Sunday, February 23, 2014

विराटनगरमा दैनिक १ करोडसम्म शेयर किनबेच

काठमाडौं । पछिल्लो समय नेपालको शेयर बजार काठमाडौंबाहिरका लगानीकर्ताका माझमा पनि विस्तारै लोकप्रिय बन्दै गएको छ । काठमाडौंबाहिरका शहरमा स्थापित ‘रिमोट वर्किङ स्टेशन– आरडब्ल्यूएस’मा बढ्दै गएको शेयर व्यापार र त्यहाँको सर्वसाधारणको शेयर किनबेचमा बढ्दै गएको सहभागिताले यस्तो देखाएको हो ।

पूर्वाञ्चलको आर्थिक केन्द्र विराटनगरमा शेयर कारोबार बढ्न थालेको छ । विराटनगरमा औसत दैनिक रू. ७० लाखभन्दा बढीको व्यापार हुने गरेको ब्रोकर कम्पनीका स्थानीय वर्क स्टेशन म्यानेजरहरूले बताएका छन् । पहिले दैनिक औसत रू. १० देखि २० लाखको हाराहारीमा मात्रै शेयर व्यापार हुने गरेको थियो । उनीहरूका अनुसार विराटनगरका अधिकांश लगानीकर्ता बीमा तथा जलविद्युत् कम्पनीतर्फ आकर्षित हुने गरेका छन् ।


विराटनगरमा हाल दुई ब्रोकर कम्पनीको रिमोट वर्क स्टेशन सञ्चालनमा छन् । अग्रवाल सेक्युरिटिज–६ सहित अन्य एक कम्पनीले २०६७ सालदेखि विराटनगरमा वर्क स्टेशन सञ्चालन गरिरहेको छ । राजनीतिक वातावरणमा सुधार हुन थालेपछि त्यहाँको शेयर व्यापारमा पनि सुधार हुन थालेको हो । विराटनगरमा सञ्चालित दुई ब्रोकर कम्पनीद्वारा दैनिक रू. ७० लाखदेखि रू. १ करोडसम्म शेयर खरीदविक्री हुने गरेको छ । शेयरबजार परिसूचक न्यूनतम विन्दुमा हुँदा दैनिक रू. ५ देखि ६ लाखसम्मको कारोबार हुने गरेकोमा अहिले आफ्नो कम्पनीले मात्रै रू. २५ लाखसम्मको व्यापार गर्ने गरेको अग्रवाल सेक्युरिटिजका वर्क स्टेशन म्यानेजर विनोदकुमार अग्रवालले बताए । बजारमा दीर्घकालीन तथा अल्पकालीन दुवै खालका लगानीकर्ताको उपस्थिति छ । यद्यपि, अल्पकालीनकर्ताको सङ्ख्या भने अधिक भएको उनले बताए । त्यस्ता लगानीकर्ताको बीमा, जलविद्युत् तथा बैङ्किङ कम्पनीमा बढी आकर्षण रहेकोसमेत उनले बताए । अर्को ब्रोकर कम्पनीका वर्क स्टेशन म्यानेजरले भने अहिले न्यूनतम रू. ४० लाखदेखि अधिकतम रू. १ करोडसम्मको व्यापार गर्ने गरेको बताए । अघिल्लो साता बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण रहे तापनि अहिले भने बैङ्किङ तथा जलविद्युत्तर्फ बढेको उनले बताए ।

परिसूचक बढेसँगै विराटनगरमा पनि नयाँ लगानीकर्ताको सङ्ख्या बढ्न थालेको छ । धेरै नयाँ लगानीकर्ता बजारमा प्रवेश गरेकोे म्यानेजर अग्रवालले बताउँछन् । तुलनात्मक रूपमा पहिलाभन्दा अहिले लगानीकर्तामा लगानीसम्बन्धी चेतनाको पनि वृद्धि भएको छ । स्वविवेकले लगानी गर्ने लगानीकर्ताको सङ्ख्या बढ्न थालेको उनीहरूको दाबी छ । पहिला अन्योलमा लगानी गर्नेहरू अहिले बुझेर लगानी गर्न थालेका छन् । बुझेर लगानी गर्नेको सङ्ख्या बढेकाले पनि वास्तविक व्यापार हुने गरेको उनीहरूको बुझाइ छ । विराटनगर नेपालको प्रमुख व्यापारिक शहरमध्ये एक हो । त्यसैले पनि विराटनगरमा व्यावसायिक व्यक्तिको सङ्ख्या धेरै छ । तर, शेयर बजारको विषयमा भने धेरै कम व्यक्तिलाई मात्र जानकारी भएको उनीहरूको भनाइ छ । ‘नेपाल धितोपत्र बोर्डले समय समयमा छलफल कार्यक्रम आयोजना गर्छ,’ अग्रवालले भने, ‘लगानीकर्ताका लागि यो छलफल भने पर्याप्त छैन ।’ लगानीकर्ता उत्साहित भए पनि शेयर खरीदविक्रीका क्रममा धेरै समस्या भोग्नु परेको उनले बताए । उनका अनुसार सीडीएस एण्ड क्लियरिङ प्रविधिको अभावका कारण हस्ताक्षर प्रमाणित गर्न हप्ता दिन लाग्नेजस्ता समस्याले लगानीकर्ता तथा कम्पनीहरू मर्कामा पर्ने गरेका छन् ।

No comments:

Post a Comment