Sunday, December 22, 2013

ब्रोकर कम्पनीमा बढ्यो लगानीकर्ताको भीड

ब्रोकर कम्पनीमा बढ्यो लगानीकर्ताको भीड
काठमाडौं । बानेश्वर निवासी गोविन्द कार्की पर्यटन व्यवसायी हुन् । तर, अहिले सहायक व्यवसायको रूपमा उनले शेयरमा लगानी गर्न थालेका छन् । त्यसो त यो व्यवसाय उनका लागि नयाँ भने होइन । ४ वर्षअघि उनले केही बैङ्कका साधारण शेयरमा लगानी गरेका थिए, जतिबेला यस व्यवसायलाई उनले साखै महत्व दिएका थिएनन् । तर, अहिले शेयर बजारले गति लिन थालेपछि यसमा उनको आकर्षण बढेको छ । बिहान उठ्नेबित्तिकै आर्थिक पत्रिका तथा समाचार पढ्ने र एकपटक ब्रोकर कम्पनी पुग्ने उनको दिनचर्या नै बनिसकेको छ । कार्कीले प्राथमिक तथा दोस्रो शेयर बजारमा करीब रू. ४ लाखजति लगानी गरेका छन् । सबै राजनीतिक दलहरूबीच समझदारी भएमा आगामी दिनमा शेयर बजार बढ्ने ठोकुवा गर्छन् उनी । पुतलीसडकको एक ब्रोकर कम्पनीमा भेटिएका उनले संविधान बन्ने सङ्केत देखिएकाले वित्तीय बजार अझै बढ्ने अनुमान लगाए । ‘अब चाहिँ बजार राम्रो होलाजस्तो लागेको छ,’ उनले भने, ‘त्यसैले पनि ब्रोकर कम्पनी दैनिक धाउन थालेको हुँ ।’
गोविन्द कार्कीमात्रै होइनन्, मेघनाथ कुँवर पनि अहिले दैनिकजसो ब्रोकर कम्पनी धाउन थालेका छन् । कुँवर १५ वर्षअघि नै यस व्यवसायमा प्रवेश गरेका थिए । बजार घटेको बेला ब्रोकर कम्पनीमा थोरै समय बिताउने उनी अहिले अधिकांश समय उतै भेटिन्छन् । ‘कम्पनीमा नजाने हो भने बजारमा के भएको छ थाहा नै हुँदैन,’ उनी भन्छन् । संविधान बन्ने सम्भावना देखिएपछि बजार पनि बढ्न थालेको उनले बताए ।
अहिले ब्रोकर कम्पनीमा कार्की र कुँवरजस्तै थुप्रै लगानीकर्ता देखिन थालेका छन् । शेयर बजार सकारात्मक हुन थालेपछि पछिल्लो समयमा ब्रोकर कम्पनीमा लगानीकर्ताको भीड बढ्न थालेको हो । २ महीना अघिसम्म दुई/चारजना मात्र देखिने ब्रोकर कम्पनीमा अहिले भने मानिसको चहलपहल व्यापक बढेको छ । साना संरचना भएका कम्पनीमा मानिसको भीड ढोकाबाहिरसम्म नै पुग्छ । मानिसको चाप बढेकाले कतिपय व्यक्तिले बस्ने सीटसमेत पाउँदैनन् । कारोबार हुने ३ घण्टाको अवधिमा कम्पनीमा बढी भीड लाग्ने गर्छ । कतिपय मानिसले शेयर लगानीलाई पूर्ण व्यवसायका रूपमा अँगालेका छन् भने धेरैजसोले सहायक व्यवसायका रूपमा । अधिकांश वित्तीय क्षेत्रमा नै जागीर गरी अवकाश पाएका मानिस खालि समयको सदुपयोग गर्दै यस क्षेत्रमा लागेका देखिन्छन् । तर, व्यावसायिक र जागीरे मानिसले भने यसलाई सहायक व्यवसायको रूपमा अँगालेका छन् । जागीरे मानिसहरू पनि कारोबार हुने अवधिमा भने ब्रोकर कम्पनी पुग्छन् । वित्तीय क्षेत्रसँगै ब्रोकर कम्पनी पनि विस्तार भएका छन् । तर, सबै कम्पनीमा मानिसको भीड उत्तिकै देखिन्छ । यस्ता भीडमा महिला लगानीकर्ताको उपस्थिति पनि बढेको छ । गृहिणी महिला अहिले शेयर बजारमा भेटिन थालेका छन् ।
