Wednesday, January 29, 2014

संस्थाको सफलतामा कर्मचारीको ठूलो भूमिका हुन्छ

संस्थाको सफलतामा कर्मचारीको ठूलो भूमिका हुन्छविनोदप्रसाद मिश्र
प्रमुख, मानव संसाधन विभाग, जीफोरएस सेक्युरिटिज सर्भिस नेपाल
जीफोरएस सेक्युरिटिज सर्भिस नेपाल सुरक्षा सेवा प्रदान गर्ने नेपालकै पहिलो कम्पनी हो । यो कम्पनी ‘जीफोरएस लण्डन’को सब्सिडियरी कम्पनी हो । लण्डनमा १ सय वर्षअगाडि स्थापित यस कम्पनीको स्थापना नेपालमा भने २०५३ सालमा भएको हो । कम्पनीको मुख्य कार्यालय काठमाडौंको लाजिम्पाटमा छ । नेपालमा कम्पनीको चारओटा शाखा र सातओटा उपशाखा सञ्चालनमा छन् । यसैगरी कम्पनीले धनगढीमा क्षेत्रीय तालीम केन्द्र सञ्चालन गर्दै आएको छ । सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्नु आफ्नो उद्देश्य रहेको कम्पनीले बताएको छ । हाल यस कम्पनीमा ५ हजार कर्मचारी कार्यरत छन् । व्यवस्थापनको रणनीति, कर्मचारीको परिचालन, छनोटलगायत विषयमा अभियान संवाददाता मुना कुँवरले कम्पनीका मानव संसाधन विभाग प्रमुख विनोदप्रसाद मिश्रसँग गरेको कुराकानीको सार :

नेपालको मानव संसाधन व्यवस्थापनको अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
नेपालमा भर्खरैमात्र उद्योगको स्थापना हुन थालेको छ । त्यसैले पनि नेपाली बजार त्यति व्यावसायिक हुन सकेको छैन । पछिल्लो समयमा भने नेपालमा पनि केही अन्तरराष्ट्रिय कम्पनी सञ्चालनमा आउन थालेका छन् । त्यस्ता कम्पनीसँगै अन्तरराष्ट्रिय संस्कृतिको अभ्यासको समेत सिको गर्न थालिएको छ, जसको फलस्वरूप नेपालमा मानव संसाधनको अवधारणा शुरू भएको छ । नेपालमा उद्योगधन्दाको स्थापना हुन थालेसँगै कर्पोरेट कल्चरमा आधारित मानव संसाधनको पनि अभ्यास हुन थालेको छ । यो सकारात्मक पक्ष हो । एक दृष्टिकोणले हेर्दा मानव संसाधन विभाग कुनै पनि कम्पनीका लागि अतिरिक्त खर्चसमेत हो । त्यसैले, कतिपय कम्पनीले चाहेर पनि यसलाई कार्यान्वयन गर्न सकिरहेका छैनन् । तसर्थ, कम्पनीको आर्थिक अवस्था र बजारको अवस्थाअनुसार यसको अभ्यास गर्नुपर्छ ।


तपाईंको कम्पनीमा ५ हजारभन्दा बढी कर्मचारी कार्यरत छन्, यतिधेरै कर्मचारीको व्यवस्थापन कसरी गर्नुभएको छ ?  
कर्मचारी व्यवस्थापनका लागि हाम्रो आफ्नै अलग्गै सिष्टम र नीतिनियम छ । हाम्रा कर्मचारीले स्वतःस्फूर्त रूपमा कम्पनीको नियम अवलम्बन गरिरहेका छन् । सोहीअनुसार उनीहरूको पनि व्यवस्थापन भइरहेको छ ।

कर्मचारीको कुशल व्यवस्थापनका लागि केही फरक नीति पनि अवलम्बन गर्नुभएको छ कि ?
कर्मचारी व्यवस्थापनका लागि हामीले कुनै छुट्टै नीति अपनाएका छैनौं । तर, हामीले नेपालको कानूनअनुसार श्रम ऐनलाई भने अक्षरशः कार्यान्वयन गर्दै आएका छौं । उक्त ऐनअनुसार कर्मचारीले पाउने पारिश्रमिक तथा अन्य सुविधालाई हामीले पूर्णरूपमा लागू गरेका छौं ।

