथा शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । 

कुमारी बैङ्क

कुमारी बैङ्कको स्थापना सन् २००१ मा भएको हो । बैङ्कमा ७० प्रतिशत संस्थापक शेयर छ भने ३० प्रतिशत सर्वसाधारणको स्वामित्व छ । पछिल्लो वित्तीय विवरणअनुसार बैङ्कको चुक्ता पूँजी रू. १ अर्ब ६० करोड छ । बैङ्कले अहिलेसम्म लाभांश घोषणा गरेको छैन । चुक्ता पूँजी बढाउन बैङ्कले बोनस शेयर विरतण गर्न सक्ने लगानीकर्ताको अनुमान छ । चालू आवको दोस्रो त्रैमाससम्ममा बैङ्कले रू. ४ करोड ६४ लाख खुद नाफा कमाएको छ । सो अवधिमा प्रतिशेयर आम्दानी रू. १९ दशमलव ९ छ भने प्रतिशेयर नेटवर्थ रू. १ सय ६९ दशमलव ३६ छ ।

लक्ष्मी बैङ्क

लक्ष्मी बैङ्कको स्थापना सन् २००२ मा भएको हो । बैङ्कमा संस्थापकको शेयर ५५ दशमलव ४२ प्रतिशत, नागरिक लगानी कोषको ९ दशमलव शून्य २ प्रतिशत र सर्वसाधारणको ३५ दशमलव ५६ प्रतिशत स्वामित्व छ । चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैङ्कको चुक्ता पूँजी रू. १ अर्ब ६९ छ । यसले पनि चुक्ता पूँजी बढाउन बैङ्कले बोनस शेयरको विकल्प रोज्न सक्ने लगानीकर्ताको अनुमान छ । चालू आवको दोस्रो त्रैमाससम्ममा बैङ्कले रू. १४ करोड ४५ लाख खुद मुनाफा कमाएको छ । सो अवधिमा बैङ्कको प्रतिशेयर आम्दानी रू. १७ दशमलव २२ छ भने प्रतिशेयर नेटवर्थ रू. १ सय ६८ दशमलव ७४ छ । गत आवका लागि बैङ्कले १० प्रतिशत बोनस शेयर वितरण गरेको छ ।

No comments:

Post a Comment