शेयर बजारले गति लिन थालेपछि ब्रोकर कम्पनीमा लगानीकर्ताको भीड बढेको धितोपत्र लगानीकर्ता सङ्घका उपाध्यक्ष रमेश निरौलाले बताए । उनका अनुसार शेयर बजार बढ्न थालेपछि कम्पनीमा धाउने लगानीकर्ताको सङ्ख्या पहिलाको तुलनामा २ सय प्रतिशत बढेको छ । शेयर बढ्न थालेपछि नयाँ लगानीकर्ताको सङ्ख्या अत्यधिक बढेको उनको तर्क छ । बजार बियरिश हुँदाको अवस्था र अहिलेको अवस्थालाई तुलना गर्ने हो भने लगानीकर्ताको सङ्ख्या ५ सय प्रतिशत बढेको उनले बताए । ‘पहिला कम्पनीमा दुई/चारजना मात्र देखिन्थे,’ उनले भने, ‘अहिले भने प्रत्येक कम्पनीमा १ सय ५० देखि २ सय जनासम्म देखिन्छन् ।’ कोहिनुर सेक्युरिटी कम्पनीका सञ्चालक भरत रानाभाट भने बजार बढ्न थालेकाले मानिसको भीड बढेको बताउँछन् । ‘बजार घटेको बेला पुराना लगानीकर्ता पनि थप लगानी गर्न चाहँदैनन्, तर बजार बढेको बेला पुरानासहित नयाँ लगानीकर्ता पनि भित्रिन्छन्,’ उनले भने, ‘त्यसैले, कम्पनीमा मानिसको सङ्ख्या बढ्ने गरेको छ ।’
शेयर बजार यतिबेला महिला लगानीकर्ताको पनि सहभागिता पनि बढ्दो क्रममा छ । कुल लगानीकर्ताको १० प्रतिशत महिला लगानीकर्ता हुने गरेको उपाध्यक्ष निरौलाले बताए । महिलाहरू शेयर बजारमा प्रवेश गर्नु प्रशंसनीय विषय भएको उनी बताउँछन् । आर्थिक रूपमा सबल भएका गृहिणीहरू बजारमा प्रवेश गरेको उनको भनाइ छ । केही मात्रामा भने वित्तीय संस्थामा कार्यरत महिला पनि यस क्षेत्रमा आउने गरेको उनले बताए ।
शेयर बजारमा अनावश्यक हल्लाले बढी प्राथमिकता पाउने गर्छ । नियतवश फैलाइने यस्ता हल्लाका शिकार साना लगानीकर्ता हुने गरेका छन्, जसका कारण धेरै साना लगानीकर्ताले आफ्नो लगानीसमेत गुमाएका छन् । तर, अहिलेका लगानीकर्तामा भने वित्तीय साक्षरता तुलनात्मक रूपमा बढेको बताउँछन् सञ्चालक रानाभाट । पहिला रातारात धनी हुने सपना बोकेर बजारमा प्रवेश गर्नेको सङ्ख्या धेरै भएको नेपाल इन्भेष्टर्स फोरमका कार्यवाहक अध्यक्ष राजकुमार तिमिल्सिनाले बताए । तर, अहिले भने लगानीकर्ता बजारको विषयमा आधारभूत जानकारी लिएरमात्रै प्रवेश गर्ने गरेको उनले बताए । यद्यपि, केही लगानीकर्ता भने अझै पनि बजारको विषयमा अनभिज्ञ रहेको उनको भनाइ छ ।
शेयर बजार अति संवेदनशील बजार हो । मुलुकमा हुने हरेक खालका गतिविधिले यसलाई प्रभाव पार्छ । त्यसैले, लगानी गर्दा लगानी गर्ने कम्पनीको विषयमा अध्ययन गरेरमात्रै लगानी गर्नुपर्ने विश्लेषकहरू बताउँछन् । लामो समयको नाफाका लागि वित्तीय तथा व्यवस्थापन राम्रो भएका कम्पनीमा लगानी गर्नुपर्ने बताउँछन् उपाध्यक्ष निरौला । अझै पनि हचुवाको भरमा लगानी गर्ने प्रचलन छ । त्यसैले, लगानी गर्दा कम्पनीको विषयमा जानकारी लिनुपर्ने विश्लेषकहरू बताउँछन् । यदि भविष्यमा समेत प्रतिफल प्राप्त गर्ने हो भने कम्पनीको वित्तीय अवस्थाबारे राम्ररी अध्ययन गरेरमात्र लगानी गर्नुपर्छ ।
http://www.abhiyan.com.np/new/Articles/view/35621

No comments:

Post a Comment