कर्मचारीलाई प्रोत्साहित गर्न कस्ता उपाय अपनाउनुहुन्छ ?
हामी आफ्ना हरेक कर्मचारीको नियमित निरीक्षण गरिरहेका हुन्छौं । प्रत्येक कर्मचारीको रेकर्ड हामीसँग हुन्छ । कर्मचारीलाई प्रोत्साहित गर्न समयसमयमा भेटघाट पनि गर्दै आएका छौं । कर्मचारीको प्रस्तुतिअनुसार उनीहरूलाई पुरस्कार, सम्मान तथा पदोन्नतिसमेत गर्दै आएका छौं ।

नयाँ कर्मचारी लिनुपर्दा कस्तो प्रक्रिया अपनाउनुहुन्छ ?
नयाँ कर्मचारी लिनका लागि हामीले पत्रपत्रिकामा आवेदन खुलाएका हुन्छौं । हामी प्रायः वर्षभरि नै आवेदनको माग गर्छौं । त्यसबाट प्राप्त भएका आवेदनका आधारमा उनीहरूको छनोट गरी अन्तरवार्ता तथा मेडिकल जाँच गर्छौं । उक्त प्रक्रियामा छनोट भएका कर्मचारीलाई हाम्रो केन्द्रीय कार्यालय (काठमाडौं)मै बोलाएर तालीम दिन्छौं । यसपछि कर्मचारीलाई औपचारिक रूपमा सम्बन्धित स्थानमा कामका लागि खटाउँछौं ।

कर्मचारीको छनोट गर्दा कुन विषयलाई बढी प्राथमिकता दिनुहुन्छ ?
हाम्रो कम्पनीले सुरक्षासम्बन्धी सेवा प्रदान गर्छ । त्यसैले, हामीले खोजेका कर्मचारीमा शारीरिक स्फूर्तिको साथमा मानसिक रूपमा पनि परिपक्वता हुन जरुरी छ । सुरक्षा अति नै संवेदनशील तथा जिम्मेवारीपूर्ण कार्य हो । त्यसैले, हामीले विशेष गरी अवकाशप्राप्त प्रहरी र सेनालाई बढी प्राथमिकता दिएका छौं । उनीहरूमा पहिलेदेखि नै प्राविधिक जानकारी रहने हुँदा पनि हामीले त्यस्ता व्यक्तिलाई प्राथमिकता दिएका हौं । अन्य सर्वसाधारण नागरिकका हकमा भने २२ वर्षमा पूरा भएको, कम्तीमा कक्षा–८ उत्तीर्ण गरेको र शारीरिक रूपमा सक्षम हुनुपर्छ ।

कम्पनीको सफलताका लागि एउटा कर्मचारीको भूमिका कस्तो हुनुपर्छ ?
कुनै पनि कम्पनीका लागि कर्मचारी महत्वपूर्ण साधन हो । कम्पनीको सफलतामा कर्मचारीको पनि ठूलो भूमिका रहने गर्छ । तसर्थ, कम्पनी र कर्मचारीको व्यक्तिगत सफलताका लागि पनि कर्मचारी स्वयम् सजग हुनुपर्छ । साथै, कर्मचारी कम्पनीप्रति इमानदार र मेहनती हुनुपर्छ ।

कर्मचारी व्यवस्थापनमा कस्ता समस्या भोग्नुपरेको छ ?
कर्मचारीकै कारण अहिलेसम्म त्यस्तो ठूलो समस्या हामीले भोगेका छैनौं । सबै कर्मचारी एउटा विशेष प्रणालीमा रहने भएकाले पनि अहिलेसम्म ठूलो समस्या भोग्नु नपरेको हो । तर, कहिलेकाहीँ कर्मचारी र व्यवस्थापनबीच विचारको तालमेल नमिल्दा भने समस्या सृजना हुने गर्छ । कुनै अवस्थामा कर्मचारीले आफूलाई केन्द्रमा राखेर सोचेको हुन्छ भने व्यवस्थापनले पनि संस्थाकै हितलाई केन्द्रमा राखेर योजना बनाएको हुन्छ । हुन त दुवै पक्षमा आ–आफ्नो ठाउँमा सही हुन्छन् । तर, एकअर्काको दृष्टिकोणमा भने भिन्नता हुन्छ । यसले सानोतिनो समस्या सृजना हुन्छ । तर, यस्तो अवस्थामा हामीले पहिले कर्मचारीको मनोभावना बुझ्ने प्रयास गर्छौं ।
http://www.abhiyan.com.np/new/Articles/view/37525

No comments:

Post a Comment