चालू आर्थिक वर्ष २०७०/७१ को साउनको तुलनामा असोजमा विप्रेषण
आप्रवाहमा १४ दशमलव ४ प्रतिशत बढेको छ । साउनमा २३ दशमलव ८ प्रतिशत वृद्धि
भएको विप्रेषण असोजमा भने ३८ दशमलव २ प्रतिशत बढेको छ । असोज र कात्तिकमा
नेपालीका दशैं, तिहार, छठ तथा इदजस्ता ठूला पर्व परेकाले पनि विप्रेषणको
आप्रवाह बढेको अर्थविद् चन्द्रमणि अधिकारीले बताए ।
राष्ट्र बैङ्कको
तथ्याङ्कअनुसार साउनमा रू. ८८ अर्ब ४ करोड विप्रेषण आप्रवाह भएकोमा असोजमा
बढेर रू. १ खर्ब ३५ अर्ब ३ करोड पुगेको छ । भदौमा भने ३४ दशमलव ७ प्रतिशत
वृद्धि भई रू. ८८ अर्ब ४ करोड आप्रवाह भएको थियो । चाडपर्व पर्नु तथा डलरको
मूल्य बढ्नुले पनि असोजमा विप्रेषण आप्रवाह बढ्नमा थप सहयोग पुगेको
वैदेशिक रोजगारविद् डा. गणेश गुरुङले बताए ।
विप्रषेणको आप्रवाह दर
बढिरहे पनि वैदेशिक रोजगारीका लागि विदेश जानेको सङ्ख्या भने ह्वातै घटेको
छ । चालू आर्थिक वर्षको साउनको तुलनामा असोज तथा कात्तिकमा विदेश जानेको
सङ्ख्या ४४ प्रतिशत घटेको छ । त्यस्तै, भदौमा भने ९० प्रतिशत घटेको छ ।
भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले
अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन विभाग र वैदेशिक रोजगार प्रवर्द्धन
विभागका कर्मचारीलाई पक्राउ गरेपछि विभागको कार्य सञ्चालनमा सुस्तता आएको
बताउँछन् डा. गुरुङ । कर्मचारी पक्रिएको आवेगका कारण रोजगार विभाग तथा
अध्यागमन विभागले कामदारको भिसा प्रक्रियामा कडाइ गरेको उनको भनाइ छ ।
विभागका कर्मचारीले सेवाग्राहीलाई अनावश्यक झञ्झट दिई प्रक्रिया लम्ब्याउने
गरेकोसमेत उनले बताए ।
वैदेशिक रोजगार विभागका निर्देशक दिवस
आचार्यले भने रोजगार व्यवसायीले सञ्चालन गरेको आन्दोलनका कारण विभागको
काममा अवरोध सृजना भएको हो । एकातिर आन्दोलन तथा अर्कोतर्फ असोज र
कात्तिकमा चाडपर्व परेका कारण पनि विदेश जानेको सङ्ख्या घटेको उनको भनाइ छ ।
उनका अनुसार कतिपय कामदारले संविधानसभा चुनावको कारण विदेश जाने मिति
सारेका थिए ।
वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार साउनमा विदेश
जानेको सङ्ख्या ४५ हजार ९ सय ३७ थियो । त्यसमध्ये पुरुष ४३ हजार २८ र महिला
२९ हजार ९ छन् । तर, कात्तिकमा यो सङ्ख्या घटेर ३१ हजार ९ सय ४९ मा सीमित
भएको छ । त्यसमध्ये पुरुष २९ हजार ५ सय ६४ र महिला २३ हजार ८५ छन् ।
त्यसैगरी असोजमा भने ३१ हजार ९ सय ५९ व्यक्ति रोजगारीका लागि विदेश गएका
छन् । भदौमा भने जम्मा २४ हजार १ सय ६४ व्यक्ति रोजगारीका लागि विदेश गएको
विभागको तथ्याङ्क छ ।
http://www.abhiyan.com.np/new/Articles/view/34976
No comments:
Post a Comment