Sunday, January 19, 2014

निर्वाचनको खर्च शेयर बजारमा

काठमाडौं । दोस्रो संविधानसभाको निर्वाचनमा सरकार तथा राजनीतिक दलहरूले खर्च गरेको रकमको ठूलो हिस्सा विभिन्न माध्यमबाट शेयर बजारमा लगानी भएको अनुमान गरिएको छ । त्यसले गर्दा निर्वाचन सम्पन्न भएलगत्तै शेयर बजारमा अस्वाभाविक वृद्धि देखिएको सरोकारवालाहरूले बताएका छन् । ‘संविधानसभा चुनावमा सरकार तथा राजनीतिक दलहरूले प्रचारप्रसारका साथै मतदातालाई प्रभावित गर्नका लागि खर्च गरेको अर्बौँ रुपैयाँ बैङ्किङ प्रणालीमा फिर्ता नआएपछि सहकारी संस्था वा नगदै वा अन्य विभिन्न माध्यम हुँदै शेयर बजारमा प्रवेश गरेको बुझिन्छ,’ एक शेयर लगानीकर्ताले अभियानसँग भने ।
निर्वाचनमा भएको कुल खर्चको केही हिस्सा (करीब रू. २० अर्ब) बैङ्किङ प्रणालीमा निक्षेपका रूपमा थपिएको, केही हिस्सा अनौपचारिक क्षेत्रमै थन्किएको वा विदेश पलायन भएको हुनाले कम्तीमा एक चौथाइ शेयर बजारमा आएको अर्थविद्हरूको भनाइ छ । ‘कुल खर्चको १५ देखि २० प्रतिशत रकम शेयर बजारमा लगानी भएको हुन सक्छ,’ अर्थविद् चन्द्रमणि अधिकारीले बताए । उनका अनुसार केही रकम बैङ्किङ प्रणालीमा आए पनि तराई क्षेत्रमा खर्च भएको रकम भारततर्फ पलायन भएको अनुमान छ । बाँकी रकम भने उपभोग्य वस्तुमा नै खर्च भएको छ । नेपालको जस्तो सानो शेयर बजारमा कुल खर्चको १५–२० प्रतिशत पनि ठूलो रकम भएकाले शेयर बजारमा उच्च वृद्धि भएको उनको विशलेषण छ ।
यसपटकको निर्वाचनका लागि सरकारले रू. १६ अर्ब विनियोजन गरेको थियो । यो निर्वाचन आयोग, सुरक्षा निकाय र प्रहरीका लागि हो । सो रकममध्ये रू. १० अर्ब सुरक्षा व्यवस्थाका लागि र रू. ६ अर्ब निर्वाचन आयोगका लागि छुट्ट्याइएको थियो । तर, निर्वाचनमा भने रू. १३ अर्बमात्र खर्च भएको छ । निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचनका लागि एक उम्मेदवारले रू. १० लाख तथा समानुपातिक उम्मेदवारले रू. १ लाखसम्म खर्च गर्न पाउने सीमा तोकेको थियो । निर्वाचनमा प्रत्यक्षतर्फ करीब ६ हजार १ सय २८ तथा समानुपातिकतर्फ ११ हजार ३ सय गरी कुल १७ हजार १ सय ३१ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । चुनावमा उम्मेदवारहरूले सरकारले तोकेको सीमाभन्दा कयौं गुणा बढी खर्च भएको देखिएको छ । चुनाव प्रचारप्रसारका लागि सरकारले तोकेभन्दा धेरै नै स्रोत र साधन प्रयोग गर्नेदेखि ठूला भोजभतेरमा लाखौं रकम खर्च भएको छ । अधिकांश उम्मेदवारले ५० लाखभन्दा माथि खर्च गरेको अनुमान गरिएको छ । यदि प्रत्यक्षतर्फका उम्मेदवारले रू. ५० लाखसम्म मात्रै खर्च भएको मान्ने हो भने पनि उनीहरूको खर्च रू. ३० अर्ब हुन्छ । त्यसैगरी समानुपातिकका उम्मेदवारले रू. ५ लाखमात्रै पनि खर्च गरेको अवस्थामा उनीहरूको खर्च रू. ५ अर्ब ८० करोड देखिन्छ । यसरी उम्मेदवार तथा सरकारको चुनावी खर्च अनुमानित रू. ४८ अर्ब ८० करोड भएको देखिन्छ ।
तर, दलहरूले अनौपचारिक रूपमा गरेको खर्च समेतलाई समावेश गर्ने हो भने त्यस्तो रकम अझै धेरै हुने अनुमान छ, जसमध्ये राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार करीब १८ देखि २० अर्ब बैङ्किङ प्रणालीमा आएको देखिन्छ ।
चुनावमा भएको खर्चको केही रकम स्वाभाविक रूपमा शेयर बजारमा लगानी हुने शेयर विश्लेषक रवीन्द्र भट्टराईले बताए । निवार्चनपछि लगानीकर्ताहरू मानसिक तथा आर्थिक रूपमा दृढ हुने भएकाले पनि बजार बढ्ने गरेको उनको अनुभव छ । विगतमा पनि निर्वाचनपछि शेयर बजारमा यस्तै वृद्धि देखिएको उनले बताए । यतिबेला बैङ्किङ प्रणालीमा तरलता अधिक हुने भएकाले बैङ्कले निक्षेपमा कम ब्याज दिने र कर्जाको प्रक्रिया सहज बनाउने हुँदा लगानीकर्ता शेयर बजारतर्फ उन्मुख हुने गरेको उनले बताए ।
मुलुकमा हुने राजनीतिक वातावरणले आर्थिक क्षेत्रलाई पनि असर गर्छ । त्यसमा पनि शेयर बजारमा राजनीतिक माहोलको बढी प्रभाव रहने विश्लेषकहरू बताउँछन् । यो नेपालको मात्रै नभई अन्तरराष्ट्रिय अभ्यास पनि हो । नेपालमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले जेठ ३१ गते दोस्रो निर्वाचनको मिति घोषणा गरेलगत्तै शेयर बजारमा पनि वृद्धि देखिन थालेको हो । निर्वाचनको मिति घोषणा गर्नुपूर्व २०७० जेठमा ४ सय ९४ दशमलव ३६ बिन्दुमा रहेको नेप्से परिसूचक असार महीनामा भने करीब ३३ प्रतिशत वृद्धि भई ५ सय १८ दशमलव ३३ बिन्दुमा पुगेको थियो । त्यसैगरी जेठ महीनासम्म सरदर कुल कारोरबार रू. ९ करोड हुँदै आएकोमा असार महीनामा भने रू. ९ करोड ५० लाख भएको थियो । बजार पूँजीकरण भने जेठसम्ममा रू. ४ खर्ब ८९ अर्ब हुँदै आएकोमा असारमा भने रू. ५ खर्ब १४ अर्ब पुगेको थियो ।
निर्वाचनपछि संविधान बन्ने सुनिश्चितताले लगानीकर्ताको मनोबल बढेकाले पनि बजारले गति लिएको लगानीकर्ताहरूको भनाइ छ । निर्वाचनको मिति घोषणा भएपछि बढ्न थालेको शेयर बजार निर्वाचन सम्पन्न भइसकेपछि अझ बढ्न थालेको हो । निर्वाचन हुनुपूर्व कात्तिकमा ६ सय दशमलव २८ बिन्दुमा रहेको नेप्से परिसूचक निर्वाचपछि पुस महीनासम्ममा ३१ दशमलव १६ प्रतिशत बढेर ७ सय ८७ बिन्दुमा पुगेको छ । त्यस्तै, कात्तिकसम्म दैनिक रू. १८ करोड ५ लाखबराबरको कारोबार हुँदै आएकोमा पुसमा भने रू. ४४ करोड ५० लाख कारोबार हुन थालेको छ । बजार पूँजीकरण पनि रू. ६ खर्ब ९ अर्बबाट रू. ७ खर्ब ९९ अर्बसम्म पुग्यो । निर्वाचनपछि शेयर बजारमा नयाँ लगानीकर्ता देखिएका छन् । पहिलाको तुलनामा २० देखि ३० प्रतिशतसम्म नयाँ लगानीकर्ताको प्रवेश बजारमा भएको छ । यसले पनि निर्वाचनको रकम केही मात्रामा शेयर बजारमा लगानी भएको अनुमान गर्न सकिने कोहिनुर सेक्युरिटिजका सञ्चालक भरत रानाभाटले बताए । उनी भन्छन्, ‘चुनावको खर्च पनि कुनै न कुनै माध्यमबाट शेयर बजारमै लगानी भएको छ ।’ त्यसैले, बैङ्किङ प्रणालीमा आएका वा नआएका दुवै खालका लगानी बजारमा प्रवेश गरेको उनले बताए । यतिबेला मानिससँग रकम भएर पनि लगानी गर्ने नयाँ क्षेत्र छैन । सुन, डलर तथा कमोडिटिज बजार पनि सुस्ताउँदै गएकाले मानिसले शेयर बजारमै लगानी गर्न थालेको उनको भनाइ छ ।
विगतमा भएका निर्वाचनले पनि शेयर बजारमा यस्तै प्रभाव पारेको थियो । २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन हुनुपूर्व २०६४ फागुनमा ७ सय १४ दशमलव ७६ बिन्दुमा रहेको परिसूचक निर्वाचन हुने महीना (चैत)मा भने ४ दशमलव ४७ प्रतिशत वृद्धि भई ७ सय ४६ दशमलव ६९ मा पुगेको थियो । त्यसैगरी निवार्चन सम्पन्न भइसकेपछि वैशाखसम्म भने करीब १३ प्रतिशत वृद्धि भई नेप्से परिसूचक ८ सय ६ दशमलव २६ बिन्दुमा पुगेको थियो । त्यसैगरी फागुनमा दैनिक कुल कारोबार रू. ९ करोड हुँदै आएकोमा वैशाखमा भने रू. १० करोड भएको थियो ।
http://www.abhiyan.com.np/new/Articles/view/36998

No comments:

Post a Comment